सरकारविरुद्ध एक्लै आन्दोलनमा जाने दाहाल-नेपालको तयारी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहले सरकारविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। सरकारको कदमलाई प्रतिगामी भन्दै आएको यो समूहले अन्य दलको प्रतिक्षा नगरी आन्दोलनमा होमिने तयारी गरेको हो।

दुई सातासम्म कुर्दा पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका दलहरूसँग आन्दोलनमा जाने मुडमा नदेखिएपछि दाहाल-नेपाल समूह एक्लै आन्दोलनमा होमिन लागेको हो। सरकारको कदमविरुद्ध गत सोमबार नेपाली कांग्रेसले देशका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो। त्यसको भोलिपल्ट दाहाल-नेपाल समूहले काठमाडौंसहित देशका विभिन्‍न सहरमा प्रदर्शन गरेको थियो। 

त्यसपछि बुधबार बस्ने भनिएको नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक प्रचण्ड पत्नी सीता दाहाल बिरामी परेपछि रोकिएको थियो। बुधबार रोकिएको स्थायी कमिटी अहिले पेरिस डाँडामा बसिरहेको छ।

पेरिस डाँडामा जारी प्रचण्ड-नेपाल समूहको बैठकले संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संवैधानिक तरिकाले संसद विघटन गरेर प्रतिगमन ल्याएको भन्दै यो समूहले सशक्त आन्दोलनको तयारी गरिरहेको ती नेताले बताए। उनका अनुसार अन्य दल नआए पनि अब एक्लै आन्दोलनका लागि सडकमा जाने तयारी गरिएको हो। 

दाहाल-नेपाल समूहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मिलेर आन्दोलन गर्न तयारी गरेको थियो । तर, कांग्रेसले संसद विघटनको विरोध गरे पनि आगामी वैशाखमा हुने निर्वाचनको तयारी थालेको छ। सभापति शेरबहादुर देउवाले निर्वाचनको तयारी थाल्न निर्देशन दिइसकेका छन्। 





  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार १४:१४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया