आज विवाह पञ्चमी, जनकपुरधाममा संक्षिप्त विधिबाट विवाह महोत्सव
फाइल फोटो

मार्गशीर्ष शुक्ल पञ्चमी  अर्थात विवाह पञ्चमी । यसै दिनमा त्रेता युगमा अयोध्याका राजकुमार रामचन्द्र र जनकपुरकी राजकुमारी सीताको विवाह भएको मानिन्छ । 

सोही पौराणिक मान्यताका आभारमा मार्गशीर्ष शुक्ल पञ्चमीलाई विवाह पञ्चमी भनिदै आएको हो । राम, सीताको विवाह भएको सम्झनामा आज देशभर राम र सीताको पूजा आराधना गरी यो पर्व मनाइन्छ । 

धनुषाको जनकपुरधाममा आजको दिनलाई विशेष दिनका रुपमा मनाइन्छ ।  आज जनकपुरधाममा भगवान राम र सीताको विवाह महोत्सव आयोजना गरिन्छ। 


 रामायण कथामा वर्णन गरिए अनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ।

सीतालाई चेलीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।



महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।

रंगभूमिमा स्वयंवर भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको डोला शोभायात्रामा मिथिला क्षेत्रसँगै विभिन्न स्थानलगायत भारतीय श्रद्धालुहरु समेत सहभागी हुने गर्छन् ।



यस वर्ष भने कोरोना महामारीका कारण जनकपुरधाममा गरिने विवाह महोत्सव कार्यक्रमसमेत संक्षिप्त विधिबाट भौतिक दूरी कायम गरी मनाइने तयारी भएको छ । 

  • प्रकाशित मिति : पुस ४, २०७७ शनिबार ८:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया