कुशासन अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नुपरेको संकट अनि व्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानु उपयुक्त विकल्प र अवसर भएको बताएका छन् । 

आइतबार पर्साको वीरगन्जमा आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको विषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने भन्दै सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नुपरिरहेको बताए । 

प्रचण्ड र ओलीको झगडा जनता र देश हितको लागि नभई भागबन्डा र स्वार्थमा केन्द्रित भएको बताए । नेकपाभित्रको अन्तरविरोध र कलहको बोझले देशलाई दुर्घटनाउन्मुख बनाएको थापाको टिप्पणी थियो । 

व्यक्ति परिवर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले भने ‘हामी आफैँ देश बनाउन सक्छौँ, राप्रपालाई विश्वास गर्नुस्, हिन्दू राष्ट्र दिन्छौँ, राजसंस्था दिन्छौँ । विकास र समृद्धि दिन्छौँ ।’  

थापाले  निरंकुश राजतन्त्र खोजेको नभई राजादेखि विप्लव, काङ्ग्रेस कम्युनिस्ट, मधेशवादी सबै अट्ने व्यवस्था राप्रपाको चाहना भएको विचार व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता राजीव पराजुलीले मधेश र मधेसी जनताको हक हित र विकासको निमित्त राप्रपा नै आवश्यक भएको बताए । केन्द्रीय सदस्य नगिना यादव र जिल्ला अध्यक्ष सोमेश्वर यादवले पनि आफ्नो मन्तव्य राखेका थिए । 



कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए । कार्यक्रमपछि जिल्ला केन्द्रीय सदस्य यादवको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । 



  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १९:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया