काठमाडौं : चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले नेपालका सबै राजनीतिक दलसँग चीनको मित्रवत सम्बन्ध रहेको बताएका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश बोकेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उप-विदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौंमा नेकपाका नेतासँग भेटवार्तामा व्यस्त रहेका बेला बेइजिङबाट यस्तो सन्देश आएको हो।
चिनियाँ प्रतिनिधिमण्डलले नेकपाका नेतासँग संवाद गरेर पार्टी एकता कायम गर्न सुझाव दिइरहँदा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति प्रतिबद्ध रहेको जनाएका छन्।
उनले चिनियाँ उप-विदेशमन्त्रीको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउन केन्द्रित रहेको बताएका छन्।
बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता झाओले चिनियाँ प्रतिनिधिमण्डल ‘कोभिड-१९ को रोकथाम तथा नियन्त्रण, सुशासन, विकास र आपसी साझा चासोबारे छलफल गर्न काठमाडौं पुगेको बताएका छन्।
आइतबार काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभाजित नेकपाका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग संवाद गरेर एकता बचाउन भनेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।