सरकारद्वारा प्रतिबन्धित विप्लवसहित चारवटा दलको मोर्चाबन्दी

काठमाडौं : दुई वर्षदेखि सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार दलले मोर्चाबन्दी गरेका छन्। 

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध भूमिगत अवस्थामा रहेको नेकपा विप्लव, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्‍वभक्त दुलाल 'आहुति' नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी भएको हो। 

सरकारविरुद्धको मोर्चाबन्दीका क्रममा चारवटै दलले मंगलबार संयुक्त विज्ञप्ति निकालेका छन्। जसमा उनीहरुले केपी ओली नेतृत्वको सरकारलाई दलाल, फासीबादी र निरंकुश भनेका छन्। 

'केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ', चार दलको विज्ञप्तिमा भनिएको छ। 

यी चार दलले अहिलेलाई एउटा मोर्चाका रुपमा एकै ठाउँ उभिने निर्णय लिएका हुन्। उनीहरूले मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम केही समयपछि घोषणा बताएका छन्। 

विदेशी शक्तिको इसारामा संसद विघटन



यी चार दलले वैदेशिक शक्तिको इशारा र आड भरोसामा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको आरोप पनि लगाएका छन्। ‘दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको हो', उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दुई वर्षदेखि सरकारको प्रतिबन्ध र धरपकड झेलिरहेको विप्लव नेतृत्वको नेकपाले संसद् विघटनपछिको तरल राजनीतिक अवस्थामा अन्य तीन मूलधारका शक्तिसँग मोर्चाबन्दी गरेको हो। यसले उनीहरु एउटै शक्ति भएर अघि बढ्ने आधार खडा गर्न सक्ने विप्लवनिकट एकजना सञ्‍चारकर्मी बताउँछन्। 



  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १२:३६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया