सोमबार सडकबाट काङ्ग्रेसले दिएका ३ सन्देश

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सोमबार सरकारको विरोधमा देशभर शक्ति प्रदर्शन गर्‍यो । यो शक्ति प्रदर्शनबाट दुई वर्षभन्दा बढी निराश भएका कांग्रेसका नेता तथा कार्यकर्तामा नयाँ जोश र जाँगर थपिएको छ । 

बारम्बार पार्टीभित्रैबाट प्रतिपक्षको भूमिका सशक्त रुपमा निर्वाह गर्न नसकेको आरोप लागेको काङ्ग्रेसीजनलाई यसले नयाँ ऊर्जा थपेको छ । 

तर, सोमबारको काङ्ग्रेसको प्रदर्शनले पार्टीमा नयाँ ऊर्जा थपेको मात्र होइन, यसले राष्ट्रिय राजनीतिमा पनि तरंग ल्याएको छ र अब राष्ट्रिय काङ्ग्रेस राजनीतिक सिनारियोमा स्पष्ट रुपमा अगाडि आएको देखिएको छ । यसको अर्थ के होइन भने काङ्ग्रेस यसअघि राष्ट्रिय राजनीतिमा कतै देखिएको थिएन । तर, काङ्ग्रेसकै केही नेताहरुले पछिल्लो समय आफ्नै सभापतिमाथि गम्भीर आरोप लगाउन थालिसकेका थिए । उनीहरुको आरोप थियो– सभापति शेरबहादुर देउवाले पार्टीलाई थप कमजोर बनाउँदै छन्, उनी प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगीका रुपमा देखिएका छन् । 

देउवा र ओलीबीच बेलाबेलामा भएका गोप्य भेट तथा पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको किचलोबीच काङ्ग्रेसले ओलीलाई समर्थन गरेर सरकारमा समावेश हुनसक्ने सम्भावनाका कारण यी तर्क बाहिर आएका थिए । 

तर, अब काङ्ग्रेसको सोमबारको देशभरको प्रदर्शनका कारण केही भ्रमहरु चिरिएका छन् भने काङ्ग्रेस नेता तथा कार्यकर्तामा नयाँ ऊर्जा थपिएको छ । 

काङ्ग्रेसले देशभरका जिल्लाबाट गरेको प्रदर्शनबाट दिएको सन्देशबारे चर्चा गर्नुअघि यो प्रदर्शनको पृष्ठभूमिबारे चर्चा गरौँ । 



गत चैतदेखि कोरोनाभाइरस (कोभिड १९)को महामारीका कारण देश लकडाउनको अवस्थामा थियो । यही कोरोनाको महामारीबीच सरकारले गरेका कामहरुको व्यापक आलोचना भइरहेको थियो । तर, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको विवाददेखि विभिन्न विषयमा काङ्ग्रेसले चर्को आवाज उठाउन सकेको थिएन । केन्द्रमा केही नेताहरुले यसबारे बोले पनि सरकारले चालिरहेका कदमको विरोधमा तल्लो तहसम्म काङ्ग्रेसको आवाज पुग्न सकेको थिएन । तीन वर्षमा तेस्रो पटक सडकमा ओर्लिएको काङ्ग्रेसले आफूलाई फेरि दरिलो प्रतिपक्षका रुपमा उभ्याउने प्रयास गरेको छ ।

फेरि सोमबारको यो प्रदर्शनका लागि काङ्ग्रेसले तनहुँको घटनालाई आफ्नो वाहाना पनि पाएको थियो । प्रधानमन्त्री ओलीले हठात् संसद अधिवेशन अन्त्य गरेको पाँच महिनासम्म चुपचाप जस्तै देखिएको काङ्ग्रेसले सडकमा ओर्लिने मौका खोजिरहेको थियो । तर, कोरोनाभाइरसका कारण यो सम्भव भएको थिएन ।



१७ मंसिरमा तनहुँमा बुल्दी खोला पुल उद्घाटन गर्न पुगेका काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले धरपकड मात्र गरेन, उनलाई केही घन्टा प्रहरी हिरासतमा पनि राखियो । भलै त्यसको भोलिपल्ट पौडेलले त्यो पुलको उद्घाटन गरे, यसले काङ्ग्रेसी नेताहरुमा भय उत्पन्न मात्र गराएन, सरकारविरुद्ध आवाज उठाउनु यसलाई नै वाहनाका रुपमा पनि अगाडि सारिदियो ।

तनहुँको त्यो घटनापछि कांग्रेस नेताहरु अधिकांशले सरकारको सर्वसत्तावादी चरित्र देखिएको टिप्पणी गर्न थालेका थिए । त्यही भएर पनि सोमबार काङ्ग्रेसले देशभर प्रदर्शन गर्ने मौका निकाल्यो ।

अब सोमबारको यो प्रदर्शनबाट के सन्देश दिन खोजेको छ त काङ्ग्रेसले भन्ने चर्चा गरौँ ।

पहिलो त, काङ्ग्रेसले सोमबारको प्रदर्शन गरेर एउटा आशा फेरि पलाइदिएको छ, उसले आफूलाई प्रमुख प्रतिपक्षको भूमिका दरो गरि उभ्याउनेछ । राजनीतिमा भनिन्छ, संसद र सडक प्रतिपक्षको हो, सरकार सत्तारुढको हो । सोमबार जसरी हजारौँ कांग्रेसका कार्यकर्ता सडकमा उत्रिए, यसले पक्कै पनि कांग्रेसका नेताहरुलाई एउटा आशाको सन्चार जगाएको हुनुपर्छ । यसले गर्दा अब संसद अधिवेशन बोलाउनका लागि दबाब दिनमात्र होइन, काङ्ग्रेसका सांसदहरुलाई आफ्ना आवाज संसदमा उठाउन पनि थप बल प्रदान पक्कै गर्नेछ । यो आशा र सन्देश काङ्ग्रेसले आफ्ना नेता र कार्यकर्तालाई मात्र दिएको होइन, यो अहिलेको सरकारका कुकर्मबाट आजित भएका सबै जनालाई पनि दिएको हो ।

दोस्रो, यसले काङ्ग्रेसकै नेता तथा कार्यकर्तालाई पनि एउटा सन्देश दिएको छ, काङ्ग्रेस अब विस्तारै चर्को रुपमा आफूलाई फिल्डमा उपस्थित गराउने कदममा अगाडि बढिसकेको छ ।

र, सोमबार देशभरको प्रदर्शनका कारण काङ्ग्रेसले सत्तारुढ दल नेकपालाई पनि एउटा ‘अलार्मिङ’ अवस्थामा पुर्याएको छ । अहिले आन्तरिक किचलोमा फसेको नेकपाका नेताहरुलाई सोमबार सडकमा उत्रिएका काङ्ग्रेस नेता तथा कार्यकर्ताले सन्देश दिएका छन्– सरकारको अकर्मण्यता, बढ्दो भ्रष्टाचार र अहिलेको अवस्थाविरुद्ध बोल्न हजारौँ सडकमा फेरि आउनेछन् ।

  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार ४:२१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया