कोरोनाका शिथिल बनेको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ । यसको संकेत भन्सारको तथ्यांकले पनि देखाएको छ । भन्सार तथ्यांकका अनुसार चालु वर्षको पाचौं महिना सकिँदासम्म महँगा सवारीसाधन र सुनको आयात ह्वात्तै बढेको छ । साथै, अन्य विलासी वस्तुको आयातमा समेत वृद्धि भएको हो ।
विशेषगरी कोरोना संक्रमणका कारण सामाजिक दुरी अनिवार्य भएसँगै साना सवारीसाधनको बजारमा सकारात्मक प्रभाव परेको छ । अझ एक्लै पनि यात्रा गर्न सहज हुने तथा सरकारले लगाएको जोरबिजोर प्रणालीका कारण चालु आवको पाँच महिनामा मोटरसाइकल आयात निक्कै बढेको छ । आयात बढ्दा राजस्व संकलनमा समेत सकारात्मक प्रभाव देखिएको छ । लकडाउन खुला गरिएयता बजारमा सर्वाधिक बिक्री हुने वस्तुको सूचीमा मोटरसाइकल अग्र स्थानमा छ ।
भन्सार सेवा विभागका अनुसार मुलुकमा तीन शीर्षकमा मोटरसाइकल आयात भएको देखिएको छ । बिभिन्न अफर ल्याउँदा बिक्री बढेसँगै साउनदेखि मंसिरसम्म ७८ हजार ७ सय ९० वटा ५० देखि २५० सिसी क्षमताका मोटरसाइकल नेपाल भित्रिएको छ । मुलुकमा सर्वाधिक परिमाणमा आयात हुने वस्तुको सूचीमा मोटरसाइकल चौथो नम्बरमा छ । यसबाट सरकारले ६ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ ।
यसैगरी अर्को भन्सार शीर्षकमा सोही अवधिमा ३९ हजार १ सय ३५ वटा मोटरसाइकल आयातबाट ३ अर्ब ४७ करोड राजस्व संकलन भएको छ । यो शीर्षकअन्तर्गत मध्यमखाले मोटरसाइकल आयात हुने गरेको भन्सारको तथ्यांक छ ।
यस्तै फरक भन्सार शीर्षकमा सो अवधिमा १३ हजार १ सय ६० वटा मोटरसाइकल आयात भइसकेको छ । यो शीर्षकबाट १ अर्ब ८० करोड भन्सार राजस्व संकलन भएको छ । विशेषगरी यो शीर्षकमा महँगा मोटरसाइकल आयात हुने गर्दछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।