स्थानीय तहले कोरोना अस्पताल सञ्चालनमा ल्याउन सकेनन्
फाइल तस्बिर

कैलालीका स्थानीय तहमा कोरोना अस्पताल सञ्चालनमा ढिलाइ भएको छ । अधिकांश स्थानीय सरकारले डाक्टर नपाएपछि कोरोना अस्पताल सञ्चालनमा ढिलाइ भएको हो । सरकारले पठाएको मापदण्डअनुसार स्वास्थ्यकर्मीसहित आवश्यक कर्मचारी भर्नाका लागि विज्ञापन निकाल्दासमेत सहरी क्षेत्रमा रहेका केही स्थानीय तहबाहेक अन्यले डाक्टर पाउन सकेका छैनन् ।

‘हामीले विज्ञापन प्रकाशित गर्‍यौं तर, डाक्टरको आवेदन नै परेन’, कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले भने, ‘अन्य कर्मचारी भने छनोट भइसकेका छन् ।’ डाक्टरको आवेदन नपरेपछि अब उपलब्ध स्वास्थ्यकर्मीबाटै कोरोना अस्पताल सञ्चालन गर्ने निर्णयमा पुगेको उनले जनाए ।

सरकारले चालु आर्थिक वर्षमा स्थानीय तहमा कम्तीमा पाँच शय्याको कोरोना अस्पताल सञ्चालनका लागि १० लाख रुपैयाँका दरले बजेट पठाएको छ । सो बजेटबाट साढे चार लाख रुपैयाँ कर्मचारीको तलब, ५० हजार रुपैयाँ औषधि र पाँच लाख रुपैयाँ शय्या व्यवस्थापनमा खर्च गर्नु पर्नेछ ।

कोरोना अस्पताल सञ्चालनका लागि स्थानीय तहले एक जना डाक्टर, दुई नर्स र एक जना कार्यालय सहयोगी गरी चार जना कर्मचारी भर्ना गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही अनुसार कर्मचारी भर्नाका लागि स्थानीय तहले विज्ञापन निकाले पनि डाक्टरको आवेदन भने परेन । 

स्थानीय तहमा अल्पकालीन समयका लागि सञ्चालन हुने कोरोना अस्पतालमा काम गर्नका लागि एक जना पनि डाक्टर इच्छुक नभएको चुरे गाउँपालिकाका नायब सुब्बा सर्वेश कठरियाले बताए । ‘नर्स र कार्यालय सहयोगीका लागि आवेदन पर्‍यो । तर, डाक्टर भने एक जनाले पनि आवेदन दिएनन्’, उनले भने, ‘डाक्टरको आवेदन नपरेपछि अस्पताल सञ्चालनमा केही ढिलाइ भएको छ ।’ 

चुरे गाउँपालिकाले सहजपुरमा रहेको स्वास्थ्य चौकीको पुरानो भवनमा कोरोना अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । अब आवश्यक परेका बेला डाक्टर दैनिक रूपमा करार सेवामा राख्ने गरी अस्पताल सञ्चालन गर्ने निर्णय भएको कठरियाले बताए ।



जिल्ला स्वास्थ्य कार्यालयका अनुसार टीकापुर नगरपालिका, गौरीगङ्गा र लम्कीचुहा नगरपालिकामा मात्रै कोरोना अस्पताल सञ्चालनमा रहेका छन् । भजनी र घोडाघोडी नगरपालिकाले कर्मचारी छनोट गरेर अस्पताल सञ्चालनको तयारी गरिसकेका छन् । तर, ग्रामीण र विकट क्षेत्रमा पर्ने कैलारी, चुरेसहित जोशीपुर, जानकी, बर्दगोरिया, मोहन्याल गाउँपालिका लगायतमा कोरोना अस्पताल सञ्चालन भएका छैनन् । जम्मा १३ स्थानीय तह रहेको यो जिल्लास्थित धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा भने कोरोना अस्पताल नपरेको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

विकट पहाडी क्षेत्रमा रहेको मोहन्याल गाउँपालिकाले त झन् कर्मचारी भर्ना प्रक्रियाको सुरसारसमेत गरेको छैन । अस्पताल सञ्चालनका लागि ढिलो भए पनि प्रमुख कार्यकारी अधिकृत नरहेकाले कर्मचारी भर्ना गर्न नसकेको सो गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताए ।



‘हामीसँग धेरै समयदेखि हाकिम नै छैनन्’, उनले भने, ‘हाकिम आएपछि कर्मचारी भर्ना गर्छौं । अहिले भने कुनै सुरसार छैन ।’ जोशीपुर गाउँपालिकाले पनि डाक्टरबाहेक अरू कर्मचारी छनोट गरिसकेको छ । अस्पतालका लागि जनशक्ति माग गर्दा डाक्टरको आवेदन नपरेको सो गाउँपालिकाका उपाध्यक्ष गीता कठरियाले बताइन् । ‘डाक्टर नमिलेकाले अस्पताल सञ्चालनमा ढिलाइ भएको छ’, उनले भनिन् ।

‘सरकारले निर्धारण गरेको मापदण्डबमोजिम हामीले डाक्टर पाउन सक्ने अवस्था छैन’, जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भने, ‘किनकि डाक्टर सहरमुखी छन् ।’

सरकारले ह्विप जारी गरेमामात्रै विकट क्षेत्रमा रहेका स्थानीय तहले डाक्टर पाउन सक्ने सम्भावना रहने उनले उल्लेख गरे । सो गाउँपालिकाको कार्यालयले ‘फेज आउट’ भएको एक एनजीओको भवनमा कोरोना अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । एमबीबीएस डाक्टर पाउने सम्भावना नरहेकाले अहेबमार्फत् कोरोना अस्पताल चलाउने अध्यक्ष चौधरीले बताए ।

‘अस्पतालमा रहेका बिरामीलाई कुनै जटिल समस्या आएमा तुरुन्तै ठूला अस्पतालमा पठाउने गरी उपलब्ध स्वास्थ्यकर्मीमार्फत् कोरोना अस्पताल सञ्चालन गर्छौं’, उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले स्थानीय तहले डाक्टर नपाएकोबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउन आवश्यक रहेको बताए । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले अस्पताल सञ्चालनको तयारीमा रहेको जनाए । उनले डाक्टरसहित सबै कर्मचारी छनोट भइसकेको उल्लेख गर्दै दरखमा कोरोना अस्पताल सञ्चालन गरिने उल्लेख गरे ।

  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १३:२८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया