देउवाले भने : ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेस आन्दोलनमा होमियो
पौडेल र सिटौलाले दिएका थिए दबाब

काठमाडौं : प्रतिनिधिसभा विघटनबारे ढुलमुले चरित्र अपनाइरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अब आन्दोलनमा जानुपर्ने बताएका छन्। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनमै उत्रिनुपर्ने कुरा देउवाले केन्द्रीय समिति बैठकमा राखेका हुन्। 

उनले प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक र असंवैधानिक रहेको पनि जिकिर गरे। 'मैले सुरुबाटै भनेको कुरा हो, प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी कदम चालेका छन्', उनले भने, 'अब यसविरुद्ध हामीले आन्दोलनमा जानुपर्छ।'

तर देउवाले विचाराधीन मुद्दामा सर्वोच्च अदालतलाई धम्क्याउने काम कसैले गर्न नहुनेतर्फ पनि नेताहरुलाई सचेत गराए। 'प्रतिनिधिसभा विघटनबारे विचाराधीन रहेको मुद्दामा सर्वोच्च अदालतलाई तर्साउने र धम्क्याउने काम गर्नु हुँदैन', उनले भने, 'तर प्रधानमन्त्री ओलीको कदमविरुद्ध हामीले आन्दोलनमा जानु नै उचित हुन्छ।'

देउवाले यसअघि कांग्रेसका लागि यो सुवर्ण अवसर भन्दै चुनावको तयारीमा जुट्नुपर्ने बताउँदै आएका थिए। तर उनले यो बैठकमा बोली फेर्दै आन्दोलनमा होमिनुपर्ने मत राखे। सभापति देउवासमेत आन्दोलनमा जान तयार भएपछि  कांग्रेसले पुस २५ गते देशका ३३० निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम गर्ने भएको छ। 

सानेपामा बसेको केन्द्रीय समिति बैठकमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आन्दोलनमा होमिनुपर्ने बताए। त्यसैगरी नेता कृष्णप्रसाद सिटौला पनि आन्दोलनकै पक्षमा उभिएका छन्। ओलीको कदम असंवैधानिक भन्दै दुई नेताले दबाब दिएपछि देउवाले पनि तत्काललाई आन्दोलनको मुड बनाएका हुन्। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २५ गते निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ६ हजार सात सय ४३ वडामा प्रदर्शनको निर्णय कांग्रेसले लिएको छ। यसका साथै जिल्लाहरुले पनि आफैं कार्यक्रम तय गरेर आन्दोलन गर्न सक्ने भएका छन्। 





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १७:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया