‘सबै पक्षको प्रतिनिधित्व हुने राजनीतिक प्रणाली आवश्यक’
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजतन्त्रको पुनःस्थापना  गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताएका छन् । 

शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालमा गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षताको पुनरावलोकन गर्दै राजतन्त्र पुनःस्थापना तथा देशलाई धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र कायम गरिनुपर्ने बताएका हुन् । 

प्रतिनिधि सभा विघटन हुनुमा वर्तमान सरकार, कुनै राजनीतिक दल तथा नेता मात्र नभई १४ वर्षअघि सुरु गरिएको गणतन्त्रको बाटो र बिचार नै दोषी भएको पनि उनले बताए । 

गणतन्त्रको विकल्प खोज्दै राजादेखि विद्रोही विप्लवसम्म र कांग्रेसदेखि कम्युनिष्ट, मधेसवादी सबैको प्रतिनिधित्व हुने राजनीतिक प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।

देश इतिहासकै सर्वाधिक कठिन र संकटपूर्ण घडीमा पुगेको भन्दै अध्यक्ष थापाले यस्तो बेलामा राजनीतिक दल र नेतृत्वले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्न नसके राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता तथा राष्ट्रिय अखण्डता संकटमा पर्ने बताए । 

नेताहरुले जिम्मेवारी निर्वाह गर्न नसके आगामी दिनमा परिस्थिति राजनीतिक दल र नेताहरुको नियन्त्रण बाहिर जानसक्ने प्रारम्भिक संकेत देखिइसकेको पनि अध्यक्ष थापाले बताए । 



नयाँ नेपाल बनाउने नाममा हिन्दू राष्ट्रलाई समाप्त पारेको, राजतन्त्र पाखा लगाएको तथा संघीयताको नाममा जातजातिलाई विभाजन गरेपछि देश दिशाहीन भएको उनले बताए । 

देश अभिभावकविहीन बन्दा विदेशीको चलखेल बढेको र नेपालको स्वाभिमान तथा सार्वभौमिकतामाथि प्रहार भएको उनको तर्क छ । 



लोकतन्त्रका नाममा लुटतन्त्र मच्चिएको तथा केही राजनीतिक दल र नेताहरुले सर्वसत्तावादी शासन गर्न लागेको अध्यक्ष थापाले बताए ।

  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १७:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया