प्रचण्ड-नेपाल समूहको महासचिव बन्दै सुरेन्द्र पाण्डे
वरिष्ठ नेता झलनाथको प्रस्ताव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी टुक्रिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको महासचिवमा सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइने भएको छ।

बिहीबार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्न लागेको केन्द्रीय समितिको बैठकले पाण्डेलाई महासचिवमा चयन गर्न लागेको हो।

आज बिहानै सिनामंगलमा बसेको शीर्ष नेताहरुको छलफलपछि नेता पाण्डेलाई महासचिव बनाउने तयारी भएको हो । प्रचण्ड पक्षधर नेकपाको सचिवालय बैठक अहिले पार्टी कार्यालय पेरिस डाँडामा बस्दैछ।

एकीकृत नेकपाका महासचिव विष्णु पौडेल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा बसेपछि दाहाल(नेपालले पाण्डेलाई आफ्नो समूहबाट छान्‍न लागेका हुन्। 

नेकपा एमालेको नवौँ महाधिवेशनमा नेपाल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका पाण्डे ओली प्यानलका ईश्‍वर पोखरेलसँग पराजित भएका थिए।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेता सुरेन्द्र पाण्डे महासचिव हुने भएका हुन् । प्रचण्ड(नेपाल दुवै अध्यक्ष भएपछि वरिष्ठ नेता खनालले आफूले भनेको नेता महासचिव हुनुपर्ने अडान लिएका थिए। खनाल एकीकृत नेकपामा पनि जस्तै खनाल दाहाल(नेपाल समूहमा पनि तेस्रो वरीयतामा छन्। नेकपामा चौथो वरीयताका वरिष्ठ नेता नेपाल दाहाल समूहमा अध्यक्ष बन्दै दोस्रो वरीयतामा आएका छन्। 



यता अध्यक्ष नेपालले भने भीम रावललाई महासचिव बनाउन प्रस्ताव गरेका थिए । तर पाण्डेको नाममा सहमति भएको स्रोतले जनाएको छ। 

महासचिव पदका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरा लगायत नेता प्रतिस्पर्धामा छन् । तर प्रचण्ड(नेपाल समूहले पाण्डेलाई महासचिव बनाउनेगरी प्रस्ताव अगाडि बढाएको हो।



पार्टी सचिवालय र स्थायी कमिटीमा छलफलपछि केन्द्रीय कमिटीमा उक्त प्रस्ताव लगेर निर्णय गर्ने तयारी छ । त्यसका लागि बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह १ बजेका लागि सारिएको छ। 

  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार ११:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया