वडाध्यक्षमाथि भ्रष्टाचार मुद्दा : सदस्यलाई कार्यवाहकको जिम्मेवारी
भारती सिंह

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका १३ को कार्यवाहक अध्यक्षको जिम्मा वडा सदस्य भारती सिंहले पाएकी छन् । वडा कार्यालयमा आयोजित एक समारोहबीच उनले आइतबार औपचारिक रुपमा कार्यभार सम्हालेकी हुन् ।

वडाध्यक्ष शुव नारायण मण्डल र कार्यालय सहयोगी दिलिपकुमार पंजियारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा असोज २९ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि वडाध्यक्ष मण्डल स्वतः निलम्बित भएका थिए । त्यसपछि वडा कार्यालय वडाध्यक्षबिहीन भएको थियो । 

जनकपुरधाम उपमहानगरपालिकाले झण्डै तीन महिनापछि वडा सदस्य सिंहलाई कार्यवाहक वडाध्यक्षको रुपमा पाएको हो । प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवद्वारा जारी पत्रमा भनिएको छ, ‘सेवाग्राहीको काम सहजीकरणका लागि २०७७ मंसिर १७ गतेको टिप्पणी निर्णय अनुसार निलम्बित वडाध्यक्ष मण्डल फुकुवा नभएसम्मका लागि सिंहलाई कार्यवाहक अध्यक्षका रुपमा कार्य सम्पादन गर्न जिम्मेवारी तोकिएको छ ।’

असोज १५ मा कार्यालय सहयोगी पंजियारले नागरिकताका लागि सिफारिस गर्न एक सेवाग्राहीसँग २४ हजार घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको थियो । 

उनले वडाध्यक्ष मण्डलकै निर्देशनमा घुस लिएको वयान दिएका थिए । उक्त मुद्दामा वडाध्यक्ष मुछिएका हुन् । 

निलम्बित वडाध्यक्ष तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुन् । अहिले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पाएकी सिंह पनि सोही पार्टीबाट निर्वाचित सदस्य हुन् । सिंहले कार्यभार सम्हाल्दै जनताको काम गर्न २४ घण्टा तत्पर रहने प्रतिवद्धता जनाएकी छन् ।





  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार ११:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया