एकाएक किन ‘ब्याक’ भए प्रचण्ड ?

पछिल्लो केही समय यता देखिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादले अहिले नयाँ मोड लिएको छ । बुधबार बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।

उनी बैठकमा सहभागी नभए पछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै बैठक स्थगित गरौँ भन्ने प्रस्ताव राखे ।

यसअघि हिजोको सचिवालय बैठकमा नै अध्यक्ष ओलीले अहिले बैठक आवश्यक नभएको मात्र भनेका थिएनन्, उनले बैठकमा आफू उपस्थित नहुने पनि बताएका थिए । 

बुधबार बिहान नै प्रचण्ड निवास खुमलटारमा नेकपाका नेताहरुको बैठक बसेको थियो । छलफलमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । यो बैठकको छलफल उनीहरुले निकालेका थिए– ओली नआए पनि बैठक अगाडि बढाउने । 

बुधबार दिउँसो बैठक तोकिएको समयभन्दा एक घन्टा पछाडि सारियो । नेकपा महासचिव विष्णु पौडेलले जरुरी काम परेको भनेपछि बैठक सारिएको थियो । 

नेकपाका एक नेताका अनुसार यो समयमा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल र विष्णु पौडेलले बैठकमा सहभागी गराउन ओलीलाई ‘कन्भिन्स’ गरिरहेका थिए ।



तर, ओली बैठकमा आउन मानेनन् । स्रोतका अनुसार उनले पौडेल र पोखरेललाई सन्देश पठाएका छन्– प्रचण्डले १९ पृष्ठ लामो प्रतिवेदन फिर्ता नलिएसम्म म बैठकमा सहभागी हुन्नँ । 

उनको यही सन्देश बुधबार दिउँसो सचिवालय बैठक बस्नु केहीबेर अघिमात्र पौडेलले प्रचण्डलाई सुनाएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले यस विषयमा थप परामर्श पौडेलसँग गरे । ‘तयारी र छलफलका लागि केही दिन बैठक स्थगित गर्दा ठिक हुन्छ भन्ने निष्कर्ष निस्किएपछि प्रचण्डले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुँदा बैठक गर्न नसकिएको भन्नुभयो,’ ती नेताले फरकधारलाई भने, ‘उहाँको त्यो प्रस्ताव आएपछि बैठकमा केही बेर छलफल त भयो तर अन्ततः बैठक २० गतेसम्मका लागि स्थगित गरियो ।’



नेकपा सचिवालय ती सदस्यले अबको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने दाबी गरे ।

‘छलफल गरेर नै अगाडि बढ्नु पर्छ,’ उनले भने, ‘अबको बैठकमा अध्यक्ष ओली उपस्थित हुनुहुन्छ ।’

ओलीनिकट ती नेताले अबको सचिवालय बैठकले एउटा कार्यदल बनाउने र त्यसले संयुक्त प्रतिवेदन तयार पारेर स्थायी र केन्द्रीय कमिटीमा लगिने पनि बताए । ‘त्यसमा दुवै अध्यक्ष सहमत पनि हुनुहुन्छ, दुवै अध्यक्षले त्यसलाई सहज पनि बनाउँछ,’ ती नेताले भने, ‘त्यसैले हामी अब यो विवादको अन्त्यमा पुगेका छौँ, अबको सचिवालय बैठकमा नै यसको निचोड निस्किने छ ।’

एकातिर यी नेताले यस्तो दाबी गरेका छन् भने अर्कोतिर नेकपामा कार्यकारी अध्यक्ष प्रचण्ड अहिले पनि ब्याक भएको चर्चा चल्न थालेको छ । 

यसलाई बुझ्नका लागि आज बालुवाटारमा बसेको बैठकको चर्चा गरौँ । बैठकमा सहभागी ती नेताका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली नआएपछि बैठक ‘चल्नै सक्दैन’ भन्ने अभिव्यक्ति प्रचण्डले दिएका थिए । 

उनले यसो भनेलगत्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले यसको खण्डन गरे । अनि प्रचण्डले आफूले भनेको कुरालाई सच्याए । फलतः बैठक २० गते सम्मका लागि स्थगित गरियो ।

ओलीको अपरिहार्यता देखेर प्रचण्डले आज आफू लचक भएको छनक दिएको नेकपा नेताहरुको दाबी छ ।

‘उहाँ लचक नभएको हो भने आज सचिवालय बैठक बस्ने थियो, उहाँले त्यसलाई अगाडि बढाउनु हुन्थ्यो,’ नेकपाका ती नेताले भने, ‘तर, आज त्यस्तो भएन ।’

आखिर किन ब्याक भए त प्रचण्ड ? 

‘अध्यक्ष ओली कमरेडको जवाफी प्रतिवेदन आएपछि प्रचण्ड कमरेडले असहज महसुस गरेको हुनुपर्छ,’ नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘फेरि अहिलेको विवादमा पार्टी नै फुटोस् भन्ने चाहना दुवै पक्षको छैन । त्यसैले एक पक्ष अलिक लचिलो हुनुपर्छ । अहिले प्रचण्ड लचिलो हुनुको कारण ओली कमरेडलाई अर्को बैठकमा जसरी पनि ल्याउन खोज्नु पनि हुनसक्छ ।’


  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार २२:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया