मंगलबार मात्रै राजधानी काठमाडौंमा एउटा यस्तो घटना घट्यो, जसले मानवीय मूल्य-मान्यतामाथि नै प्रश्न खडा गरिदिएको छ। तीनकुनेको चौरबाट उठाएर वीर अस्पताल लैजाँदै गर्दा मंसिर ३० साँझ ५ बजेतिर एक अज्ञात महिलाकाे प्राण गयाे । उनी जीवनभर कुनै परिचय नभएकी अज्ञात होइनन् । उनकै आफन्त वा परिवारका काेही सदस्यले उनलाई बेवारिसे अवस्थामा छाडे अनि अज्ञात अवस्थामै उनकाे जीवन समाप्त भयो ।
प्यारालाइसिसले शरीर पूरै नचल्ने भएकी र बोल्नसमेत नसक्ने ती महिलालाई कसैले ल्याएर तीनकुने चौरको किनारमा रहेको झाडीमा छाडेको थियो। उनलाई त्यहाँ छाड्ने व्यक्तिमा 'मानवीयता' भनेकाे के हाे भन्नेमा आशंका गर्नुपर्ने अवस्था आाएकाे छ ।
उनलाई साे स्थानमा छाड्नेहरुमा चेतना नै थिएन भनाैँ भने उनीहरुले यो ख्याल गरेका छन् कि, ती महिलालाई त्यस ठाउँमा जाडो हुन्छ, सुत्न कष्ट हुन्छ भन्ने कुरा । ती महिलाको शरीरमा बाक्ला कपडा लगाइदिएका थिए। ओछ्यान ओछ्याएर सिरानीसमेत राखी बाक्लो ब्ल्यांकेट ओढाइदिएका थिए ।
त्यो सार्वजनिक ठाउँमा पक्कै पनि उनलाई धेरैले देखे हाेला, तर धेरैले बेवास्ता गरे । याे राजधानी सहर आँखा भएका, तर मन नभएकाहरुकाे बाहुल्य भएकाे सहर भएकाले उनी बेवारिसे अवस्थामै रहिन् ।
तीनकुने बस्दै आएकी सरिता खड्का मंसिर २८ गते साँझ एयरपोर्ट पुगेर फर्किँदै थिइन् । तीककुनेको चौर आइपुग्दा रातिको ८ बजेको थियो । छोरालाई पिसाब गराउन चौरको किनारामा पुगेकी सरिताले अत्यन्त दयनीय अवस्थामा ती महिलालाई देखिन् ।
केहीबेरअघि मात्रै कसैले त्यहाँ ल्याएर छाडेको अनुमान उनले गरिन् । 'कसैले केही छिनका लागि राखेको होला, आफन्त आएर लैजालान् भनेर आफ्नो बाटो लागेँ' सरिताले भनिन् । तर उनलाई त्यत्तिकै चित्त बुझेन । ती महिला त्यहीँ छिन् की कसैले लगे भनेर भोलिपल्ट हेर्न गइन् । ती महिला त्यही ठाउँमा थिइन् । रातभरको चिसोले अवस्था दयनिय थियो । दुई दिनसम्म उनले सकेको हेरचाह गरिन् । उनको कसरी उद्धार गर्ने मेसो पाउन सकिनन् । पछि उनलाई याद आयो, मानवसेवा आश्रमको । अनि उनले नम्बर खोजेर फोन गरिन् ।
अनि मानव सेवा आश्रमको टोली उद्धारका लागि पुग्यो। आफूहरुलाई मंगलबार दिउँसो २ बजेतिर फोन आएको र ४ बजेतिर उद्धारका लागि तीनकुने पुगेको मानवसेवा आश्रमका सचिव सुमन बर्तौलाले जानकारी दिए ।
काठमाडौं महानगरका अधिकारीहरु, जनप्रतिनिधि, नगर प्रहरी सहितको रोहवरमा मानव सेवा आश्रमका व्यक्तिहरुले ती महिलाको उद्धार गरे । तर, वीर अस्पतालको गेटमा पुग्नेबित्तिकै महिलाले प्राण त्यागेको बर्तौलाले बताए । उनका अनुसार महिलाको हातगोडा केही चल्दैनथ्यो । बोल्न पनि सक्ने अवस्थामा थिइनन् । यस कारण उनको पारिवारिक अवस्था अज्ञात नै रह्यो ।
ती महिलाको शरीरको अवस्था हेर्दा सडकमै जीवन बिताउने मान्छे नभई लामो समय घरभित्रै राखिएको देखिने बर्तौलाको भनाइ छ । 'शरीरका सबै भाग पूरै सेतै थिए । कतै केही दाग थिएनन् । अशक्त भएर लामो समय घरभित्रै रहेकी उनलाई कसैले ल्याएर त्यहाँ छाडेको हो,’ आश्रमका सचिव बर्तौलाले फरकधारसँग भने ।
ती महिला करिब ४५–५० वर्ष उमेरकी रहेको यकिन गरिएको उनले बताए । अहिले मृतक महिलाको शव पोस्टमार्टममा लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
यो घटना अपराधको पराकाष्ठा भएको र यसले अमानवीयताको सीमा नै पार गरेको बर्तौला बताउँछन् । ‘हामी सडक मानवमुक्त बनाउने अभियानमा छौँ, परिवारकै मान्छेले यसरी ल्याएर छाड्न थाले भने सडकबाट जति उठाए पनि सम्भव हुँदैन,’बर्तौला गुनासो गर्छन् । ती महिलालाई यस्तो अवस्थामा त्यहाँ ल्याएर छाड्नेको अनुहार हेर्ने धोको रहेको उनले सुनाए ।
‘सायद ती आमाले त मुक्ति पाइन् । तर, जुन परिवारले उनलाई त्यो झाडीमा ल्याएर छाड्यो, ऊ जीन्दगीभर तड्पिरहनेछ । एकपटक तिनीहरुको अनुहार हेर्न मन छ,’ बर्तौला भन्छन् ।
अहिले यो घटनाबारे जानकारी पाएका सबैको मनमा सायद एउटै प्रश्न खेलिरहेको छ। के कोही मान्छे यतिसम्म निर्दयी बन्न सक्छ ? आखिर को हो त ती महिलालाई त्यहाँ ल्याएर छाड्ने ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।