दाङमा महरा कमजोर, पोख्रेललाई सजिलो

कम्युनिस्टको राष्ट्रिय राजनीतिमा ‘हेभिवेट’का नेताका रूपमा दाङका दुई नेता पूर्व सभामुख कृष्णबहादुर महरा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई पनि लिने गरिन्छ । पार्टी विभाजनसँगै महरा र पोख्रेलबीचको दूरी फाटेको छ । 

पूर्व सभामुख महरा प्रचण्ड–माधव समूहतिर छन् भने मुख्यमन्त्री प्रधानमन्त्री ओली समूहमा छन् । दाङमा ओली समूह बलियो देखिन्छ । दाङबाट राष्ट्रियसभा सदस्य दुईजना, प्रतिनिधिसभा सदस्य ७, प्रदेशसभा सदस्य ८ र ७ वटा स्थानीयतहका प्रमुख र उपप्रमुख गरी २९ जना प्रतिनिधि रहेका छन् । जसमध्ये महरा पक्षमा ११ जना छन् भने पोख्रेल खेमा १८ जना छन् । 

राष्ट्रिय सभामा बराबर

राष्ट्रियसभा दाङबाट दुईजनाको प्रतिनिधित्व छ । नेकपा लुम्बिनी प्रदेशका सचिव जगप्रसाद शर्मा (अपार) र कोमल ओली राष्ट्रियसभा सदस्य हुन् । कोमल ओली मुख्यमन्त्री पोख्रेल पक्ष अर्थात ओली समूह समर्थित हुन् भने जगप्रसाद शर्मा (अपार) महरा पक्ष अर्थात् प्रचण्ड–माधव समूहका हुन् । 

प्रतिनिधि सभामा महरा

दाङमा तीन निर्वाचन क्षेत्र रहेका छन् । जसमा प्रत्यक्ष निर्वाचित ३ र समानुपातिक ४ गरी ७ जनाको प्रतिनिधित्व छ । जसमा प्रत्यक्ष निर्वाचित ३ सांसद र समानुपातिक २ गरी पाँच जना महरा पक्षमा छन् भने पोख्रेलको समानुपातिक दुईजना रहेका छन् । 



जसमा दाङ क्षेत्र नं. १ बाट मेटमणि चौधरीले जितेका छन्, दाङ क्षेत्र नं. २ महरा आफैं निर्वाचित भएका हुन् भने क्षेत्र नं. ३ मा हिराचन्द्र केसी छन् । समानुपातिकमा रेखा शर्मा र गंगा चौधरी महरा पक्षका हुन् भने समानुपातिक अन्य दुईजना शान्ता चौधरी र विष्णु पौडेल पोख्रेल खेमामा छन् ।

प्रदेश सभा



प्रदेश सभा सदस्यमा दाङबाट ८ जना प्रतिनिधि छन् । जसमा महरा पक्षमा दुई जना छन् भने पोखेल पक्षमा ६ जना छन् । क्षेत्र नं. १ (क) का इन्द्रजित थारू र समानुपातिक सांसद दामा शर्मा महरा समूहका हुन् । 

त्यस्तै निर्वाचन क्षेत्र नं. १ (ख) निर्वाचित सांसद रेवतीरमण शर्मा, निर्वाचन क्षेत्र नं. २ (क) बाट शंकर पोख्रल आफैं निर्वाचित हुन् भने निर्वाचन क्षेत्र नं. २ (ख) अमरबहादुर डाँगी, निर्वाचन क्षेत्र न. ३ (ख) विमला ओली र समानुपातिक सांसद धमकली चौधरी र सरस्वती गौतम पोख्रेल खेमाका हुन् । 

स्थानीय तह

दाङको सातवटा स्थानीय तहमध्ये १२ जना नेकपाका १२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमध्ये बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली र उपाध्यक्ष यमुना घर्ती, घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपाने, बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्मा र गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरी गरी पाँचजना महरा पक्षमा छन् । 

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र उपप्रमुख सीता आचार्य, लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेल र गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव पोख्रेल पक्षका हुन् ।

  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १९:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया