केपी बा चाहिँदैन, केपी प्रवृत्ति सर्वनास हुने दिन आइसक्यो : माधव नेपाल
सूर्य चिन्ह आफ्नै समूहमा रहेको  जिकिर

काठमाडौं : नेकपा (दाहाल-नेपाल) समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार्नै नसकिएको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध राजधानीको प्रदर्शनी मार्गमा गरिएको सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

'प्रतिनिधिसभा विघटनको यो कदम हामीलाई स्वीकार्य छैन, संविधानलाई पनि स्वीकार्य छैन। केपी  शर्मा ओलीले जहिल्यै प्रतिगमनविरुद्धको आन्दोलनलाई अपमान गरे', उनले भने, 'बयलगाडा चढेर वासिङ्टन पुग्‍न सकिँदैन भन्थे, सडकमा सानो नाराले लगाएर गणतन्त्र ल्याउन सकिँदैन भन्थे। ओलीमा गणतन्त्र र परिवर्तनप्रति अपनत्वबोध छैन।'

नेता नेपालले प्रधानमन्त्रीले एकपछि अर्को प्रतिगामी कदम चालेको आरोप लगाए। 'यस्तो बेलामा उहाँले  एकपछि अर्को प्रतिगामी कदम चाल्नु भएको छ। अनुचित कदम चाल्नु भएको छ। त्यहीकारण जनता सडकमा उत्रिएका छन्, कांग्रेस पनि सडकमा छ, जनता समाजवादी पार्टी सडकमा छ। समाजका सबै वर्ग र तप्काहरु सडकमा उत्रिएका छन्', उनले भने, 'ओलीको कदम प्रतिगामी हो, स्वीकार्य छैन। यसले संविधान क्षतविक्षत पार्ने छ। मुलुकले शान्तिको सास फेर्न पाउने छैन।'

नेता नेपालले केपी ओलीलाई पार्टी कमिटीसँग छलफलको मतलब नरहेको पनि टिप्पणी गरे। 'उहाँ स्वेच्छाचारीरुपमा चल्न चाहनुहुन्छ। उहाँमा निरंकुश र गुटबादी छवि हावी भएको छ। कम्युनिष्टमा हुने कुनै गुण उहाँमा छैन', उनले थपे, 'उहाँका सबै कदमलाई हामी अस्वीकार गर्छौं, पार्टी सदस्यबाट हटाएका छैनौँ, हामीले ओलीलाई अन्तिम मौका दिएका छौं। केपी ओलीलाई सुधार्न सकिन्छ कि भनेर केही कमरेड आशा गरेर बस्नु भएको छ। बालुवाटारको बालुवा पेल्दा पेल्दा तेल निस्किन्छ भनेको हो। बाँदरको बांगो पुच्छरलाई सोझो बनाउन तेल लगाएर बसेकै हो तर सकिएन।'

नेपालले ओलीले अझै पश्चताप गर्छन् कि भनेर बसेको उल्लेख गरे। 'भीरमा जाने गोरुलाई राम राम भन्‍न सकिन्छ काँध हाल्न सकिँदैन। सुनामीका संकेतहरु देखिँदैछन्, ज्ञानेन्द्रको होइन केपी वंश र केपी प्रवृत्तिको अब नाश हुनेछ। अब त्यसबाट हामी मुक्त हुनुपर्नेछ। यो लडाइँ एउटा व्यक्तिविरुद्ध होइन, व्यक्तिमा रहेको प्रवृत्तिविरुद्ध हो', उनले भने, 'देशलाई माया गर्ने शक्तिलाई एकतावद्ध भएर जाऊँ भनेका छौं। प्रतिनिधिसभा विघटन गर्ने व्यक्ति प्रधानमन्त्री भन्दै सम्बोधन गरिरहेको छ।

प्रतिनिधिसभा छैन भने त्यो व्यक्ति प्रधानमन्त्री हुन सक्दैन, त्यो काम चलाऊ मात्रै हुन्छ। केपीलाई पद बाँड्ने रहर मन्त्री बनाइदिने, मेयर बाइदिने, राजनीतिक नियुक्ति दिने भनेर फकाउँदैछन्।'



अध्यक्ष नेपालले सूर्य चिन्ह पनि आफ्नै हुने जिकिर गरे। 'नेकपा जहाँ छ सूर्य चिन्ह त्यहीँ  छ बालुवाटारमा छैन। प्रधानमन्त्रीलाई अहिलेको व्यवस्था अनुसार प्रतिनिधिसभा विघटनको अधिकार छैन, केपी ओलीलाई सद्बुद्धि मिलोस्', उनले थपे, 'तत्कालीन राजा ज्ञानेन्द्रमा त्यही प्रवृत्ति थियो। गिरिजाप्रसादबारे मलाई बोलाएर दलाल हो भन्थे, माधवजी तपाईंले नै भूमिका खेल्नुपर्छ भन्थे तर गिरिजालाई बोलाएर कम्युनिष्टहरु खत्तम हुन् भन्थे। कम्युनिष्ट त संसारका तानाशाह हुन् गिरिजा तपाईं त महान् हो भनेँ, अहिले ओलीमा ठ्याक्कै त्यही प्रवृत्ति देखिएको छ।' 



  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १५:५२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया