यसरी गरियो सगरमाथाको उचाइ मापन

सगरमाथाको उचाइ कति हो ? नेपालका स्कुलहरुमा पनि हुने हाजिरीजवाफमा यो प्रश्न सोधिएकै हुन्छ । 

अब फेरि यही प्रश्नले हाजिरीजवाफमा झन् बढी स्थान पाउने निश्चित भएको छ । यसको कारण हो, मंगलबारबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाले नयाँ उचाइ पाएको छ । यसअघिको उचाइमा ८६ सेन्टिमिटर अब सगरमाथामा थपिएको छ । 

मंगलबार दिउँसो एक भर्चुअल कार्यक्रम आयोजना गरेर नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको यो नयाँ उचाइ घोषणा गरेका छन् । यसको घोषणा आज नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका हुन् ।

यो सँगै अब सगरमाथाको उचाइ भएको छ– ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर । नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई यो घोाणा गर्न चिनियाँ समकक्षी वाङ यीले साथ दिएका थिए ।

नापी विभागको प्राविधिक कर्मचारीको टोलीले सर्वोच्च शिखर सगरमाथाको आरोहण तथा फिल्ड सर्वेक्षणका माध्यमबाट प्राप्त तथ्याङ्कलाई प्रयोगशालाबाट प्रशोधन गरी सगरमाथाको यो उचाइ भएको निष्कर्ष निकालिएको हो । 

नेपालले सन् २०१८ मा नै सगरमाथाको उचाइ नाप्न सुरु गरेको थियो । यही काम चीनले पनि गरेको थियो । सन् २०१९ मा चीनले थालनी गरेको थियो, यो काम । 



नेपाल र चीनका प्राविधिकहरुले ल्याएको आँकडालाई प्रशोधन गरेर यो उचाइ नेपालको सार्वजनिक भएको हो । नेपालमा १० मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ घोषणाका लागि स्वीकृति दिएको थियो । गत वर्ष चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्दा सगरमाथाको उचाइ नेपाल र चीन मिलेर संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । 

नेपालले हालसम्म आधिकारिक रूपमा उल्लेख गर्दै आएको ८८४८ मिटर उचाइ भारतले सन १९५४ मा मापन गरेको हो । त्यसअघि र त्यसपछी पनि विभिन्न समयमा विभिन्न देशहरुले सगरमाथाको मापन गरेका थिए । तर, उचाई भने, फरक–फरक आएको थियो । 



 

यसकारण सुरु गर्‍यो नेपालले मापन

२०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले नेपालमा ठूलो जनधनको क्षति मात्र गरेन, यसका कारण नेपालका विभिन्न स्थानहरुको उचाइ हेरफेर भएको हुनसक्ने चर्चा चल्न थालेको थियो ।

त्यसपश्चात् नापी विभागले काठमाडौं आसपास लगायतका केही स्थानहरुको उचाईको सन्दर्भलाई लिएर सर्भे गर्दा उचाइमा केही तलमाथी भएको अध्ययनले देखायो । त्यही समयमा सर्वोच्च शिखर सगरमाथाको उचाइमा केही तलमाथी भएको हुनसक्छ भनेर अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले पनि चर्चा गर्न थालेपछी नापी विभागले आफ्नै स्रोतसाधन, जनशक्तिले आफ्नै देशमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्नुपर्छ भन्ने ध्येयले कामको सुरुवात गरेको थियो । 

२०७५ साल चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओली र भूमी व्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाई मापन गर्न जाने आरोहण दलको टोलीलाई शुभकामना दिएर पठाए । प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पाले सगरमाथाको उचाइ मापन कार्यका लागि सगरमाथाको आरोहण सम्पन्न गरेका थिए । 

सन् २०१८ को फेब्रुअरीदेखी नापी विभागले फिल्ड सर्भेको काम सुरु गरेको थियो । फिल्ड सर्भे सुरु भएदेखी नतिजा आउने बेलासम्म धेरै समय लाग्यो । अनि नेपाल र चीनले सँगै सगरमाथाको उचाइ घोषणा गर्ने सहमती गरेपछि यसको घोषणामा ढिलाइ भयो । 

विभिन्न प्रकारमा मापन गतिविधिहरुमा आवश्यकताअनुसार जनशक्तिको प्रयोग गर्दा ८५ जना भन्दा बढी जनशक्ति प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएको नापी विभागका उपमहानिर्देशक तथा सगरमाथा मापन कार्यका राष्ट्रिय संयोजक सुशिल डंगोलले जानकारी दिए । 

नेपालले आरोहण गरेको एक वर्षपछी चिनले आरोहण गरेपनि चिनियाँ राष्ट्रपती सि जिन पिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ घोषणा संयुक्त रुपमा गर्ने सहमतीका कारण तथ्यांक प्रोसेसिङको कार्य नेपाल र चिनियाँ अधिकारीहरुले संयुक्त रुपमा गरेको डंगोलले बताए । 

‘चीनसँगको सहमती अनुसार हामीले संयुक्त रुपमा तथ्यांक प्रशोधनको काम ग¥यौं । हामीले सगरमाथाको आरोहण गरेको एक वर्षपछी मात्र चीनले सगरमाथाको आरोहण गरेको थियो,’ डंगोलले भने, ‘संयुक्तरुपमा काम गर्दा नतिजा पनि एउटै खालको आयो । जसले गर्दा अन्तर्राष्ट्रिय जगतमा पनि एउटै खालको सन्देश प्रवाह भएको छ ।’

सुशील डं‌गाेल

विभिन्न प्रविधिहरु जस्तो : जिएनएसएस सर्भे, ग्राभिटी सर्भे, लेबलिङ, मौसम सम्बन्धी तथ्यांक संकलन गरी सर्भेका विभिन्न प्रविधिहरुको प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरिएको हो । 

हिमालहरुको उचाई मापनका निम्ती विश्वमा प्रयोग गरिने सबै प्रविधिहरुको प्रयोग गरिएको संयोजक डंगोलले फरकधारलाई बताएका छन् । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरेर सगरमाथाको उचाइ मापन गर्नु नै गौरव भएको उनी मान्छन् ।

  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार २३:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया