हेलिकोप्टरलाई साढे ६ लाख तिरेर काठमाडौं ल्याइयो तर ज्यान बचेन
दुर्गमका अस्पतालमा छैन राम्रो स्वास्थ्य सेवा

काठमाडौं : डोल्पामा कार्यरत स्याङ्जा निवासी एकजना शिक्षक शिवप्रसाद पोखरेललाई साताअघि कोरोना संक्रमण भयो। सरस्वती माध्यमिक विद्यालय दुनैका शिक्षक ५२ वर्षीय उनलाई शुक्रबार सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

कोभिड-१९ का बिरामीको उद्धार अनुमति पाएको सिम्रिकले उनीसँगै ठूलीभेरी नगरपालिका-२ का वडाध्यक्ष देवीबहादुर रोकायालाई पनि दुईवटा हेलिकोप्टरबाट काठमाडौं ल्याएको थियो। कोभिडका बिरामीको उद्धारका लागि लागि आवश्यक स्वास्थ्य सामग्री र चिकित्सक पनि राखिएको उक्त हेलिकोप्टरका लागि एकजनाले मात्रै ६ लाख ५० हजार रुपैयाँ भाडा तिरेका थिए।

हिमाली जिल्ला डोल्पाबाट दुवैजनालाई सिम्रिकको हेलिकोप्टरले काठमाडौं ल्याएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो। २०७६ माघमा कोरोना सुरु भएपछि केन्द्रदेखि स्थानीय तहसम्मले मनलाग्दी खर्च गरे। कोरोनाको नाममा विकास बजेट पनि खर्च गरिएको थियो। तर अहिले डोल्पामा कोरोना संकट चुलिएको छ।

स्थानीय पत्रकार टेक शाहीका अनुसार त्यहाँ समुदायमै कोरोना पुगेको छ। तीनै सरकारले कोरोनाका नाममा ठूलो बजेट खर्चिसकेको अवस्थामा कोरोनाका गम्भीर विरामीको उद्धारका लागि कुनै सहयोग जुट्न सकेन। सुगर, मुटु र रक्तचापका समेत बिरामी शिक्षक पोखरेललाई कोरोनाले डोल्पामै गम्भीर बिरामी पारेको थियो।

डोल्पास्थित कोरोना फोकल पर्सन ठेकबहादुर गुरुङले दुवैजनाको अवस्था जटिल भएकाले काठमाडौं पठाउनुको विकल्प नभएको स्पष्टीकरण दिए। ‘दुवैजनाको अवस्था जटिल थियो, जिल्लामा उपचार हुन नसक्ने भएपछि काठमाडौँ पठाएका हौँ’, उनले भने, ‘जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा नै छैन। त्यहीकारण जटिल संक्रमितलाई बाहिरै पठाउनुपर्ने अवस्था छ।’

कोरोना संक्रमित हुनुअघि नै घर फर्किन लागेका पोखरेलको त्यहीँ स्वाब संकलन गरेर जाँचिएको थियो। उक्त जाँचमा कोरोना देखिएपछि आइसोलेसनमा बसेका शिक्षक पोखरेल गम्भीर बिरामी बनेका थिए। त्यसपछि उनलाई शुक्रबार सिम्रिक एयरको हेलिकोप्टरले काठमाडौं ल्याएको थियो। गम्भीर बिरामी परिसकेका उनको अवस्था जटिल भएको डोल्पामै चिकित्सकहरुले बताएका थिए।



तर स्याङ्जास्थित उनका आफन्तले हेलिकोप्टरबाट उद्धार गर्न साढे ६ लाख रुपैयाँ तिर्न तयार भए। बाँचुन्जेल आश हुन्छ भन्‍ने मान्यताले परिवार र आफन्तले हेलिकोप्टरलाई साढे ६ लाख तिरेर उनलाई काठमाडौं त ल्याए तर उनको प्राण एक दिन पनि टिकेन।

उनका सहकर्मी सत्यनारायण सिंहले शिक्षक पोखरेल आफ्नो पेशा र जिम्मेवारीप्रति बफादार रहेको  बताए। उनका अनुसार नेपाली भाषाका शिक्षक पोखरेल करिब १४ वर्षदेखि डोल्पामा शिक्षण पेशामा आवद्ध थिए। उनीसँगै अर्को हेलिकोप्टरबाट त्यति नै भाडा तिरेर काठमाडौं ल्याइएका वडाध्यक्ष रोकायाको पनि गम्भीर अवस्थामा उपचार भइरहेको छ। वडाध्यक्ष रोकाया पनि दीर्घ रोगी हुन्। 



डोल्पामा छैन सुविधा

डोल्पास्थित कोरोना फोकल पर्सन ठेकबहादुर गुरुङले जिल्लाको अस्पतालमा भेन्टिलेटर र आईसीयु सेवा नभएपछि गम्भीर बिरामीलाई काठमाडौं या नेपालगञ्ज पठाउनुपर्ने बाध्यता सुनाए। कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा भेन्टिलेटर र आईसीयु उपकरण त छन् तर अक्सिजन नै छैन। अक्सिजन प्लान्ट निर्माणको ठेक्का बल्ल सुरु भएको छ। 

डोल्पामा पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएका छन्। हालसम्म १५ जनामा कोरोना पुष्टि भइसकेको छ। संक्रमितमध्ये ६ जना निको भएका छन्। लामो समय कोरोना मुक्त रहेको डोल्पामा पछिल्लो समय संक्रमितहरु बढ्न थालेपछि प्रशासनले पाँच दिनलाई निषेधाज्ञा नै जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले सदरमुकाम आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको बताएका छन्। प्रशासनले आइतबारदेखि नै जमघट, भेला, सेमिनार, समिक्षा, गोष्ठी नगर्न भनेको छ। प्रशासनले पूर्व लोचा खोला, पश्चिम शुलिर्गाड, उत्तर भेरीपारिको सम्पूर्ण बस्ती अस्पताल क्षेत्र र दक्षिण तिप्ला जाने बाटो तोकेर पाँच दिनलाई निषेधाज्ञा गरेको हो। 

डोल्पास्थित कोरोना फोकल पर्सन ठेकबहादुर गुरुङले जिल्लाको अस्पतालमा भेन्टिलेटर र आईसीयु सेवा नभएपछि गम्भीर बिरामीलाई काठमाडौं या नेपालगञ्ज पठाउनुपर्ने बाध्यता सुनाए। कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा भेन्टिलेटर र आईसीयु उपकरण त छन् तर अक्सिजन नै छैन। अक्सिजन प्लान्ट निर्माणको ठेक्का बल्ल सुरु भएको छ। 

  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १६:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया