नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि छुट्टाछुट्टै प्रस्तुत गरेका प्रस्तावमा छलफल हुनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक आजका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो । तर, शीर्ष नेतामा गम्भीर सुरक्षा खतरा भन्दै बैठक प्रधानमन्त्री निवास बालुवाटारमै सारिएको हो ।
कात्तिक २८ गतेको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावविरुद्ध प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीले मंसिर १३ गते जवाफी प्रस्ताव पेस गरेका थिए ।
प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको जवाफ नदिने, फिर्ता नलिएसम्म संवादसमेत नगर्ने बताएका ओलीले मंसिर ३ गते बसेको सचिवालय बैठकमा जवाफ दिनका लागि १० दिनको समय माग गरेका थिए । त्यसै अनुसार ओलीले १३ गतेको बैठकमा लामो जवाफी प्रस्ताव पेस गरेका थिए ।
प्रचण्डले पार्टी एकतापछिका कुरामात्र समेटेकामा ओलीले पहिलेका राजनीतिक घटनाक्रममा प्रचण्डविरुद्ध प्रहार गरेका छन् । प्रचण्डले सरकार भ्रष्टाचारमा लिप्त भएको लगायतका आरोपसहित ओलीले त्याग गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पेस गरेका थिए ।
आजको बैठकमा दुवै प्रस्तावमा छलफल गरेर एकीकृत प्रस्तावका लागि ओली पक्षले पहल गर्नेछ भने प्रचण्डसहित बहुमत पक्षले दुवै प्रस्तावलाई स्थायी कमिटी बैठकमा लैजाने तयारी छ ।
नेकपामा यसअघि बसेको स्थायी कमिटीको निर्णय अनुसार प्रधानमन्त्री ओली नचलेको भन्दै विवाद बढेको छ । राजदूत नियुक्ति, मन्त्रिपरिषद् विस्तार तथा हेरफेर, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव र भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कूटनीतिक मर्यादाविपरीत ओलीले गरेको भेटघाटले नेकपाको विवाद उत्कर्षमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।