नेकपा फुट्दा मेरो मुटु चिरिए जस्तो भएको छ : दीनानाथ शर्मा
पार्टी मिलाउन वामदेवले रसायनको काम गर्ने अपेक्षा

काठमाडौं : राष्ट्रियसभाको सातौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ। आज बसेको बैठकलाई सुरुमा सम्बोधन गर्दै नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले  नेकपा फुट्दा आफूलाई ठूलो पीडा भएको बताएका छन्। 

'नेकपा फुट्दा मेरो मुटु चिरिए जस्तो भयो, मलाई ठूलो पीडा भएको छ। यति ठूलो दु:ख मलाई पहिलो पटक भएको छ', उनले  भने, 'नेता कार्यकर्ता कसैले पनि पार्टी विभाजन राम्रो भनेका छैनन्। अझै पनि हामी एक ठाउँमा हुन सक्ने सम्भावना छन् भने पार्टी जोडौँ। जोडिन सक्ने रसायन छन् भने पार्टी जोडौँ।'

शर्माले पार्टी एकताका लागि वामदेव गौतमले रसायनको काम गर्नुपर्नेमा जोड दिए। 'वामदेव गौतम यहीँ उपस्थित हुनुहुन्छ। उहाँले रसायनको काम गर्छु भन्‍नुभएको छ, त्यसमा उहाँ सफल हुनुपर्छ', उनले भने, 'यो पार्टी विभाजन कुनै सिद्धान्त, विचार र दर्शनको आधारमा भएको होइन। केबल राजनीतिक कारणले मात्रै पार्टी विभाजन भएको छ।'

नेता शर्माले यसअघि पार्टी वैचारिक र सैद्धान्तिक कारणले फुटे पनि पहिलो पटक नेताहरुको स्वार्थका कारण विभाजित भएको बताए। 'पहिले पहिले वैचारिक र सैद्धान्तिक कारणले पार्टी फुटेको थियो तर पहिलो पटक राजनीतिक कारणले पार्टी फुट्यो', उनले भने, 'राजनीति राष्ट्र र जनताको हितमा हुनुपर्छ, स्वार्थको राजनीतिले देशलाई बर्बाद बनाउँछ।'

नेकपाको विवादका कारण प्रतिनिधिसभा भंग भएकोमा उनले दु:ख व्यक्त गरे। 'नेकपाको विवादका कारणले प्रतिनिधिसभा विघटन भएको छ, त्यस्तो हुनुपर्ने थिएन', उनले  भने, 'यद्यपि यसबारेमा विवाद र बहस जारी छ। अब राष्ट्रियसभाले मर्यादितरुपमा सरकारलाई खबरदारी गर्ने भूमिकामा खरो उत्रिनुपर्छ।' 
 





  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १६:३४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया