[सन् २०२० मा विश्व खेलकुद] कोरोना महामारीबीच अन्योलमै बित्यो वर्ष

कोरोना महामारीका कारण सन् २०२० धेरैका लागि असहज बन्न पुग्यो । विश्व खेलकुद पनि यसबाट अछुतो रहेन । कोरोनाका कारण थला परेको खेलकुदको क्षेत्र विस्तारै माथि उठ्ने प्रयासमा छ । सन् २०२० निराशाको वर्ष रहे पनि यो वर्ष विश्व खेलकुदका केही घटनाले भने राम्रै चर्चा पाए ।

यो साल तय भएका ओलम्पिक, युरोकप, विम्बल्डन टेनिसजस्ता ठूला प्रतियोगिता हुन सकेनन् भने सञ्चालनमा आएका प्रतियोगिता पनि बन्द रंगशालाभित्र भए ।

फुटबल

लिभरपुल ३० वर्षपछि लिग च्याम्पियन

यो वर्ष इङ्लिस क्लब लिभरपुलले ३० वर्षपछि घरेलु प्रतियोगिताको उपाधि हात पार्‍यो । उसले सन् १९९० पछि पहिलोपटक लिग जितेको हो । 

बायर्न म्युनिखलाई ट्रिबल उपाधि



जर्मन क्लब बायर्न म्युनिखले यो वर्ष ट्रिबल (बुन्डेस लिगा, जर्मन सुपर कप र च्याम्पियन्स) लिगको उपाधि हात पार्‍यो । 

बार्सिलोनामाथि बायर्नको ८–२ को जित



च्याम्पियन्स लिग अन्तर्गत क्वार्टफाइनलमा बायर्नले बार्सिलोनामाथि ८–२ को फराकिलो जित दर्ता गरेको थियो । यसले पनि विश्व फुटबलमा राम्रै चर्चा पायो । 

मेसीले बार्सिलोना छाड्ने चर्चा

यो वर्ष अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले बार्सिलोना छाड्ने हल्लाले पनि विश्व फुटबलमा ठूलै तहल्का पिट्यो । क्लबको प्रदर्शनबाट निरास बनेका मेसीले क्लब छाड्ने चाहना राखेका थिए । उनलाई भित्र्याउन म्यानचेस्टर सिटी, इन्टर मिलान पेरिस सेन्ट जर्मन जस्ता ठूला क्लबहरूले चासो देखाए पनि अन्त्यमा मेसीले बार्सिलोनामै रहने निर्णय गरे । 

पेलेको कीर्तिमान भङ्ग

बार्सिलोनाका लियोनल मेसीले ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान भङ्ग गरे । उनले एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा गराएका हुन् ।
मेसीले ला लिगा अन्तर्गत रियल भालाडोलिडविरुद्ध १ गोल गर्दै बार्सिलोनाका लागि आफ्नो गोल संख्या ६४४ पुर्‍याएका छन् । पेलेले ब्राजिलियन क्लब सान्तोषका लागि ६४३ गोल गरेका थिए ।

लेवान्डोस्कीलाई फिफा वर्ष खेलाडीको अवार्ड

यो वर्षको फिफा वर्ष खेलाडीको अवार्ड जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले हात पारे । उनले क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पारेका हुन् । 

बालुन डि’ ओर स्थगित

विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालुन डि’ ओर यो वर्ष कसैलाई पनि प्रदान गरिएन । सन् १९५६ देखि प्रदान गरिन थालिएको यो अवार्ड कोरोना भाइरका कारण पहिलोपटक स्थगित गरिएको हो ।

डिएगो म्याराडोनाको निधन

नोभेम्बर २५ का दिन फुटबलका समर्थकले एउटा नराम्रो समाचार सुन्नु पर्‍यो । यो दिन विश्व फुटबलले महानहस्ती डिएगो म्याराडोनालाई गुमाउनु पर्‍यो । उनले हृदयघातका कारण ६० वर्षको उमेरमा धर्ती छाडेका थिए । म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 
यी बाहेक नेइमार, क्रिस्टियानो रोनाल्डो, मोहम्मद सलाह जस्ता चर्चित खेलाडीलाई कोरोना संक्रमण भएको समाचारले पनि राम्रै चर्चा पायो । 

क्रिकेट
अस्ट्रेलियालाई पाँचौ पटक महिला  टि–२० विश्वकपको उपाधि

यो वर्षको सुरुवातमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई ८५ रनले पराजित गर्दै पाँचौंपटक महिला टि–२० विश्वकपका उपाधि जितेको थियो । मार्च ८ का दिन भएको फाइनल खेल हेर्न ८६ हजार दर्शकको उपस्थिति थियो । यो सन् २०२० सर्वाधिक दर्शक उपस्थित भएको खेल हो ।

पुरुष टि–२० विश्वकप स्थगित

यो वर्षको अक्टोबरमा अस्ट्रेलियामा हुने तय भएको पुरुष टि–२० विश्वकप सन् २०२१ का लागि सरेको छ । 

आइपिएल युएइमा आयोजना

विश्वकै चर्चित फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) कोरोना कहरका कारण करिब पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना गरियो । बन्द रंगशालाभित्र सञ्चालन गरिएको लिग मुम्बई इन्डियन्सले आफ्नो पोल्टामा पार्‍यो । उसले फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको थियो । 

भारत ३६ रनमै अल आउट

अस्ट्रेलिया विरुद्धको दोस्रो टेस्टको दोस्रो पारीमा भारत ३६ रनमा नै अल आउट भएको थियो । यो भारतको १९७४ यताकै सबैभन्दा कम स्कोर हो । त्यतिबेला इङ्ल्यान्डमा विरुद्धको खेलमा भारत ४२ रनमा अलआउट भएको थियो ।

भारतलाई सस्तैमा समेट्न जोस हेजलउडले ५ तथा प्याट कमिंसले ४ विकेट हात पारे ।

माइक टाइसन १५ वर्षपछि रिङ्गमा

बक्सिङ्गका विश्व विजेता माइक टाइसन यसै साल १५ वर्षपछि रिङ्गमा फर्किए । उनले नोभेम्बर २९ का दिन एक च्यारिटी खेलमा रोय जोन्ससँग प्रतिस्पर्धा गरेका थिए । 

नोभाक जोकोभिच अयोग्य घोषित

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई युएस ओपन टेनिसमा अयोग्य घोषित गरिएको थियो । 

प्रगियोगिताको चौथो चरणमा सर्भिस मिस भएपछि रिसाएर बल प्रहार गर्दा लाइन जजको घाँटीमा लाग्यो जसका कारण जोकोभिचलाई अयोग्य ठहर गर्दै प्रतियोगिताबाट निष्काशन गरियो ।

डोमिनिक थिएमले युएस ओपन जित्दै यो प्रतियोगिता जित्ने पहिलो अस्ट्रियन खेलाडी बने ।

कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा मृत्यु

सन् २०२० को सुरुवातमै खेलप्रमीहरूले दुखद् समाचार सुन्नु पर्‍यो । जनवरी २६ मा चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएको खबर विश्वभर फैलियो ।

रंगभेदविरुद्ध विश्व खेलकुद एक जुट

मे २५ का दिन एक गोरा जातिका प्रहरीको ज्यादतीका कारण काला जातिका जर्ज फ्योडको निधन भएपछि यसको विरुद्धमा विश्वभर विरोध भयो । अभियानका रूपमा अगाडि बढेको आन्दोलनलाई विश्व खेलकुदले पनि खुलेरै समर्थन गर्‍यो । 

हरेक खेल अगाडि घुँडा टेकेर आन्दोलनको समर्थन गरियो । क्लबहरूले आफ्नो जर्सीमा ‘ब्ल्याक लाइफ इज मेटर’ भन्ने जस्ता नारा प्रयोग गरे ।

  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १६:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया