सुदूरपश्चिमलाई केपी ओलीले मन्त्री दिएका होइनन्, किनेका हुन् : भीम रावल
सुदूरपश्चिम प्रदेशस्तरीय बैठकमा धारण राख्दै नेता रावल । तस्बिर : कैलाश जोशी/फरकधार ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा आफ्नो पक्षमा नेता कार्यकर्ता तान्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू किनेको आरोप लगाएका छन् । ‘सुदूरपश्चिममा चारवटा मन्त्री दिएर प्रचार गरेका छन्’, प्रदेशस्तरीय बैठकमा बोल्दै उनले भने, ‘मन्त्रालय दिएको होइन । किनेका हुन् ।’

यसअघि नेकपा दुईवटा समूह नहुँदा प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमलाई एक मन्त्रालय दिन पनि कति मिहिनेत गर्नु परेको थियो त्यो कुरा ताजै रहेको उनले बताए । ‘यदि केपी शर्मा ओलीले साँच्चिकै सुदूरपश्चिमको विकास चाहेका भए । प्रतिनिधि सभामा डडेल्धुरा, कैलाली निर्वाचन क्षेत्र १ बाहेक सबै र प्रदेश सभामा दुई तिहाइ ल्याउँदा पनि एक मन्त्री दिन कति कञ्जुस्याइँ गरे त्यो सबैलाई थाहै छ ।’ यी सबै कारणले गर्दा केपी ओलीको सुदूरपश्चिम हेर्ने धारणा स्पष्ट भएको उनले दाबी गरे ।

नेता रावलले सांसद नभएका व्यक्तिहरूलाई मन्त्रिपरिषद्मा ल्याएर ओलीले हास्यास्पद काम गरेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिएको भन्ने आरोप बारे स्पष्ट पार्दै भने, ‘हामीले घेराबन्दी पनि गरेका छैनौं । हामीले उहाँको कार्यमा बाधा सिर्जना पनि गरेका छैन । तर, एउटा कुरा निश्चित गरेका छौं, राष्ट्रियता कुल्चिने, जनविरोधी कार्यक्रम ल्याउने, कम्युनिस्ट पार्टी विरुद्धको कार्यक्रम भने रोक्न खोजिएकै हो । अब त्यो रोक्न खोजेपछि पार्टी नै भंग गरे । हामीले त्यस्तो प्रधानमन्त्रीलाई के भन्नुपर्ला ?’

नेता रावलले सुदूरपश्चिम प्रदेश समितिको बैंक खातामा रहेको रकम झिकेको स्वीकार गरे । उनले भने, ‘हाम्रो प्रदेश समिति सचिव र कार्यालय सचिवले पार्टीको काम विशेषले, हाम्रो आवश्यकताले रकम अर्को ठाउँमा पठाएको हो, केही रकम हाम्रो काममा खर्च भयो । तर, प्रदेश अध्यक्षको धम्कीले कोही पनि तर्सिनेवाला छैन ।’





  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १८:१२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया