सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिमका बेला रक्तदानको महत्व अझै बढेर गएको बताएका छन् ।
१४औँ सङ्घीय संसद् सेवा दिवस–०७७ का अवसरमा आज संसद् सचिवालय परिसर, सिंहदरबारमा आयोजित रक्तदानको शुभारम्भ गर्दै सभामुख सापकोटाले कोरोनाका कारण सिर्जित विषमताका बेला गरिएको रक्तदानको महत्व अधिक रहेको चर्चा गरे ।
सङ्घीय सांसद डा. विमला राई पौडेललाई रक्तथैली (ब्लड ब्याग) हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गरेपछि संक्षिप्त सम्बोधनका क्रममा सभामुख सापकोटाले भने, ‘रक्तदान जीवनदान त्यत्तिकै भनिएको होइन, रक्तदानको सधैँ महत्व छ, अहिले झनै महत्व छ ।’
सभामुख सापकोटाले दैनिक रगत अभावको खबर आइरहेको स्मरण गर्दै आज गरिएको रक्तदानले सो अभाव टार्न सहयोग हुने विश्वास व्यक्त गरे । संसद् सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा उनले खुसी व्यक्त गरे ।
कार्यक्रममा दुईजना सांसद, कर्मचारी र सञ्चारकर्मीलगायतले रक्तदान गरेका थिए । सङ्घीय संसद् सचिवालयले संसद् सेवा दिवस ०७७ का अवसरमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । ०६३ देखि हरेक वर्ष मङ्सिर २८ का दिन सङ्घीय संसद् सेवा दिवस मनाइँदै आइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।