नेकपा विभाजित : नेपालको घटनाक्रमलाई कसरी हेर्दैछन् चीन र भारत?
प्रधानमन्त्री भारत जाने तयारीमा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भइसकेको छ। अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति संघर्षका कारण एकीकरण नसकिँदै नेकपा विभाजित भएको हो। 

ओलीलाई कुनै हालतमा सत्ताबाट हटाइछाड्ने दाहाल-नेपालको योजना संसद सचिवालयमा अविश्‍वास प्रस्तावसम्म पुग्यो। तर उक्त प्रस्तावलाई सभामुख अग्‍निप्रसाद सापकोटाले प्रक्रियामा लान नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यही आइतवार संसद विघन सिफारिस गरिदिए। जसलाई केही घण्टा 'होल्ड' राखेर राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यान्वयन गरिदिएकी थिइन्। 

२०७६ कात्तिकदेखि सतहमा देखिएको नेकपाको शक्ति संघर्ष २०७७ पुसमा आएर पार्टी विभाजनसँगै टुंगिएको छ। यो विभाजनले करिब तीन दशक लामो सहकार्य गरेका ओली-नेपालबीच सम्बन्धबिच्छेद नै भएको छ। देशकै ठूलो दल विभाजित भएपछि राजनीतिक अस्थिरता निम्तिने भन्दै नागरिकस्तरमा चिन्ता र चासो बढिरहेको छ। राजनीतिक विश्लेषकहरुले पनि नेकपा विभाजनका कारण नागरिकले खोजेको राजनीतिक स्थायित्वको चाहनामा एक पटक फेरि धक्का लागेको ठानेका छन्। 

नेकपा विभाजनको प्रभाव देशभित्र मात्रै होइन, छिमेकी र नेपालसँग सहकार्य गरिरहेका देशहरुसम्म परेको छ। दक्षिण एसियामै सबैभन्दा ठूलो कम्युनिष्ट घटकका रुपमा रहेको नेकपा विभाजनलाई दुई ठूला छिमेकी चीन र भारतले विशेष चासो दिएर हेरिरहेका छन्। 

नेपालको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएको दक्षिणी छिमेकी भारत र पछिल्लो समय नेपाललाई प्राथमिकतामा राखेर चासो दिइरहेको चीन दुवैलाई नेकपा विभाजन एउटा अप्रत्याशित घटना भएको छ। यस्तोमा दुवै देशले नेपालको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको बताएका छन्। 

नेपालको ठूलो तथा सत्तारुढ दल विभाजित भएपछि दुवै देशले आफ्ना कुटनीतिज्ञ परिचालन गरेर भेटघाट र छलफललाई तीव्र बनाइरहेका छन्। नेकपा विभाजित हुनुको कारणबारे पनि उनीहरुले चासोपूर्वक नियालिरहेको प्रतिक्रिया दिएका छन्। 



चिनियाँ राजदूत सक्रिय

नेकपामा यसअघि विवाद बढेर गम्भीर संकट देखिँदा सक्रिय हुने  चिनियाँ राजदूत होऊ यान्छी यो पटक पार्टी विभाजन भइसकेपछि मात्रै सक्रिय भइन्। उनले नेकपा विभाजित भइसकेपछि मंगलबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छन्। 



संसद विघटनको निर्णयपछि अप्रत्यासितरुपमा नेकपा विभाजित भइसकेको अवस्थामा यान्छी शीतल निवास पुगेकी हुन्। राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा तीन वर्षमै प्रतिनिधसभा विघटन गरिदिएपछि नेकपा फुटिसकेको छ। तर उनी र राष्ट्रपतिबीच भएको कुराकानीबारे दुवै पक्षले केही खुलाएका छैनन्। तर राष्ट्रपतिसँग उनको भेटको सन्दर्भ भने संसद विघटनपछिको अवस्था र नेकपामा देखिएको संकट नै थियो।

राजदूत यान्छीले यसअघि गत भदौमा नेकपामा गम्भीर विवाद देखिएपछि सक्रियता बढाएकी थिइन्। त्यसबेला उनले ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत भेटेर मिलेर जान सुझाएका थिइन्। उनले विभाजन रोक्न दबाब दिइसकेपछि त्यसबेला पार्टी फुटबाट जोगिएको थियो। यान्छीको सक्रियता र नेकपा उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावले त्यसबेला नेकपा फुट्नबाट जोगिएको थियो। 

भारतको प्रतिक्रिया

काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्र पछिल्लो समय चिनियाँ राजदूत जस्तै नेता भेटघाटमा देखिएका छैनन्। तर नेपालको पछिल्लो घटनाक्रमबारे काठमाडौंस्थित दूतावासले नजिकबाट नियालिरहेको यहाँस्थित एक अधिकारी नभीन कुमार बताउँछन्। 

भारतीय दूतावासले नेकपा विभाजन र अहिलेको घटनाक्रम नेपालको आन्तरिक मामिला भनेको छ। तर एक छिमेकीको नाताले यहाँको घटनाक्रमलाई नजिकबाट हेरिरहेको पनि उल्लेख गरेको छ।

बिहीबार मात्रै नेपालको पछिल्लो घटनाक्रमबारे भारतीय विदेश मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ। नेकपा विभाजित भएको चार दिनपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताएका छन्।

प्रवक्ता श्रीवास्तवले अहिलेको घटना नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरेका छन्। नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। 

'एक छिमेकी र शुभचिन्तकको हिसाबले नेपाल र त्यहाँका जनतालाई शान्ति, समृद्धि र विकासको बाटोमा अग्रसर हुन भारतले निरन्तर सहयोग गरिरहनेछ', उनले भनेका छन्, ‘नेपालको राजनीतिक विकासक्रमलाई हामीले नोट गरेका छौँ। यो नेपालले प्रजातान्त्रिक प्रक्रियाद्वारा निर्णय लिने आन्तरिक मामिला हो ।’

नेकपा फुट्नुअघि भारतीय सक्रियता

भारतले २०१९ नोभेम्बरमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो। त्यसपछि नेपालले पनि गत जेठमा ती भूमि समेटेर नयाँ नक्सा निकाल्यो। त्यसअघि नेपालले तीन पटकसम्म कूटनीतिक नोट पठाउँदा पनि भारत वार्तामा बस्‍न तयार नभएको जानकारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएका थिए। 

तर नेपाल चीनको पोल्टामा जाने चिन्ता गरेको भारतले कोरोना संकट आएपछि नेपाललाई औषधिसहितका स्वास्थ्य सामग्री पठाइरह्यो । यसबीचमा भारतको स्वतन्त्रता दिवसमा नेपालका प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरेका थिए।  त्यसक्रममा मोदीले नेपालमा आफ्नो दूत पठाइदिने बताएका थिए।

प्रधानमन्त्री र मोदीबीचको संवादपछि गत कात्तिक ५ मा रअ प्रमुख सामन्त गोयल नेपाल आइपुगे। त्यही साँझ उनले प्रधानमन्त्रीलाई बालुवाटारमा करिब ३ घण्टा भेटे। नेकपाको भदौ २६ गतेको स्थायी कमिटी बैठकमा मिलेको विवाद सामन्त गोयल र प्रधानमन्त्री ओलीबीचको यही भेटपछि फेरि बल्झियो। 

यो भेटलाई लिएर ओली घेराबन्दीमा परे। उनले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, विदेश विभाग प्रमुख माधव नेपाल र परराष्ट्र मन्त्रालयलाईसमेत थाहा नदिइ जासुसी संस्थाका प्रमुखलाई भेटेको भन्दै आलोचनाको निशाना बने। सामन्त गोयल फर्किएपछि नेकपामा अर्को कचिंगल सुरु भयो। 

त्यसपछि भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवने कात्तिक १९ मा नेपाल आए। उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि राष्ट्रपतिले दिइन्। सीमा विवाद नमिलेको अवस्थामा सेनाको मार्नाथ प्रमुख बनाएको भन्दै फेरि एक पटक सरकारको आलोचना भयो।

भारतले नेपालसँगको सम्बन्ध सुधार्ने भन्दै मंसिर ११ मा विदेश सचिव हर्षवर्द्धन श्रृंगलालाई नेपाल पठायो। केही औषधि र स्वास्थ्य सामग्रीसहित नेपाल आएका उनले परराष्ट्र सचिवसँग वार्ता गरे। त्यसपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसहितलाई भेटे। 

उक्त भ्रमणमा डिसेम्बरमा नयाँ दिल्लीमा परराष्ट्र मन्त्रीस्तरीय वार्ता तय गरियो। त्यसबेलासम्म नेकपामा विवादले विभाजनको रेखा कोर्न थालिसकेको थियो। यस्तोमा मंसिर २६ गते भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आए। उनले नेपालमा रहँदा सरकारका मन्त्री र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मात्रै भेटे। प्रचण्ड, माधव नेपालसहित नेकपाका अन्य नेतालाई नभेटेपछि सरकार र प्रधानमन्त्री ओलीसँग त्यो समूह झन् बिच्कियो।

त्यस समूहका एकजना नेता भीम रावलले त मंसिर २८ मा एक टिप्पणी सार्वजनिक गर्दै अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख नेपालको अनुमति नलिइ भाजपा नेतासँग भेटेको भन्दै सरकारको कडा आलोचना गरे। उनले यसबारेमा प्रधानमन्त्री ओलीले स्पष्टीकरण दिनुपर्ने बताएका थिए। भाजपा विदेश विभाग प्रमुखले अहिलेको प्रचण्ड-नेपाल नेकपाका कुनै नेतालाई नभेटेपछि उनीहरु ओलीसँग झन् आक्रोशित भएका थिए। 

प्रधानमन्त्री जालान् भारत ?

नेकपामा देखिएको तनावका बीच सरकारले सीमा समस्या सुल्झाउन भन्दै प्रधानमन्त्री ओलीको भारत भ्रमण तयारी गरिरहेको छ। अहिले नेकपा ओली समूहले पनि नयाँ नक्सा जारी गरेकै कारण प्रचण्ड-माधव समूहले सरकारमाथि नियोजित आक्रमण गरेको बताइरहेको छ। 

बिहीबार बालुवाटारमा भएको केन्द्रीय सदस्यहरुको सपथ कार्यक्रममा पनि ओली र अर्का नेता रामबहादुर थापा बादलले त्यही कुरा दोहोर्याए। यसबीचमा पश्चिमी सीमा समस्या सुल्झाउने गरी प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेको उनीनिकट स्रोतहरु बताउँछन्।

ओलीको भ्रमण मिति तय तथा परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि मन्त्री ज्ञवाली यही डिसेम्बरमा भारत जाँदैछन्। त्यहाँ उनले सीमा समस्या समाधानबारे मन्त्रीस्तरमा वार्ता गरेपछि प्रधानमन्त्री ओली भारत जाने मिति तय हुनेछ। 

  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार २०:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया