ओलीले चाल्ने सम्भावित ५ कदम

निर्वाचनमा प्रचण्ड बहुमत ल्याएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अहिले सत्ता चलाइरहेको छ । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारका विभिन्न योजना बारम्बार प्रस्तुत गरिरहेका छन् । तर, झन्डै एक वर्ष यता नेकपाको आन्तरिक राजनीतिमा शक्ति संघर्षका कारण सरकारका काम अहिले ओझेलमा परेका छन् । 

साढे दुई वर्षअघि तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छ महिना यता निकै विवाद बढ्दै गएको छ । एकताको समयमा ओलीले आफूहरु दुईलाई एउटै विमानका दुई पाइलट भन्ने टिप्पणी गरेका थिए । 

तर, केही समय यताका यी दुई अध्यक्षका आआफ्नै अडानका कारण नेकपामा अहिलेको अवस्था निकै सकसपूर्ण देखिएको छ । यहीबीच दुई अध्यक्षका कुरा नमिल्दा बारम्बार नेकपा फेरि टुक्रिन सक्ने अनुमान पनि गरिँदै आइएको छ । 

पछिल्लो समय नेकपा सचिवालय बैठकमा २८ कार्तिकमा प्रचण्डले एक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि नेकपा विवाद झन् उत्कर्षमा पुगेको छ । यसअघि नेकपाका दुई अध्यक्षबीच एकअर्कालाई लेखेका पत्र पनि आदनप्रदान भएका थिए ।

२८ कार्तिकमा प्रचण्डले सचिवालयमा पेश गरेको प्रतिवेदनको जवाफमा १० मंसिरमा ओलीले प्रतिवेदन सचिवालयमा पेश गरेका छन् । उनको प्रतिवेदनमा प्रचण्डमाथि आरोपको श्रृङ्खला निकै धेरै छन् । 

सचिवालयमा आफ्नो प्रतिवेदन राखेपछि प्रधानमन्त्री ओलीले एक सर्त अगाडि सारेका छन्– प्रचण्डले आफूले राखेको प्रतिवेदन फिर्ता लिनुपर्छ । यसो भएको खण्डमा मात्र आफू बैठकमा उपस्थित हुने प्रधानमन्त्री ओलीले बताउँदै आएका छन् । हुन पनि उनी १७ मंसिरको सचिवालय बैठकमा उपस्थित भएनन् । उनी उपस्थित नभएपछि १७ मंसिरमा बालुवाटारमा भेला भएका नेकपा सचिवालयका नेताहरुले अब नेकपा सचिवालय बैठक २० मंसिरका लागि सारेका छन् । 



२० मंसिरमा पनि ओली सचिवालय बैठकमा उपस्थित हुने नहुनेबारे अझै टुङ्गो लागेको छैन । 

यहीबीच ओलीविरुद्ध प्रचण्डको समर्थनमा रहेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायण्णकाजी श्रेष्ठले आफ्नो मोर्चाबन्दी थप बलियो बनाएका छन् । 



त्यसैले अब प्रश्न उठेका छ, सचिवालयमा अल्पमतमा परेका ओलीले के गर्लान् ? अबका उनका भावी रणनीति के होलान् ? 

हामीले यही प्रश्न नेकपा स्थायी कमिटीका एक सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेतासँग सोधेका थियौँ । 

उनीसँगको लामो कुराकानीपछि हामीले तयार पारेको ओलीले चाल्न सक्ने सम्भावित पाँच कदमः

 

सबै प्रतिवेदन फिर्ता लिने, संयुक्त प्रस्ताव बनाएर अगाडि बढ्ने

कार्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा राखेका प्रतिवेदनपछि ओली आफूविरुद्ध बनेको मोर्चाबन्दीको थप विरोधमा अगाडि बढेका छन् । उनले प्रचण्डको त्यो प्रतिवेदनको जवाफ त दिए तर त्यसपछि आफू कुनै पनि बैठकमा सहभागी नहुने बताउँदै आएका छन् । यसका कारण अहिले नेकपामा विवाद थप बढेको छ ।

एकातिर प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ओलीसँग थप रुष्ट भएका छन् भने अर्कोतिर प्रचण्डलाई पछिल्ला दिनमा बेवास्ता गर्दै प्रधानमन्त्री ओली अगाडि बढेका छन् । 

उनको अहिले बटमलाइन छ– आफू अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद दुवैबाट नहट्ने । र, यसका लागि उनले प्रचण्ड समूहलाई प्रचण्डको प्रस्ताव फिर्ता लिनु पर्ने सर्त राखेका छन् । 

हो, अब ओलीले यसअघिका प्रतिवेदन र दुई अध्यक्षका पत्रहरु फिर्ता लिन लगाउन सक्छन् । अनि उनले सबै प्रतिवेदन फिर्ता भएपछि संयुक्त प्रतिवेदनका लागि लबिइङ गर्न सक्छन् जसलाई नेकपाको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा लैजान सकिनेछ । यस्तो भएको खण्डमा ओलीले आफ्नो जित भएको ठान्नेछन् ।

 

आत्मालोचना गर्ने, प्रचण्डसँग नयाँ सहमति गर्ने

पछिल्लो पटक नेकपामा जहिले जहिले विवाद देखिएको छ, सधैं एउटै बिन्दूमा पुगेर यी विवादहरु तत्कालका लागि समाधान हुँदै पनि आएका छन् । त्यो समाधानको एउटा बिन्दू हो– नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मिल्नु । यसअघि चैतमा देखिएको विवादमा होस् या अरु समयमा दुई अध्यक्षले अन्तिममा आफूहरु मिलेको सन्देश दिँदै नेकपा सचिवालयमा बैठकमा अन्य सदस्यलाई चकित तुल्याएका थिए । 

कतिसम्म भने यसअघि एकपटक दुई अध्यक्षहरुले आफूहरु मिलेको भन्दै सचिवालय बैठकमा बताएपछि माधवकुमार नेपालले नै भनेका थिए– नेकपा दुई अध्यक्षको मात्र होइन, दुई जनाले चोचोमोचो मिलाउँदैमा सहमति हुँदैन । 

तर, यसपटक पनि ओलीले प्रचण्डसँग आफू मिलेको सन्देश दिन सक्छन् । उनले प्रचण्डसँग कुनै नयाँ सहमति गरे र अहिलेको विवादलाई टुङ्ग्याए भने पनि अन्यथा नमाने हुन्छ ।

 

अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्ने

यसअघि नेकपामा यस्ता विवादहरु उत्कर्षमा पुग्दा सधैं माग गरिएको एक विषय हो, प्रधानमन्त्री ओलीले कि त प्रधानमन्त्रीबाट कि त पार्टी अध्यक्ष पदबाट राजीनामा दिनु पर्छ । 

तर, ओलीले यो मागलाई अहिले पनि अस्वीकार गरिरहेका छन् । 

ओलीले अहिले पनि यी मागलाई अस्वीकार गर्नु भनेको नेकपामा विवाद मत्थर हुन थप समय लाग्नु हो भन्ने बुझाइ पनि विकास हुँदै गएको छ । तर, पार्टी एकतालाई जोगाउनका लागि त्याग गर्नु पर्ने भन्ने अधिकांश सचिवालय सदस्यको माग भइरहँदा प्रधानमन्त्री ओलीले दुईमध्ये एक पदबाट आफू स्टेप डाउन गर्ने निर्णय पनि गर्न सक्नेछन् ।

उनले प्रधानमन्त्रीका रुपमा पूर्ण कार्यकाल चलाउने यसअघि नेकपा सचिवालयले नै निर्णय गरिसकेकाले अहिले उनले पार्टी अध्यक्ष पदबाट राजीनामा दिन सक्ने सम्भावना बढी रहेको अनुमान पनि गरिएको छ । त्यसैले अब ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये कुनै एक पदबाट राजीनामा दिन सक्नेछन् ।

 

अध्यादेश ल्याउने, पार्टी फुटाउने

नेकपामा ओलीइतर पक्षका नेताहरुले संसदीय दलमा बहुमत मात्र पनि पुग्ने भएको खण्डमा ओलीले पार्टी फुटाउन पनि सक्ने अनुमान गरिरहेका छन् । यसका लागि उनी बहुमत पुर्याउन लागिरहेको पनि केही नेताहरुले बताउँदै आएका छन् ।

उनले संसदीय दलमा आफू पक्षधर नेताहरु बहुमतमा छन् भनेको खण्डमा पार्टी फुटाउने तयारी गरेको पनि बताउँदै आइएको छ । 

यो पनि अहिले ओलीका लागि अर्को विकल्पका रुपमा हेरिएको छ । त्यसो त केही समयअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग पनि यसबारे छलफल गरेको समाचार बाहिरिएका थिए ।

दल विभाजन गर्न सहज हुनेगरि अध्यादेश ल्याएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहिरहन अहिलेको प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेससँग सम्झौता पनि गर्न सक्छन् । यसअघि पनि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई केही मन्त्रालयको अफर गरिसकेको समाचार बाहिरिएका छन् । 

त्यसैले अब पार्टीमा अहिलेको विवाद नमिलेको खण्डमा र नेकपा विभाजन भएको खण्डमा प्रधानमन्त्री ओलीले कांग्रेससँग मिलेर सरकारको नेतृत्व चाहिँ गरिरहन सक्छन् ।

 

अहिलेको अवस्थालाई निरन्तरता दिने

अहिले नेकपामा जुन विवाद देखिएको छ, यो विवाद देखिन थालेको झन्डै एक वर्षभन्दा बढी भइसकेको छ ।

एक वर्ष यता नेकपाका दुई अध्यक्षले बारम्बार लभ एन्ड हेट रिलेसन सेयर गरेका छन् । त्यसैले अहिलेको नेकपा विवाद पनि निष्कर्षमा पुग्छ नै भन्ने कुनै बाध्यता छैन । अर्थात्, अहिलेको नेकपा विवाद पनि यत्तिकै समाधान हुन सक्ने सम्भावना रहेको छ । 

अर्थात्, यो अहिले जस्तो छ, त्यस्तै चलिरहन्छ । यसमा न ओली समूह न प्रचण्ड समूह कुुनै निष्कर्षमा पुग्न सक्छन् । 

यसको अर्थ हो, नेकपाको यो विवाद यत्तिकै चल्न सक्छ र लामो समयसम्म यो यस्तै अवस्थामा पनि रहिरहन सक्छ । यसका लागि ओली कहिले लचक बनेजस्तो गर्न सक्छन्, कहिले एग्रेसिभ भएजस्तो गर्न सक्छन् ।

  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार १५:५७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया