बागलुङको ताराखोलामा औद्योगिक ग्राम निर्माण

ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण सुरु भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिवार औद्योगिक ग्रामको शिलान्यास गरेका छन् ।

‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरुप गाउँपालिकाको वडा नं १ अमरभूमि, भुस्कातमा औद्योगिक ग्राम बन्न लागेको हो । १३८ रोपनी क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्राममा संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको लगानी छ । 

गत आवमा संघ सरकारको उद्योग मन्त्रालयबाट विनियोजित ९२ लाख रुपैयाँ बजेटबाट विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउनेदेखि पूर्वाधार तयारीका कामलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । 

गाउँपालिका आफैंले  ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । यो वर्ष जग्गा ‘प्लटिङ’, विद्युत् विस्तार, खानेपानी आपूर्तिलगायत संरचना निर्माणको काम हुने बताइएको छ । १० उद्योग चलाउने योजनासहित पूर्वाधार तयार गर्न लागिएको अध्यक्ष घर्तीले बताए ।

स्थानीय पहिचानका रूपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हाते कागज, पेय पदार्थ, जडिबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सृजना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पु¥याउने विश्वास लिइएको छ ।

कृषि, पशुपालन, खनिज र वनजन्य उत्पादनका हिसाबले अग्रणी मानिने ताराखोलामा औद्योगिक ग्राम बन्ने भएपछि गाउँले उत्साहित छन् । ताराखोला गाउँपालिकासँगै बागलुङ नगरपालिकामा पनि औद्योगिक ग्राम निर्माण हुँदैछ । नगरपालिकाको वडा नं १३ कालाखोलामा जग्गा व्यवस्थापन गरिएको छ ।  



गण्डकी प्रदेश सरकारले दुई वर्षअघि नै औद्योगिक ग्रामका लागि जग्गा खोजी गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरेको थियो । अन्य स्थानीय तहले समयमै जग्गा व्यवस्थापन गर्न नसक्दा औद्योगिक ग्रामका लागि छनोटमा पर्न नसकेका हुन् । औद्योगिक ग्रामका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने प्रावधान छ ।

सङ्घ र प्रदेश सरकार दुवैको नीति र कार्यक्रममा सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने उल्लेख छ । स्थानीय तहले जग्गाको जोहो गरेपछि संघ र प्रदेश सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि लगानी गर्ने छन् ।  



औद्योगिक ग्राममा खानेपानी, बिजुली, ढल निकास, घेराबार, प्रवेशद्वार, प्रदर्शनी, बिक्री र भण्डारण कक्षलगायत भौतिक पूर्वाधार निर्माण गरिने छ । निजी क्षेत्रलगायत अन्य सरोकार भएका पक्षसँगको समन्वय र सहकार्यमा औद्योगिक ग्राम सञ्चालनमा ल्याइने छ ।  

बागलुङसँगै पर्वत, कास्की, स्याङ्जा, लमजुङ, गोरखा र तनहुँमा गरी ११ स्थानमा औद्योगिक ग्राम निर्माणको काम अगाडि बढाइएको छ । यस्तै गण्डकी प्रदेशअन्तर्गत नवलपुरको कावासोती र कास्कीको भोटेपोखरीमा औद्योगिक क्षेत्र निर्माणका लागि सङ्घीय सरकारले अनुमति दिएको छ । औद्योगिक ग्राममा साना तथा मझौला उद्योग रहनेछन् भने औद्योगिक क्षेत्रमा ठूलो लगानीका उद्योग स्थापना गरिनेछ ।  

स्थानीय तहको माग र प्रदेश सरकारको सिफारिसअनुसार मन्त्रिपरिषद्ले औद्योगिक ग्राम खोल्न स्वीकृति दिएको हो । स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न औद्योगिक ग्रामको योजना ल्याइएको हो ।

  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १७:३५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया