भीम रावल पक्षले नेकपा सुदूरपश्चिमको खाताबाट ३० लाख गायब गरेको आरोप

केन्द्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैंक खाता रोक्का गर्न आग्रह गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बैंकहरूमा पत्राचार गरेका छन् । तर, सुदूरपश्चिम प्रदेशमा भने प्रचण्ड–माधव पक्षले नै बैंकमा रहेको ३० लाख रुपैयाँ गायब गरेको आरोप लागेको छ ।

पार्टी एकतापछि नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा, प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैँकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख झिकिएको आरोप लगाइएको छ ।

‘नेकपालाई विभाजन गर्न १९ पृष्ठको लिखत तयार पार्न मुख्य भूमिका खेलेका रावललाई पार्टी विभाजन किन चाहिएको रहेछ भन्ने कुरा सुदूरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख गायब पारेपछि स्पष्ट भएको छ ।’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

पार्टीको बैंक खाता अध्यक्षको हैसियतले आफ्नो, कार्यालय सचिव दिनेशचन्द्र सुवेदी र सचिव नेपबहादुर चौधरीको नाममा रहेको बताउँदै उनले पार्टी फुटको तहमा पुगेपछि सुवेदी र चौधरीलाई पार्टी सम्पत्ति साझा भएको र बैंकबाट पैसा निकाल्नका लागि हस्ताक्षरको दुरुपयोग नगर्नु भनेको जानकारी दिए । 

उनले भीम रावलको ठाडो निर्देशनमा पार्टीको सम्पत्ति एकलौटी रूपमा अध्यक्षलाई कुनै जानकारी नदिई झिकिएको ठोकुवा गरे ।

‘पार्टीको सम्पत्ति नासमास गर्न कसैले पनि पाउँदैन,’ थापाले भने, ‘यो निकै आपराधिक काम भएको  छ । मैले पार्टी विभाजनको अवस्थामा पुगेपछि बैंकका म्यानेजरलाई समेत यस्तो परिस्थितिमा निकासा नदिन अनुरोध गरेको थिएँ । तर, अहिले बुझ्दा प्रदेश सचिव चौधरी र कार्यालय सचिव सुवेदीले हस्ताक्षर गरेर खातामा रहेको ३३ मध्ये ३० लाख त्यहाँबाट गायब पारिएको छ ।’ 



नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले भने पार्टी अध्यक्ष, सचिव र कार्यालय सचिवको नामबाट खाता सञ्चालन भएकाले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे । नेकपा विभाजन भएपछि सुदूरपश्चिममा पार्टी कार्यालय लगायत जिल्लाका कार्यालयमा केही दिन दुई पक्ष बीच तालाबन्दीको होडबाजी नै चलेको थियो । अहिले पार्टी कार्यालयमा प्रहरीले सुरक्षाको पहरा दिइरहेको छ ।



  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १७:२६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया