संसद् विघटन अग्रगामी कदम, दाहाल-नेपाल नेकपाबाट चोइटिएर गए : बादल
प्रतिगामीको योजनामा नेकपा फुटाइएको आरोप

काठमाडौं : नेकपा ओली समूहमा नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधिसभा विघटनको निर्णय अग्रगामी भएको बताएका छन्। लगनखेलमा शुक्रबार आयोजित ललितपुर महानगरस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। 

'नेकपा विभाजित भएको छ। एउटा हिस्सा अलग भएको छ। विकास र समृद्धिको यात्रा अवरुद्ध भएको छ। फेरि राजनीतिक अस्थिरता सिर्जना हुने अवस्था छ', उनले भने, 'यहाँसम्म आइपुग्दा फेरि वैदेशिक हस्तक्षेप बढ्दै गएको छ। हामीले फेरि कम्युनिष्ट आन्दोलनलाई कसरी एकतावद्ध गर्ने? भन्‍नेतर्फ केन्द्रित हुनु जरुरी भएको छ।'

बादलले नेकपा फुटाउन प्रतिगामी शक्तिहरुले तीनवटा रणनीति तयार पारेको उनले खुलाए। 'नेकपालाई कसरी विभाजित गर्ने? यो रणनीति उनीहरुले तयार पारे। स्थिर सरकार र स्थायित्व प्राप्त गरेदेखि मुलुकमा अस्थिरता पैदा गर्ने रणनीतिमा लागिरहे', उनले भने, 'प्रतिगमन र प्रतिक्रान्तिलाई सफल बनाउने रणनीतिमा उनीहरु छन्। नेकपाभित्रका अन्तरविरोध र असन्तुष्टिलाई सुक्ष्म अध्ययन गरेको देखिन्छ।'

बादलले नेकपा फुटको कारण तीनजना नेताहरुको पदको आशक्ति रहेको उल्लेख गरे। 'नेकपाभित्र राष्ट्रपति हुन चाहने प्रवृत्ति छन्, राष्ट्रपति हुन नपाएकोमा तीव्र असन्तुष्टि भएको कुरा पत्ता लगाए। पार्टी अध्यक्ष हुन आकांक्षा राख्‍न पात्र रहेको पनि प्रतिगामीहरुले पात्र पत्ता लगाए', उनले थपे, 'पार्टीमा प्रधानमन्त्री र मन्त्री हुने पात्र र प्रवृत्ति रहेको पनि पत्ता लगाए। पदहरु नपाएको असन्तुष्टि रहेको उनीहरुले पत्ता लगाए।'

पद नपाएका तीन नेताहरु (पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपाल) को असन्तुष्टि वैशाखदेखि असोजसम्म आउँदा अतिमा पुगेको उनले बताए। 'उनीहरुको त्यो प्रवृत्ति र १९ पेजको आरोपपत्रमा बदलियो', उनले अगाडि भने, 'नेकपाको अध्यक्षले त्यो पद त्याग्‍नुपर्छ भन्‍ने उनीहरुको निष्कर्ष छ। नेकपाको सरकार र प्रधानमन्त्रीले पद त्याग्‍नुपर्छ भनिरहे। स्वेच्छाले पद नत्यागे संसदबाट कारवाही गरिन्छ भनेर धम्की पनि दिए।'

बादलले नेकपालाई बचाउन धेरै प्रयासहरु भए पनि असफल भएको बताए। 'पार्टी बचाउन खोज्दा खोज्दै एक थरी कमरेडहरु र एउटा गुट पार्टीबाट अलग भएको छ', उनले भने, 'प्रचण्ड नेतृत्वको गुटले बैधानिकता पाएको छैन। तर फुटेर गएकाले प्रधानमन्त्री केपी ओलीलाई पार्टी अध्यक्षबाट कारवाही गरेर अध्यक्ष हुने आकांक्षा पूरा गरे।'



नयाँ प्रधानमन्त्रीको उम्मेदवारसहित ओलीविरुद्ध अविश्‍वास प्रस्ताव संसदमा दर्ता गरे पनि त्यो सफल नभएको उनले बताए। 'पार्टीभित्रका अवसरवादीहरुको आकांक्षामा टेकेर नेकपा विभाजित गरियो। देशमा एउटा राजनीतिक अस्थिरता ल्याउन सफल भए। नेकपाका सांसदहरुलाई विभाजित गरेर संसदलाई अस्थिरताको साधन बनाउन खोजे', उनले थपे, 'प्रतिगमन र प्रतिक्रान्तिका लागि पूर्वाधार बनाए'

उनले अब संसद पुनर्स्थापनको अर्थ नरहेको पनि प्रष्ट्याए। 'पुरानो संसद स्थायित्वको साधन हुन सक्दैन। नयाँ संसदको स्थापना नयाँ मार्गचित्र हुन्छ', उनले अन्त्यमा भने, 'नयाँ संसदबाट स्थायित्व प्राप्त गर्न सकिन्छ। अब देशलाई त्यतै लानुपर्छ। संसद विघटनको कदम कस्तो हो भन्‍ने बहस छ तर यो अग्रगामी कदम हो, यसले देशमा ठूलो राजनीतिक अर्थ राख्छ।' 



  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १५:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया