टिकटक स्टारको छायामा मूलधारका कलाकार

नेपालमा टिकटक नामक भिडियो एप्लिकेसन लोकप्रिय भएको धेरै लामो समय भएको छैन । यो एप्लिकेसन लोकप्रिय हुनु अघि बन्ने गीतका म्युजिक भिडियोमा अभिनेता पल शाह, पुष्प खड्का, सनम कठायत, निराजन प्रधान, महेश काफ्ले, आकाश श्रेष्ठ लगायतका मोडल देखा पर्थे । महिला तर्फ भने एलिसा राई, स्वस्तिमा खड्का, आँचल शर्मा, शिल्पा पोख्रेल, अनु शाह, नम्रता सापकोटा, श्रृष्टि खड्का, केकी अधिकारी लगायतका कलाकार रोजाइमा पर्ने गर्थे ।

टिकटकको लोकप्रियता पछि धेरै कलाकार टिकटकबाटै उदाए । अहिले यी कलाकारहरु फुर्सदमा छन् । पछिल्लो समय सार्वजनिक भइरहेका अधिकांश म्युजिक भिडियोमा टिकटकबाट लोकप्रिय बनेका प्रयोगकर्ताहरु छन् ।

टिकटकबाट कलाकारितामा आएकाहरु :

प्रिन्सी–प्रिज्मा

नेपालमा टिकटक नामक एप भित्रिएसँगै जुम्ल्याहा दिदी-बहिनी प्रिन्सी र प्रिज्मा निक्कै लोकप्रिय बने । ५ मिनेटको समय अन्तरमा जन्मिएका यी दिदी-बहिनी अहिले निक्कै व्यस्त कलाकार भित्र पर्छन् । छोटो समयमै दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्न भ्याएका यी दिदी-बहिनीले अभिनय भने सिकेका छैनन् ।



टिकटिक प्रयोगको सुरुवाती दिनमा प्रिन्सी र प्रिज्मा दुवैलाई अभिनयको भोक थिएन । उनीहरुले सामान्य प्रयोगकर्ताका रुपमा टिकटक प्रयोग गरेका थिए । छोटो समयमै लाखौं मानिसले उनीहरुलाई पछ्याए । म्युजिक भिडियोका निर्माता निर्देशकको नजरमा परे । अहिले उनीहरु व्यस्त कलाकारभित्र पर्छन् ।

रेश्मा घिमिरे



टिकटकबाट म्युजिक भिडियोमा छलाङ मारेकी अर्की कलाकार हुन्– रेश्मा घिमिरे । ‘टिकटक क्वन’ रुपमा परिचित रेश्मा सम्भवत: टिकटकबाट म्युजिक भिडियोमा भित्रिएकी पहिलो कलाकार हुन् । कालीप्रसाद बास्कोटाको ‘इन्स्टाको फोटो’बाट म्युजिक भिडियोमा उदाएकी रेश्माले थुप्रै म्युजिक भिडियोमा अभिनय गर्न भ्याइन् । १२ लाखभन्दा धेरै टिकटक पलोअर्स भएकी टिकटक स्टार रेश्माको पछिल्लो समय म्युजिक भिडियोमा त्यस्तो उपस्थिति देखिँदैन । 

मन्जिल बस्नेत

टिकटकका महिला प्रयोगकर्ता जति लोकप्रिय भए त्यसको अनुपातमा पुरुष प्रयोगकर्ता अलि कम चर्चित भएका छन् । चर्चित भएका मध्येबाट पनि म्युजिक भिडियोमा अवसर पाउने अझै कम छन् । तिनै कम मध्येका एक हुन्– मन्जिल बस्नेत । झण्डै ३ लाख पलोअर्स कमाएका मन्जिल टिकटकका छोटा भिडियोमा देखाएको अनुहारको हाउभाउका कारण म्युजिक भिडियोका निर्माता निर्देशकको रोजाइमा परेका हुन् ।

दीपा–दमन्ता

टिकटकबाट म्युजिक भिडियोमा देखा परेका अर्का जुम्ल्याहा दिदी-बहिनी हुन् दीपा-दमन्ता । टिकटकबाटै कलाकारिता सुरु गरेका यी दिदी-बहिनी नेपालको पहिलो डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टारर्स नेपाल’मा सहभागिता जनाउन पुगेका थिए । त्यसपछि उनीहरुको झन् धेरै चर्चा भयो ।

टिकटकमा ‘दीपा–दमन्ता’कै नामबाट चर्चित यी दिदी-बहिनीले पनि केही गीतको म्युजिक भिडियोमा अभिनय गर्न भ्याएका छन् । ४ करोड १८ लाखभन्दा धेरैले लाइक गरेको उनीहरुको टिकटक अकाउन्ट २५ लाखभन्दा धेरैले पछ्याएका छन् ।

सुधीर श्रेष्ठ

नेपालका लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठका गीतमा प्रस्तुति दिएर चर्चामा आएका अर्का टिकटक स्टार हुन्– सुधीर शर्मा । उनले आफ्नी श्रीमती रोशनी श्रेष्ठसँग मिलेर स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठका गीतमा अभिनय गर्दै टिकटक बनाउँथे । त्यहीँबाट म्युजिक भिडियोमा फड्को मारेका उनले वसन्त सापकोटा, रचना रिमाल, एलिना चौहान लगायतका गीतमा अभिनय गरेका छन् ।

गीता ढुंगाना

गायक चक्र बमले गाएको गीत ‘ओए काजल’ बोलको गीतबाट म्युजिक भिडियोमा देखा परेकी गीता ढुंगाना पनि टिकटकबाट उदाएकी कलाकार हुन् । विशेष गरी सुदूरपश्चिमतिरका गीत, देउडामा हाउभाउसहित टिकटक बनाउने गीता सुदूरपश्चिमका गीत मन पराउने दर्शक माझ लोकप्रिय छन् ।

भिडियोको लगानी सेभ गर्न सहयोग गरेका छन्

टिकटक तथा अन्य सोसल मिडियाबाट भाइरल भएका प्रयोगकर्ताहरु कलाकार बन्न थालेपछि अभिनयमा जमेका कलाकार फुर्सदमा छन् । अभिनय तथा नृत्य सिकेर कलाकारितामा आएका कयौं कलाकार फिलर र कोरस कलाकारका रुपमा प्रयोग भइरहेका छन् ।

टिकटकका प्रयोगकर्तालाई लिएर म्युजिक भिडियो निर्माता निर्देशकले म्युजिक भिडियो निर्माण गर्न थालेपछि सिकेर अभिनयमा आउँने तयारीमा रहेका कलाकारमा नैराश्य छाएको एकाथरिको भनाइ छ भने अर्को तर्फ मेनस्टिममा देखिएका कलाकारलाई निक्कै च्यालेन्ज थपिएको छ ।

तर, टिकटकमा राम्रो सम्भावना देखाएका प्रयोगकर्तालाई कलाकारका रुपमा लिनुलाई नकारात्मक रुपमा लिनु नहुने संगीतकार अर्जुन पोख्रेल बताउँछन् ।

उनी भन्छन्, ‘टिकटक आफ्नो प्रतिभा देखाउने एउटा गतिलो प्लेटफर्म हो । गायन प्रतियोगिताका विभिन्न कार्यक्रमबाट गायक गायिका छानिएका छन् । डान्सिङ प्रतियोगिताबाट डान्सर, कमेडी च्याम्पियनबाट कमेडियन छानिएका छन् । टिकटक पनि यस्तै एउटा प्लेटफर्म हो, कलाकारितामा रुची राख्ने नयाँ पुस्ताका लागि ।’ अर्जुनको चर्चित गीत ‘नबोली नबोली’, ‘पञ्चे बाजा’ लगायतका गीतमा टिकटकका कलाकारले अभिनय गरेका छन् ।

पछिल्लो समय बनेका १० प्रतिशत म्युजिक भिडियोले पनि लगानी उठाउँदैनन् । चलेका कलाकारलाई लिएर म्युजिक भिडियो निर्माण गर्दा म्युजिक भिडियोको लगानी झन् धेरै हुने भएकाले पनि टिकटकबाट चर्चामा आएका कलाकारलाई म्युजिक भिडियोमा धेरै खेलाउन थालिएको अर्जुनको बुझाइ छ ।

उनी भन्छन्, ‘पछिल्लो समय बनेका म्युजिक भिडियोले स्टार कलाकार र उनीहरुलाई लिएर निर्माता निर्देशकमा रहेको एउटा भ्रम तोडिएको छ । त्यो हो स्टार कलाकार राखेपछि म्युजिक भिडियो हिट हुन्छ । अब कलाकारभन्दा कन्टेन, कन्सेप्ट बलियो चाहिन्छ, फरक चाहिन्छ । बलियो कन्टेन्ट कन्सेप्टका साथ निर्माण गरिएका म्युजिक भिडियोमा टिकटक सेलिब्रेटीलाई खेलाउँदा म्युजिक भिडियोको लगानी निक्कै कम हुन्छ ।’

म्युजिक भिडियोका चल्तीका निर्देशक विधान कार्की पनि म्युजिक भिडियोमा टिकटकबाट आएका कलाकार लिनुलाई सकारात्मक मान्छन् ।

उनी भन्छन्, ‘टिकटकबाट आएका कलाकारलाई म्युजिक भिडियोमा खेलाउँदा एक त म्युजिक भिडियोको लगानी कम हुन्छ । अर्को उनीहरुका पलोअर्स यति राम्रो छन् कि, उनीहरुले अभिनय गरेका म्युजिक भिडियो एकैपटक धेरै अडियन्स कहाँ पुग्छन् । त्यसैले पनि टिकटकबाट उदाएका कलाकारप्रति म्युजिक भिडियोका निर्माता निर्देशकहरू आकर्षित भएका हुन् ।’

आफूले निर्देशन गरेका झण्डै दर्जन म्युजिक भिडियोमा टिकटक सेलिब्रेटीले कलाकारका रुपमा अभिनय गरेका विधान बताउँछन् । टिकटक पछिल्लो समय गीत/संगीत प्रचारको राम्रो माध्यम बनेको छ ।

  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार २०:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया