डिजाइनमै गुज्रिए पत्रेखोला पुलका सात वर्ष

पत्रेखोला पुल निर्माणका काम आर्थिक वर्ष ०७१/७२ देखि सुरु भएको हो । पुल निर्माणका लागि निर्माण कम्पनीले जमिनमुनिको काम पायल फाउन्डेसन सिद्ध्याइसकेको छ । निर्माण सुरु भएको दुई वर्षभित्र अर्थात् २०७४ सालमा काम सकिसक्नुपर्ने भए पनि जमिन कस्तो बनाउने भन्ने डिजाइन ०७७ सालमा आएर मात्रै पुलले पाउन सकेको छ । डिजाइन बन्नै करिब सात वर्ष लाग्यो ।

यसअघि तीनवटा डिजाइन बने पनि ती काम लागेनन् । बल्ल पुल निर्माणको काम सुरु भएको छ । यो वर्ष सक्ने योजना रहेको कम्पनीले जनायो ।

शंकरमाली निर्माण कम्पनीका अनुसार डिजाइन प्राप्त हुन नसक्दा समयमा काम भएन । कम्पनीका प्रतिनिधि पदमराज शर्माले भने, ‘पुल निर्माणका लागि पायल फाउन्डेसनको काम भइसकेको थियो । जो पुल निर्माणको आधा काम हो । तर, जमिन माथिको ब्रिज कस्तो बनाउने भन्ने निर्णय कार्यालयले दिन सकेन । पुल निर्माणका लागि तीन पटक डिजाइन बनाउँदासम्म पनि पास नहुँदा पुल निर्माण रोकिएको हो ।’

अहिले पुरानै डिजाइन अनुसार प्रिस्टेज प्रविधिको बन्ने निश्चित भएको छ । पुल निर्माणको डिजाइन स्वीकृत भएसँगै काम तिव्रताका साथ सुरु भएको छ । आउँदो असार मसान्तसम्ममा काम सक्ने गरी अगाडि बढेको शर्माको भनाइ छ । उनले थपे, ‘पुल निर्माणको काम कम्पनीले होइन, कार्यालयको लापरबाहीले रोकिएको हो । अहिले सबै अप्ठेराहरू कार्यालयले सुल्झासकेकाले पुल निर्माण चाँडै हुन्छ ।’

पहिला डिजाइनमा पुलको उचाइ साढे तीन मिटर थियो भने नयाँ डिजाइन अनुसार दुईमिटर ७५ सेन्टिमिटर कायम गरिएको शर्माले जानकारी दिए । प्लास्टिक बेरिङको ठाउँमा स्लास्टोमिट बेरिङ राखिएको छ । जुन नेपालमा नयाँ प्रविधिको पुल भन्ने गरिन्छ ।

‘अब रोकिँदैन’



डिजाइनका कारण पत्रेखोला पुल निर्माण झण्डै सातवर्षसम्म अलमलमा परेकाले अब पुल निर्माणले पूर्णता पाउने सडक डिभिजन दाङको भनाइ छ । कार्यालय, निर्माण कम्पनी, विभाग, मन्त्रालय कागजी प्रक्रियाका कारण पुलले ‘फिक्स’ डिजाइन पाउन नसक्दा पुल निर्माण अलपत्र परेको थियो । अब असार मसान्त सम्ममा यसले पूर्णता पाउने डिभिजन प्रमुख निरज शाक्यले बताए । उनले भने, ‘अब पुलमा कुनै अवरोध छैन । डिजाइन स्वीकृत भइसकेको छ । अब छिट्टै बन्छ ।’

स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारको आवश्यक पहलमा पुल निर्माणमा देखिएको अप्ठेराहरू समाधान गरिएको पुल निर्माणलाई चाँडोभन्दा चाँडै पूर्णता दिने गरी काम सुरु गरिएको बताए ।



‘कार्यालय र कम्पनीकै कमजोरी’

करिब साढे चार करोडको लागतमा पुल निर्माण हुन लागेको हो । तीन वर्ष अघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने पुलले तीन वर्षपछि मात्रै फिक्स डिजाइन पाएको छ । कार्यालय र निर्माण कम्पनीकै कमजोरीका कारण समयमा पुलले डिजाइन पाउन नसकेको पत्रेखोला पुलका साइट इन्जिनियर अमिर सुवेदीको भनाइ छ । उनले भने, ‘कार्यालय र कम्पनी डिजाइन स्वीकृतमा लागे पनि उपलब्धि प्राप्त गर्न सकेनन् । जसका कारण पुल निर्माण पछि परेको हो ।’

  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार २०:३२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया