अन्नपूर्ण आधार शिविरका लागि ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी
फाइल फोटो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी भएको छ । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) का प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन् । 

हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविरलाई आधारभूतस्तरको पदमार्गले जोडेर पर्यटक भित्र्याउन प्रचारप्रसार र प्रवद्र्धनमा जुटेको गाउँपालिकाको भनाइ छ । गाउँपालिकाले नारच्याङबाट आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिज हर्गोज ट्रेल’ नामकरण गरेको छ ।

नारच्याङबाट मिस्त्रीखोलाको किनारैकिनार आधार शिविर जोड्ने पदमार्ग तयार भएको छ । हर्जोगले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ कीर्तिमान बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथाको प्रथम आरोहण भएको थियो ।

गाउँपालिकाले पदमार्गको नक्सा तयार पारेको छ । गत माघ महिनामा अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गको प्रचारप्रसारका लागि नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको थियो । पर्यटन विभागले पदमार्ग निर्माणका लागि ठेक्का लगाइसकेको छ । आधारभूतस्तरको पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि ‘सेल्टर’ निर्माण भएको छ । होटल तथा लज नभएकाले ‘क्याम्पिङ’ पदयात्रा गर्नुपर्ने हुन्छ ।

नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हँुदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग नौ वर्षअघि पहिचान भएको थियो ।

 यसअघि मुस्ताङको कुञ्जो हुँदै भीर र जङ्गलमा एक साता हिँडेर, हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो । कतिपयले कास्कीको एबिसी क्याम्पलाई नै आधार शिविर बुझ्ने गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १३:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया