पार्टी एकता घोषणा सभामा ओली–प्रचण्डका ती मीठा वाणी

तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा करिब साढे दुई वर्षपछि दुई चिरा भएको छ । 

लामो समयदेखि आन्तरिक विवादमा रहेको नेकपालाई प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयले विभाजनमै पुर्‍यायो । 

नेकपा दुई कित्ता हुँदा पूर्ववत् अवस्थामै एमाले र माओवादीकै रूपमा भने भएनन् । दुवै खेमाका नेता कार्यकर्ताहरू दुवै समूहमा लागेका छन् । 

पार्टी फुटको जिम्मेवार को ? भन्ने  विषयमा एक पक्षले अर्को पक्षलाई दोष थोपारेका छन् । ओली समूहले सत्ताको बलमा पार्टीको विधि, पद्धतिलाई नमानेको,  संविधान विपरीत प्रतिनिधिसभा विघटन गरी अस्थिरता निम्त्याएको, जनमतको अपमान गरेको आरोप प्रचण्ड–नेपाल पक्षले लगाइरहेको छ ।

प्रचण्ड–नेपाल पक्षले सरकारलाई काम गर्न नदिएको, प्रधानमन्त्रीलाई असफल बनाउन लागिपरेको ओली समूहको आरोप छ । 

दुवै समूहले आफ्नो समूह नै आधिकारिक नेकपा भएको र अर्को पक्ष पार्टीबाट चोइटिएर गएको दाबी गरिरहेका छन् ।



पार्टी विभाजनपछि माथिल्लो तहका नेतादेखि तल्लो तहका कार्यकर्ताहरू आरोप–प्रत्यारोपमा उत्रिइरहेका छन् । कसैले संयमित टिप्पणी गरिरहेका छन् भने कसैले तुच्छ शब्द प्रयोग गर्दै अर्को पक्षविरुद्ध उत्रिएका देखिन्छन् । 

फुट्ने बित्तिकै दुश्मन करार



नेपालमा कम्युनिस्ट पार्टी फुटको शृङ्खला निकै लामो छ । पार्टी विभाजन हुनेबित्तिकै एक पक्षले अर्को पक्षलाई सबैभन्दा ठूलो दुश्मन देख्ने र आक्रामक रूपमा प्रस्तुत हुने गरेका थुप्रै दृष्टान्त छन् । 

२०५४ सालमा एमाले पार्टी विभाजन भएर माले–एमाले हुँदा एकले अर्को पक्षको सक्दो खेदो खनेको थियो । २०५६ सालको आम निर्वाचनमा एकले अर्को पार्टीको पोस्टर च्यात्ने, भित्तेलेखन मेट्ने गतिविधि निकै देखिन्थ्यो । 

दुई पक्षबीच झडपका घटना पनि हुन्थे । त्यतिबेला एक–अर्काविरुद्ध आरोप लगाउँदै पुस्तक नै प्रकाशन भएका दृष्टान्त छन् ।

दस वर्षे सशस्त्र संघर्षपछि २०६२/०६३ को जनआन्दोलन हुँदै शान्ति प्रक्रियामा आएको माओवादी २०६४ सालको संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बन्न सफल भयो । किचलोकाबीच संविधान बन्न सकेन । २०६८ सालमा संविधानसभा विघटन भयो । २०६९ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी) विभाजित भयो । 

मोहन वैद्यको नेतृत्वमा विभाजन भएर गएको पक्ष तत्कालीन प्रचण्ड पक्षको माओवादीप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएको थियो । प्रचण्डको पार्टी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनको प्रचारमा जोडतोडका साथ लाग्दा वैद्य पक्ष सक्रिय रूपमा निर्वाचन बिथोल्न लागि परेको थियो ।

गाली, अरोप–प्रत्यारोपका अलावा त्यस समय अर्काे पक्षले चुनाव प्रचारमा हिँडेका प्रचण्डलाई लक्षित गरी बम प्रहार समेत गर्‍यो । त्यसरी चुनाव बहिष्कारमा लागेको पक्षको ठूलो समूह २०७३ मा फेरि प्रचण्ड नेतृत्वको माओवादीसँग मिल्यो । 

मिल्ने बेलामा इतिहासले मागेको, देश, जनताले मागेको भन्दै एक–अर्काको प्रशंसा गर्दै जुट्ने र फुटेपछि एक अर्कोविरुद्ध हदैसम्मको हर्कत गर्ने प्रवृत्ति नेपालका कम्युनिस्टहरूको पुरानै रोग हो । 

विसं २००६ सालमा स्थापना भएको नेपालका कम्युनिस्ट पार्टीमा यो प्रवृत्ति २०२० को दशकदेखि अहिलेसम्म जारी नै छ । 

त्यही सिलसिलाको निरन्तरता हो अहिलेको विभाजन र आरोप प्रत्यारोप ।

नेपालका कम्युनिस्ट पार्टीबीच भएका एकतामध्ये तत्कालीन एमाले र माओवादीको एकता सबैभन्दा ठूलो एकता थियो । देशका तीन ठूला पार्टीमध्येमा दुई ठूला पार्टीबीच एकता भएको थियो । 

दुई पार्टीले चुनावी गठबन्धन गर्दा नै लगभग एकपक्षीय जित निकाल्न सफल भएका थिए । पार्टी एकतापछि आगामी दिनमा बलियो जित हुने र नेपालको शासन, सत्तामा लामो समय कम्युनिस्ट पार्टीको हालीमुहाली हुने आँकलन गरिएको थियो । स्थानीय तह, प्रदेश, केन्द्र सबैतिरका सरकारमा कम्युनिस्ट पार्टीको जगजगी थियो । 

पार्टी एकतापछि उपनिर्वाचनबाहेक अरुमा भाग लिने अवसर नपाउँदै विभाजित भयो । 

पार्टी एकताका दिन जे बोलियो 

२०७५ जेठ ३ गते पार्टी एकताको घोषणा गर्दा ओली र प्रचण्डले एक अर्काको प्रशंसा गरेका थिए । त्यो दिन नेपालको कम्युनिस्ट इतिहासको एक महत्त्वपूर्ण र ऐतिहासिक दिन भएको बताएका थिए । 

अब देशमा टुटफुट र अस्थिरताका दिन गएको र स्थिरता, सुशासन र समृद्धिको ढोका खुलेको तर्क प्रधानमन्त्री समेत रहेका नेकपामा एक अध्यक्ष चुनिएका केपी शर्मा ओलीले गरेका थिए । एमाले र माओवादी एक–अर्कामा अन्तरघुलित भएको तर्क दुई अध्यक्षले गरेका थिए ।

नेपालका कम्युनिस्ट पार्टी फुट्न मात्रै जानेका छन्, जुट्न जानेका छैनन् भन्ने कथन इतिहास भएको दाबी गरिएको थियो । 

भृकुटी मण्डपको राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणासभामा ओली र प्रचण्डले त्यसदिन जुन प्रकारको अभिव्यक्ति दिएका थिए, त्यसले दुवै पक्षका कार्यकर्तालाई निकै उत्साहित बनाएको थियो । कुरा निकै मीठा र निकै आशावादी सुनिन्थ्यो । 

आफूहरू दुई जना ठूलो जेट विमानका दुई पाइलट भएको बताएका थिए । 

ओलीको त्यही भनाइलाई आधार मानेर अहिले दुई पाइलटले जेट विमान दुर्घटनामा पारेको टिप्पणी गरिरहेका छन् ।

प्रचण्डले एमाले र माओवादीको एकता हाइड्रोजन र अक्सिजन मिसिएर पानी बनेजस्तै भएको टिप्पणी गरेका थिए । अब अलग हुन नसक्ने दाबी गरेका थिए । 

ओलीले मिश्रणका रूपमा दुई पार्टी मिसिएको नभई अन्तरघुलित भएको तर्क गरेका थिए ।

नेकपा पार्टी एकतापछिको घोषणासभामा पार्टीका दुई अध्यक्षले के–के भनेका थिए । 

नेकपामा दुई अध्यक्ष ओली र प्रचण्डले त्यहाँ बोलेका मुख्य भनाइहरू । 

ओलीका भनाइ (२०७५–०२–०३)

-एकताका लागि म बढो उत्साहित थिएँ मभन्दा बढ्ता उत्साहित त उहाँ (प्रचण्ड) रहेको पाएँ ।

–पार्टी एकताले न्यायतर्फको यात्रा, सुशासनतर्फको यात्रा, समृद्धितर्फको यात्रा मजबुद भएको छ । अग्रजहरूका सपना पूरा भएको छ । 

नेपालमा कम्युनिस्ट पार्टीका लागि दुईतिहाइ मत सामान्य भयो । आउँदो चुनावमा दुई तिहाइ होइन कम्तीमा तीन चौथाइ ल्याउनुपर्छ । कतिपयलाई यो कुरा ठट्टा लाग्छ, ६ महिना अगाडि कतिलाई के–के कुरा ठट्टा लाग्थ्यो विचार गर्नुहोस् त ?

–कतिलाई लाग्ला दुईवटा अध्यक्ष भए के गरेको यस्तो ? टेम्पाे चलाएजस्तो होइन । जेट विमानमा दुईवटा हुन्छ पाइलट । बाइडबडी उडाउनु छ । 

–प्रचण्डले नमानेको भए एकता कहाँबाट हुन्थ्यो ? मैले नमानेको भए पनि एकता हुँदैन्थ्यो ?

–पार्टी एकताको अग्रभागमा म र प्रचण्डजी देखिए पनि यो सबैको योगदान उत्तिकै छ जस्तो कुनै दुईवटा देशले सम्झौता गर्छन् तर हस्ताक्षर गर्ने मान्छे त एक जना हुन्छ नि ।

–हामी मिश्रणका रूपमा मिसिएको नभई अन्तरघुलित भएका छौँ एउटै पार्टी भएका छौँ । 

–हिन्द महासागरमा गएर कोसीको पानी खोज्न थाल्यो भने, कर्णालीको पानी खोज्न थाल्यो भने कहाँ भेटिन्छ ? 

–अघिसम्म हामीले एमाले भनेर माओवादी केन्द्र भनेर भन्यौँ । अघिसम्म प्रचण्ड अर्कै पार्टीको अध्यक्ष हुनुहुथ्यो । अघि मैले प्रचण्डजीलाई भनेँ ‘तपाईको माओवादी सिद्धियो’ । अनि प्रचण्ड जीले पनि भन्नु भो, ‘तपाईको एमाले पनि सिद्धियो’ मैले उहाँबाट त्यही जवाफ सुन्नका लागि त्यसो भनेको थिएँ । 

–हो अब दुईवटै पार्टी सिद्धियो । एमाले माओवादीमा मिसिएर बिलायो । माओवादी एमालेमा मिसिएर विलय भयो । 

–२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी विभाजन भएकाले देश र जनताले धेरै पीडा सहनुपर्‍यो । फुट्न मात्रै जानेका छन् भन्ने कम्युनिस्टमाथिको आरोप अब इतिहास भो, अब कम्युनिस्टहरू फुट्न जान्दैनन् जुट्छन् मात्रै ।

–कम्युनिस्टहरु सिद्धिए, संसारबाट विलय भए भन्ने इतिहासका गफ भए । अब कम्युनिस्टका दिन आए । जाडो मौसममा पात झरेका बेला कसैलाई स्याउ मर्‍यो कि भन्ने भ्रम हुन्छ । फेरि पछि लटरम्म स्याउ फलेको देखेपछि दंग हुन्छ । 

–आजका मितिसम्म कुनै कम्युनिस्ट पार्टीसँग बहुमत थिएन । आज आएर एउटै पार्टीको बहुमत भयो । ६ प्रदेशमा बहुमत छ । स्थानीय तहमा बहुमत छ । पपुलर ​भोटको पनि बहुमत छ । अब हाम्रो अगाडि सुन्दर सम्भावना छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा हामीसँग कसैले ढाल्न नसक्ने गरी एकल बहुमत छ ।

–अब के स–साना पसल थापेर बस्नुहुन्छ आउनुहोस्, हाम्रो कुनै प्रकारको गलत भावना छैन, आउनुहोस् देश विकास मिलेर अघि बढौँ । नमिल्दा अप्ठेरा टेडा कुरा गरेर कुनामा बस्नु कम्युनिस्ट सिद्धान्त होइन । कोही–कोहीको बानी बिग्रिएको छ केटाकेटी जस्तो सुतली बम पड्काएर हिँड्नु हुन्छ । संर्कीणता, जिद्दी, अहङ्कारबाट मुक्त भएर राष्ट्र निर्माणका लागि कम्युनिस्ट एकताको महाअभियानमा सामेल हुन आग्रह गर्न चाहन्छु । छरिएर रहेकाहरू एकतामा आउनुहोस् । 

–सुशासन हाम्रो मान्यता हो । मैले पटक–पटक भन्दै आएको छु भ्रष्टाचार गर्दिन, गर्न दिन्न ।

–पार्टीको बहुमतलाई देशको पक्षमा, जनताको पक्षमा, असल कामको पक्षमा लोकतन्त्रको पक्षमा प्रयोग गर्छौँ । जनताको हितका निम्ति, जनताको सेवाका निम्ति, संविधानको सही कार्यान्वयनका निम्ति प्रयोग गछौँ ।

–आज एउटा नयाँ इतिहास रचना भएको दिन । कम्युनिस्ट आन्दोलन, वामपन्थी आन्दोलन मात्रै नभएर नेपालको लोकतान्त्रिक आन्दोलन नै नयाँ उचाइमा प्रवेश गरेको छ । 

–नेपाल नयाँ युगमा प्रवेश गर्‍यो । यसको सही सदुपयोग गरेर देशलाई समृद्धितर्फ लाने हाम्रो कर्तव्य हो । अब सबैजना उत्साहका साथ अघि बढौँ ।

प्रचण्डका भनाइ (२०७५–०२–०३)

–आजको दिन हामीले एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टीको घोषणा गरेका छौँ ।   थाहा नपाएको मितिमा घोषणा हुनेछ भन्दै आएका थियौँ । यस्तो ऐतिहासिक दिन जेठ ३ गते पर्न गएको छ ।

–यो एकता नेपाली कम्युनिस्ट आन्दोलनका लागि मात्रै होइन अन्तर्राष्ट्रिय वाम आन्दोलन र अन्तराष्ट्रिय राजनीतिमा स्थिरताको सन्देश दिन निकै अर्थपूर्ण छ । 

–२०४६ सालको आन्दोलनले निरंकुशताविरुद्ध सबै राजनीतिक शक्ति एक ठाउँमा जुटून् भन्ने नेपाली जनताको चाहना थियो । मदन भण्डारीले एकता सम्भव छ भन्नु भएको थियो । उहाँले देख्नु भएको सपना सफल भएको छ । 

–हामीले सहकार्यका विभिन्न अनुभवहरू गर्दै गयौँ । अब यो देशले योभन्दा बढी अस्थिरता, राजनीतिक अराजकता थेग्न सक्दैन भनेर नै एकता गर्न लागिएको हो । अब देशलाई योभन्दा बढी अस्थिरता र अराजकतातिर जाने छुट दियौँ भने हामी राजनीतिक नेता हुनुको, हामी कम्युनिस्ट नेता हुनुको औचित्य समाप्त हुन्छ भन्ने ठानेर नै पार्टी एकताको पहल गरेका थियौँ ।

–यो एकता कसैकाविरुद्ध परिलक्षित नठानियोस् । यो नेपाल राष्ट्र र नेपाली जनताका आकांक्षा र आवश्यकता सम्बोधन गर्ने हाम्रो इमान्दार प्रयास हो । राष्ट्र र जनताको पक्षमा नयाँ इतिहास रच्न दिशामा अगाडि बढेका छौँ ।

–निर्वाचनको दौरानमा जुन घोषणा गर्‍यौँ । हाम्रै समर्थकले पनि साँच्चै पार्टी एकता होला त ? भनेर शंका गरेका थिए । एक कलाकारले त केपी ओली र म एउटै मच्चमा रहँदा अहिल्यै बधाई दिन्न मलाई अझै यो एकता हुन्छ कि हुँदैन भन्ने विश्वास छैन पार्टी एकता भएपछि मात्रै दिन्छु भनेर सार्वजनिक रुपमै भनेका थिए ।

–बीचमा केही उतारचढाव पनि देखिए । समाज, प्रकृति, राजनीतिमा उतार–चढाव हुन्छ । उतार चढावका ती घुम्ती, मोडहरूमा हामीले दृढताकासाथ एउटा कुरा भनेका थियौँ एकताका निम्ति पछाडि फर्कने पुल भत्काएर आइसकेका छौँ हामी एकता गरी छाड्छौँ ।’ यो संकल्प हामीले जनताको अगाडि निरन्तर राख्यौँ । यही मञ्चबाट कमरेड केपी ओलीले खुट्टै काटेर भए पनि जुत्ता मिलाइ छाडिन्छ भनेर प्रतीकात्मक रूपमा भन्नुभएको थियो । 

–जनतासामु हामीले प्रतिबद्धता व्यक्त गरेका थियौँ त्यो पूरा गरेका छौँ । म गर्वका साथ आम जनतालाई र आम कम्युनिस्ट कार्यकर्ताहरूलाई हार्दिक बधाई र शुभकामना भन्न चाहन्छु ।

–पार्टी एकता गर्नुको मुख्य चाहना जनतालाई सुखी बनाउनु । राष्ट्रलाई समृद्ध बनाउनु स्वाधीन बनाउनु हो । सामाजिक न्याय सहितको आर्थिक समृद्धिबाट देशलाई समाजवादतर्फ उन्मुख गराउने हाम्रो मूल उद्देश्य हो ।

–जनताका अगाडि गरेको प्रतिबद्धताबाट कदापि विचलित हुनेछैनौँ । अब नयाँ युगको सुरुवात भयो । अस्थिरता, अराजकताको भुमरीको पुरानो युग समाप्त भयो । अब स्थिरता, विकास, समृद्धि र सुशासनको नयाँ युग सुरु भयो ।

–केही वर्षदेखि हामी कम्युनिस्टहरूमा विचार, सिद्धान्त, दर्शन, आदर्श मूल्य मान्यतामा स्खलन हुँदै व्यक्तिगत स्वार्थ, अलङ्कारवादी, उपभोक्तावादी चिन्तन विस्तारै हाबी हुँदै गएको बढ्दो दुखद् स्थितिको सामना हामीले गर्दै आएका छौँ । 

–कमरेडहरू र मित्रहरू आजको दिन हामीले सबैले एक पटक संकल्प गर्नु परेको छ । इतिहासमा धेरै कम्युनिस्ट पार्टीहरूले संघर्ष गरे ठूला–ठूला त्याग गरे, ठूलो बलिदान गरे । संसारलाई नै हल्लाउने गरी क्रान्ति भए । तर, सत्तामा पुगिसकेपछि तिनै पार्टी यति भ्रष्ट, यति स्खलित यति आदर्शहीन बने कि पछि जनताले नै समातेर पिटिपिटी मर्नुपर्ने नेतामा परिणत भए । 

– कमरेडहरू र मित्रहरू आज यो एकता घोषणा गर्दा के यसबारे संकल्प लिन सक्छौँ ? हामीले संकल्प लिनैपर्छ हामी त्यस्तो हुन दिनेछैनौँ । आदर्शका निम्ति समर्पित हुने कम्युनिस्ट पार्टीको निर्माण गर्छौँ । 

–एक्काइसौँ शताब्दीका सम्भावना र चुनौतीलाई बुझ्न सक्न नयाँ कम्युनिस्ट पार्टी बनाउने छौँ हामी निरन्तर जनताको पक्षमा जनताका निम्ति समर्पित हुनुबाहेक कम्युनिस्ट हुनुको अर्को औचित्य छँदै छैन । तर कताकता सत्तामा पुग्ने सत्तामा सत्ताको नजिक पुग्दै गरेपछि त्यसमा स्खलन आउने संकेत देखिएको छ । त्यसका विरुद्ध लड्न यो एकता सबल हुनै पर्दछ । 

धेरैजसो नेताहरु ६० आसपासका र ६० नाघेका छौँ । जनताको मुक्तिका निम्ति हामी अनिदो, भोकै २० औँ वर्ष खट्यौँ । आफ्ना लागि के भन्ने कत्ति पनि चाहना राख्दैन थ्यौँ । १० वर्षे जनयुद्धका क्रममा प्रतिस्पर्धा पहिला मर्न पाउँ भन्ने हुन्थ्यो । अहिले म सांसद बन्न पाउँ, म मन्त्री बन्न पाउँ भन्नेमा हुन्छ । यहींनेर नै हो कमजोरी । सुशासन, सामाजिक न्याय, जनताका निम्ति सुख दिनका लागि एकता हो । 

–२०१९ बाट विभाजनको पीडा भोगेको र विभाजनको शृङ्खला भोगेर आएको कम्युनिस्ट आन्दोलनले एउटा छलाङ र एउटा गुणात्मक फड्को मारेको छ ।

–अब इमानदारिताका साथ राष्ट्र र जनताका साथ खडा हुने संकल्प गरेनौँ भने धेरै चुनौतीहरू आउनेछन् । कमी कमजोरी गर्ने छुट हामीलाई छैन । 

–हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्छ । पानीभित्र हाइड्रोजन खोजेर पाइँदैन । अक्सिजन खोजेर पाइँदैन । त्यो पानी हुन्छ । त्यस्तै यो कम्युनिस्ट पार्टीमा न यहाँ माओवादी खोजेर पाइन्छ । न एमाले खोजेर पाइन्छ । यो त अर्कै यौगिक बनिसक्यो । यो सबैले आत्मसाथ गर्न जरुरी छ ।

–आग्रह र पूर्वाग्रह भन्दामाथि राष्ट्र र जनतालाई राखेर विचार, सिद्धान्त र दर्शनबाट निर्देशित हुने दिशामा गयौँ भने यो यस्तो ताकत बन्ने वाला छ, यो ताकतले जनतालाई चाहिएको विकास समृद्धि र सुशासन दिनेछ । राष्ट्रलाई चाहिएको स्वाधीनता, राष्ट्रिय एकता र आत्मसम्मान दिनेछ ।

–नेपाली भएर बाच्नु र नेपाली भएर काम गर्नुको गौरव प्राप्त हुनेछ । भर्खरै जन्मिएका र युवामा अगामी सयौँ वर्षसम्म यो दिने नबिर्सने दिन बन्नेछ ।

  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार ७:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया