चीनको जोडबलले फेरि एक होला नेकपा ?
बेइजिङको सन्देश : नेपालमा अस्थिरता हुनु हुँदैन
प्रधानमन्त्रीसँग संवाद गर्दै चिनियाँ प्रतिनिधि। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई फुटबाट जोगाउन चिनियाँ राजदूत होउ यान्छीले पटक पटक प्रयास गरिन्। नेकपाभित्र गत भदौमा देखिएको रडाको पनि उनकै पहलमा साम्य भएको थियो।

चिनियाँ राजदूतको सक्रियतापछि उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेपछि त्यही ‘रोड म्याप’ भदौ २६ गतेको स्थायी कमिटी बैठकले नेकपाको विवाद साम्य गरेको थियो। 

महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनलाई समेत आधार मानेर प्रधानमन्त्री केपी शर्मा ओली सरकार र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीतर्फ केन्द्रित हुने सहमति भएको थियो। 

तर, प्रधानमन्त्रीले राजदूत नियुक्तिसहितमा मनोमानी गरेपछि दाहाल र वरिष्ठ नेता नेपाल फेरि बिच्किए। भदौमा साम्य भएको वातावरण कात्तिकदेखि फेरि बिग्रियो। दाहाल–नेपाल ओलीबाट दुईमध्ये एक पद खोसेर छाड्ने मुडमा थिए भने ओली कुनै हालतमा पछि नहट्ने। विवादले उग्ररूप लिएपछि अविश्वास प्रस्ताव हुँदै आजको अवस्थामा पार्टी नै दुई चिरा भइसकेको छ।

चीन–भारत दुवै सक्रिय 

नेकपा विवादले विस्तारै विकराल रुप लिँदै गर्दा नेपालमा नजिकका दुई छिमेकी भारत र चीन लगातार सक्रिय थिए। एक वर्षअघि नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि रिसाएको नेपाललाई फकाउने अभियान भारतले थालिसकेको थियो। अर्कातिर चीनले पनि आफ्ना उच्चस्तरीय टोली पठाएर संवाद गरिनैरहेको थियो। 



नेकपा फुटतर्फ अग्रसर भइरहेका बेला चीनबाट गत मंसिर १४ गते त्यहाँका रक्षा मन्त्री जनरल वेई फेङ नेपाल आएका थिए। उनले नेपालमा हुँदा प्रधानसेनापति, रक्षा एवम् प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटेका थिए। त्यति बेला पनि राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीलाई सन्देश पठाएर नेपालमा स्थिरता हुनुपर्ने बताएका थिए।



तर पुस लागेसँगै नेकपा विभाजित हुन पुग्यो। नेकपा विभाजित भएलगत्तै चिनियाँ राजदूत होऊ यान्छी सक्रिय भइन्। उनले नेकपा विभाजित भइसकेपछि सबैभन्दा पहिले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिन्। जहाँ उनले नेकपाको विभाजनले देश अस्थिरतातर्फ जाने भएकाले यसबाट चीनलाई समस्या हुने कुरा राखेकी स्रोत बताउँछ। 

संसद विघटनको निर्णयपछि अप्रत्याशित रुपमा नेकपा विभाजित भइसकेको अवस्थामा यान्छीले शीतल निवासमा चीनको चिन्ता सुनाएकी थिइन्। 

त्यसपछि झन् सक्रियता बढाएकी यान्छीकै पहलमा चिनियाँ उच्च टोली नेपाल आएको हो। नेकपा विभाजनपछि राष्ट्रपति भण्डारीसँगै नेकपाको एउटा समूहका अध्यक्ष पुष्पकमल दाहाल  माधवकुमार नेपाललाई भेटिन्। 

उनीहरुसँग पनि यान्छीको चिन्ता नेकपा विभाजनपछि देश अस्थिरतामा जाने कुरामै थियो। उनले गत शुक्रबार दाहाल समूहका नेताहरु वर्षमान पुन, कृष्णबहादुर महरा र योगेश भट्टराईलाई पनि भेटेर नेकपा चीनले नेकपा एक भएकै हेर्न चाहेको सन्देश दिएकी थिइन्। 

तर अनौठो के थियो भने  यान्छीले त्यस बेला प्रधानमन्त्रीसहित उनको नेतृत्वको नेकपाका कुनै नेतालाई भेटिनन्। यस्तोमा चीनले दाहाल–नेपाल समूह र भारतले ओली समूहको वकालत गरिरहेको  विश्लेषण गर्न थालिएको छ। 

भारतको चासो 

भारतले २०१९ नोभेम्बरमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो। त्यसपछि नेपालले पनि गत जेठमा ती भूमि समेटेर नयाँ नक्सा निकाल्यो। त्यसअघि नेपालले तीन पटकसम्म कूटनीतिक नोट पठाउँदा पनि भारत वार्तामा बस्‍न तयार नभएको जानकारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएका थिए। 

तर नेपाल चीनको पोल्टामा जाने चिन्ता गरेको भारतले कोरोना संकट आएपछि नेपाललाई औषधिसहितका स्वास्थ्य सामग्री पठाइरह्यो । यसबीचमा भारतको स्वतन्त्रता दिवसमा नेपालका प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरेका थिए।  त्यसक्रममा मोदीले नेपालमा आफ्नो दूत पठाइदिने बताएका थिए।

प्रधानमन्त्री र मोदीबीचको संवादपछि गत कात्तिक ५ मा रअ प्रमुख सामन्त गोयल नेपाल आइपुगे। त्यही साँझ उनले प्रधानमन्त्रीलाई बालुवाटारमा करिब ३ घण्टा भेटे। नेकपाको भदौ २६ गतेको स्थायी कमिटी बैठकमा मिलेको विवाद सामन्त गोयल र प्रधानमन्त्री ओलीबीचको यही भेटपछि फेरि बल्झियो। 

यो भेटलाई लिएर ओली घेराबन्दीमा परेका थिए। उनले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, विदेश विभाग प्रमुख माधव नेपाल र परराष्ट्र मन्त्रालयलाई समेत थाहा नदिइ जासूसी संस्थाका प्रमुखलाई भेटेको भन्दै आलोचनाको निशाना बने। सामन्त गोयल फर्किएपछि नेकपामा अर्को कचिङ्गल सुरु भएको थियो।

त्यसपछि भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवने कात्तिक १९ मा नेपाल आए। उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि राष्ट्रपतिले दिइन्। सीमा विवाद नमिलेको अवस्थामा सेनाको मानार्थ प्रमुख बनाएको भन्दै फेरि एक पटक सरकारको आलोचना भएको थियो।

भारतले नेपालसँगको सम्बन्ध सुधार्ने भन्दै मंसिर ११ मा विदेश सचिव हर्षवर्धन श्रृंगलालाई नेपाल पठायो। केही औषधि र स्वास्थ्य सामग्रीसहित नेपाल आएका उनले परराष्ट्र सचिवसँग वार्ता गरे। त्यसपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसहितलाई भेटे। 

उक्त भ्रमणमा डिसेम्बरमा नयाँ दिल्लीमा परराष्ट्र मन्त्रिस्तरीय वार्ता तय गरियो। त्यस बेलासम्म नेकपामा विवादले विभाजनको रेखा कोर्न थालिसकेको थियो। यस्तोमा मंसिर २६ गते भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आए। उनले नेपालमा रहँदा सरकारका मन्त्री र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मात्रै भेटे। प्रचण्ड, माधव नेपालसहित नेकपाका अन्य नेतालाई नभेटेपछि सरकार र प्रधानमन्त्री ओलीसँग त्यो समूह झन् बिच्किएको थियो।

त्यस समूहका एकजना नेता भीम रावलले त मंसिर २८ मा एक टिप्पणी सार्वजनिक गर्दै अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख नेपालको अनुमति नलिइ भाजपा नेतासँग भेटेको भन्दै सरकारको कडा आलोचना गरे। उनले यसबारेमा प्रधानमन्त्री ओलीले स्पष्टीकरण दिनुपर्ने बताएका थिए। भाजपा विदेश विभाग प्रमुखले अहिलेको प्रचण्ड-नेपाल नेकपाका कुनै नेतालाई नभेटेपछि उनीहरु ओलीसँग झन् आक्रोशित भएका थिए। 

अनि आए गुओ येचौ

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा तीन वर्षमै प्रतिनिधिसभा विघटन गरिदिएपछि नेपालमा बढेको अस्थिरता रोक्न चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आइपुगेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ आइतबार नेपाल आएलगत्तै राजनीतिक भेटघाट गरिरहेका छन्। 
उनले आइतवार साँझ बालुवाटार पुगेर राष्ट्रपति सी जिन पिङको सन्देश सुनाए। राष्ट्रपति सीले चीन नेपालमा राजनीतिक स्थिरताको पक्षमा रहेको सन्देश पठाएका स्रोतले जनाएको छ। 

पश्चिमाको प्रभाव बढ्ने चिन्ता

उनको नेतृत्वमा आएको चार सदस्यीय टोलीले राजनीतिक नेताहरूसँगको भेटमा नेकपा विभाजनले नेपालमा राजनीतिक अस्थिरता बढ्ने र त्यसको असर चीनमा पनि पर्ने बताएका छन्। 

स्रोतका अनुसार नेपालको राजनीतिक अस्थिरतामा युरोपेली र अमेरिकाले खेल्न सक्ने भन्दै चीनले चिन्ता जनाएको हो। सामरिक महत्वको ठाउँमा रहेको  नेपालको राजनीतिक अस्थिरताको फाइदा लिँदै पश्चिमाहरुले एक चीनमाथि प्रहार गर्न सक्ने चिन्ता चीनको छ। 

अमेरिकाको लगातार घेराबन्दीमा परिरहेको चीन कम्तीमा नेपालबाट त्यस्तो गतिविधि नहोस् भन्ने चाहन्छ। नेपालले पनि एक चीन नीतिमा प्रतिवद्धता जनाइरहेको छ। यस्तोमा चीनले नेपालमा राजनीतिक स्थिरता चाहेर सहकार्य खोजेको छ। 

नेता गुओ येचौले आइतवार बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर त्यही चिन्ता जाहेर गरेको स्रोतले बताएको छ। 

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार दुई नेताबीचको संवादमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यबारे कुरा भएको बताए। उक्त भेटमा चिनियाँ नेताले नेपालसँग चीनले जनस्तरको सम्बन्ध विस्तार गरिरहेको बताएका थिए। उनले नेपालमा राजनीतिक स्थिरता भइदिए अझै सहकार्य मजबुत हुने धारणा राखेका थिए। 

नेता गुओ येचौले चीन नेपालमा राजनीतिक स्थिरताको पक्षमा रहेको बताउँदै त्यसका लागि नेकपा फुटेर नभइ जुटेर अघि बढेमा दुवै देशको सम्बन्ध मजबुत बनाउन सहज हुने उल्लेख गरेका थिए।

डा. भट्टराईका अनुसार नेता गुओ येचौले एक चीन नीतिको कुरा पनि निकालेपछि त्यसमा प्रधानमन्त्री ओलीले आश्वस्त पारेका थिए। ‘संवादमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताउनुभयो’, उनले, ‘विगतमा भएका सम्झौता कार्यान्वयन तथा आपसी सहयोग अझ वृद्धि गर्ने पनि कुरा भएको छ।’

प्रचण्ड–माधवसँग पनि भेट 

यसैबीच नेकपा फुटपछि नेपालमा बढिरहेको तनावबीच आएको चिनियाँ टोलीले सोमबार पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पनि भेटेको छ।

प्रचण्डलाई खुमलटार पुगेर भेटेको यो टोलीले नेपालसँग बानेश्वरस्थित एभरेस्ट होटलमा सम्वाद गरेको हो। यी दुई नेतासँगको सम्वादमा पनि चिनियाँ टोलीले मिल्न सक्ने बिन्दु खोजेर अघि बढ्न सुझाएको स्रोतले जनाएको छ।

नेकपा नेताहरूसँगको भेटमा चीनको चासो पश्चिमाको प्रभावतिर पनि रहेको छ। दुवै नेताको सचिवालयले आधिकारिक जानकारी नदिए पनि नेपालको अस्थिरतामा पश्चिमाले खेलेर त्यसको असर आफूलाई पनि पर्ने तर्फ चिनियाँ पक्षले विशेष चासो दिएको स्रोतको दाबी छ। 

  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १४:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया