आफ्नै बोलीले विवादको भुंग्रोमा माधव-झलनाथ
आलोचना भएपछि माधवले माफी नै मागे

काठमाडौं : नेकपा (दाहाल-नेपाल) समूहका दुई नेता आफ्नै बोलीले एकै दिन विवादको भुंग्रोमा परेका छन्। उक्त समूहका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आफ्नै बोलीले विवादको भुमरीमा परेका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि सबैभन्दा आक्रोशितमध्ये दुई नेता नेपाल र खनाल पनि हुन्। ओलीसँग ३० वर्षभन्दा लामो सहकार्य टुटाउँदै पुष्पकमल दाहाल प्रचण्डको सहयात्री बनेका यी दुई नेताले बुधबार फरक फरक मञ्‍चमा दिएका अभिव्यक्तिले विवाद जन्माएको हो। 

खनालको त्यो बोली 

दाहाल-नेपाल समूहले मंगलबार राजधानीको प्रदर्शनी मार्गमा गरेको विरोध कार्यक्रममा बोल्ने क्रममा वरिष्ठ  नेता खनालले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखे। उनले ओलीलाई व्यक्तिवादी मात्रै भनेनन्, यो सरकारले कामै नगरी तीन वर्ष बिताएको पनि आरोप लगाए । 

खनालले कार्यक्रममा सम्बोधन गर्दा प्रधानमन्त्री ओलीको निरन्तर विरोध गरिरहे । उनले विरोधका क्रममा एउटा अनौठो कुरा निकाले। जहाँ ओलीको विरोध गर्ने क्रममा ओली सरकारको पालामा पुनर्निर्माण गरिएका धरहरा र रानीपोखरीको प्रसंग निकाले।

उनले धरहरा र रानीपोखरी ओलीले बनाउँदै नबनाएको तर्क गरे। त्यो त कालिगड, इन्जिनियर, डकर्मी र सिकर्मीहरूले बनाएको तर्क उनले राखे। ‘धरहरा केपी ओलीले बनाएको हो?,’झलनाथले भाषणको क्रममा भने, ‘होइन, कालिगडले बनाएको हो, इन्जिनियरले बनाएको हो, डकर्मी र सिकर्मीहरूले बनाएको हो। यो केपी ओलीको पालामा बनेको हो, तर केपी ओलीले बनाएको त होइन नि।’



खनालले भाषण गरेको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यस्तो हाँसो लाग्दो भाषण गरेपछि उनीमाथि व्यंग्य गर्ने वा उडाउनेहरू उत्तिकै देखिएका छन्। 

उनको भाषणलाई लिएर एकजना पत्रकार मोहन बाँस्तोलाले कटाक्ष गरेका छन्। 'कमरेडको हिजोको भाषण : रानीपोखरी, धरहरा कसले बनायो? कालिगडले। प्रतिनिधिसभा विघटन कसले गर्यो? केपी ओलीले', बाँस्तोलाले कटाक्ष गर्दै भनेका छन्, 'कमरेडले १ नम्बरको जस्तै तर्क गर्ने हो भने संसद् विघटन कम्प्युटर अपरेटरले भन्‍नुपर्ने हो । केपी ओलीले टाइप गर्नु भएकै होइन, कम्प्युटर अपरेटरले हो।'



अनेरास्ववियुका पूर्व नेता तथा एकजना व्यवसायी किरण देउजाले पनि खनालमाथि कटाक्ष गरेका छन्। उनले नेता खनालले त्यो भाषण आफ्नो होइन भन्‍न बाँकी रहेको भन्दै व्यंग्य गरेका छन्। देउजाले कटाक्ष गर्दै भनेका छन्, 'खनाल सरले 'मैले भाषण गरेकै होइन, मेरो मुखले के-के पो बोल्यो? भन्‍न बेर छैन।'

खनालको भाषणलाई लिएर एकजना पत्रकार भुवन केसीले पनि व्यंग्य गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रेस विज्ञका रुपमा काम गरिसकेका केसीले रानीपोखरी र धरहराबारे खनालले 'झल्लु प्रवृत्ति' देखाएको भन्दै कटाक्ष गरे। 'रानीपोखरी र धरहराबारे बुढाले 'झल्लु' प्रवृत्ति देखाए', उनले भनेका छन्। 

माधव पनि विवादमा 

मंगलबारै प्रदर्शनी मार्गको विरोधसभालाई अध्यक्ष नेपालले पनि सम्बोधन गरे। उनले त्यसक्रममा बरु बालुवाटारको बालुवाबाट तेल निस्केला तर ओलीलाई सुधार्न नसकिने भन्दै कटाक्ष गरे। सम्बोधनको अधिकांश समय करिब ३ दशक लामो सहकार्यपछि छुट्टिएका ओलीमाथि आक्रोश पोख्‍नमै उनले खर्चिए। 

त्यसपछि उनी पुगेका थिए पत्रकार ऋषि धमलासँग अन्तरवार्ताका लागि प्राइम टाइम टेलिभिजनमा। जहाँ उनले ओलीमाथि नै कटाक्ष गर्ने क्रममा नेपाली समाजमा प्रयोग हुने एउटा उखान बोल्न पुगे। 

धमलासँगको अन्तरवार्ताका क्रममा नेपालले ओलीमाथि आक्रोश पोख्दै एउटा उत्पीडित तथा दलित जातिसम्बन्धी उखान बोलेका थिए। उनले ओलीले अहिले 'मै मरे डुमै राजा' जस्तै प्रवृत्ति देखाएको टिप्पणी गरेका थिए।

उनको यो टिप्पणीलाई लिएर दलित तथा उत्पीडित समुदायलाई होच्याएको भन्दै चर्को आलोचना भइरहेको छ। नेकपाकै कार्यकर्ता र अन्य सर्वसाधारणले पनि उक्त उखान बोलेर नेपालले दलित समुदायप्रति आफ्नो धारणा प्रकट गरेको भन्दै विरोध जनाएका छन्। 

अनेरास्ववियु म्याग्दीका संयोजक सुवास विश्‍वकर्माले नेपालले उक्त अभिव्यक्ति दिएर उत्पीडित समुदायप्रति उनको अन्तरमनमा रहेको धारणा ओकलेको भन्दै आपत्ति जनाएका छन्। 

'नेपालको उत्पीडित समुदायप्रति अन्तरमनमा माधव नेपालले बोकेको धारणा 'जनता जान्‍न चाहन्छन्' कार्यक्रममा प्रकट गरेका छन्', उनले भनेका छन्, 'माधव नेपालको यो अभिव्यक्तिप्रति घोर निन्दा व्यक्त गर्दै यस्तो विचार बोकेको मानिसलाई समाजले बहिस्कार गर्न माग गर्दछु।'

सामाजिक सञ्‍जालमा अन्य प्रयोगकर्ताले पनि प्रचण्ड समूहमा लागेपछि नेता खनाल र नेपालले होस गुमाएको भन्दै सम्हालिएर बोल्न आग्रह गरेका छन्। उनीहरुले नेताहरुमा देखिएको हतास मनस्थितिको परिणामस्वरुप यस्ता भनाइ निस्किन थालेको जिकिर गरेका छन्। 

माफी नै मागे 

दलित तथा उत्पीडित समुदायप्रति लक्षित गर्दै आफूले टेलिभिजन अन्तर्वार्तामा बोलेको कुरालाई लिएर चर्को आलोचना भएपछि अध्यक्ष नेपालले माफी नै मागेका छन्। उनले सामाजिक सञ्‍जालमा आफ्नो धारणा सार्वजनिक गर्दै आफ्नो उक्त टिप्पणीले दलित तथा उत्पीडित समुदायको अपमान भएको ठहरसहित माफी मागेका हुन्। 

हिजो पौष १४ गते एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा ब्यक्तिमा रहेको ब्यक्तिवादी प्रवृत्तीको चर्चा गर्ने क्रममा नेपाली...

Posted by माधव कुमार नेपाल - Madhav Kumar Nepal on Tuesday, December 29, 2020

'हिजो पुस १४ गते एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा व्यक्तिमा रहेको व्यक्तिवादी प्रवृत्तिको चर्चा गर्ने क्रममा नेपाली समाजमा प्रचलित एउटा उखान प्रयोग गर्दा असावधानीवश दलित समुदाय लक्षित एउटा शब्द प्रयोग भएकोमा क्षमा याचना गर्दछु', नेता नेपालले अगाडि भनेका छन्, 'मैले आफ्नो सिंगो जीवन नै जातीय विभेदको अन्त्य र समानताका पक्षमा लगाएको कुरा स्मरण गर्दै त्यसप्रतिको अविचलित प्रतिवद्धता समेत ब्यक्त गर्दछु।'

सुरेन्द्रको त्यो भाषण

दाहाल-नेपाल समूहकै अर्का नेता सुरेन्द्र पाण्डेको भाषण पनि कम विवादित थिएन। उनले हिजो मात्रै पोखरामा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले २० महिनामा मर्छु भनेर पार्टी एकता गरेको जिकिर गरे। 

पार्टी एकताको टुंगो नभएको अवस्थामा ओलीले प्रचण्डलाई भेटेर आफू १८-२० महिनामै मर्ने बताएको पाण्डेले भाषणका क्रममा दाबी गरेका हुन्। 

‘मलाई त डाक्टरले १८ महिनादेखि २० महिनामा मर्छ भनेको छ, म मर्ने नै हो, बाँच्ने नै होइन’, ओलीको भनाइ उदृत गर्दै पाण्डेले भाषणका क्रममा भने, ‘हदै भए २२ महिना बाँचौंला, पार्टी कसलाई जिम्मा लाउने भनेर छटपटाएको बेला तपाईँजस्तो नेता पाएँ, अब बल्ल ढुक्क भएँ।’

पाण्डेको यो भनाइलाई लिएर मन्त्री बन्‍न नपाएको झो‌ंक फेरेको आरोप उनीमाथि लगाइएको छ। यद्यपि प्रचण्डमाथि पनि ओलीको निधन भइजाने ठानेर पार्टी एकता गरेको तर ओली दायाँ बायाँ नभएकाले छटपटाएको आरोप लाग्‍ने गरेको छ। 

कोमल पनि विवादमा परेकी थिइन्

यसअघि दलित समुदायलाई उखान टुक्कामार्फत होच्याएको भन्दै चर्को आलोचना भएपछि राष्ट्रिय सभाकी सदस्य कोमल वलीले यसअघि संसदमै माफी मागेकी थिइन्। २०७६ फागुन १८ गते एक टेलिभिजन कार्यक्रममा उनले दलित समुदायको आत्मसम्मानमा चोट पुग्‍ने गरी अभिव्यक्ति दिएपछि चर्को आलोचना भएको थियो। 

संसदमा समेत विरोध भएपछि ओलीले माफी मागेकी थिइन्। टेलिभिजन कार्यक्रममा सांसद ओलीले 'आफु मरे डुमै राजा' भन्‍ने गलत र विभेदपूर्ण उखान प्रयोग गरेकी पछि आलोचनामा परेकी थिइन्। नेपालको संविधान र कानुन विपरीतको शब्दावली प्रयोग भएपछि आलोचना भएको थियो। 

'टेलिभिजन कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउने गरी प्रयोग गरेकी थिइनँ, त्यो मेरो कुनै पूर्व योजना पनि थिएन', उनले भनेकी थिइन्, 'अचानक उक्त शब्द मेरो मुखबाट निस्क्यो जसको परिणामबारे म स्वयम् अनभिज्ञ थिएँ। मैले प्रयोग गरेको उक्त शब्दले कसैलाई पर्न गएको चोटप्रति क्षमा याचना गर्दछु।'

  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार २०:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया