काठमाडौं : चर्चित अभिनेत्री मनीषा कोइरालाले नेपालको माया गर्नेहरु अब एकै ठाउँ उभिने बेला आएको बताएकी छन्। २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसबारे मंगलबार आयोजित सम्मेलनका क्रममा अभिनेत्री कोइरालाले यस्तो बताएकी हुन्।
'नेपालीले नेपालको माया गर्नुपर्छ। हामी सबै नेपालीले स्वाभिमानसँग जिउनुपर्छ। हामी नेपालीले एकीकृतरुपमा बोल्नुपर्छ', उनले भनिन्, 'विगतमा के भयो? हामी त्यतातिर नलागौँ, भोलिलाई राम्रो बनाउनेतिर एकजुट भएर अघि बढौँ।'
उनले सबै नेपालीले राष्ट्रिय एकता दिवस मनाउनुपर्नेमा जोड दिइन्। 'हामीले राष्ट्रिय एकता दिवस मनाउनुपर्छ, कुनै पनि दिवसको त्यसको भ्यालुसँग मतलब हुन्छ। त्यो भ्यालुलाई सम्झिएर हामीले दिवस मनाउनुपर्छ', उनले भनिन्, 'देशका विभिन्न ठाउँमा हामीले एकता दिवस मनाउनुपर्छ। एकता दिवस मनाउन छाडिएको कुरामा नजाऊँ, हामीले अगाडिको कुरा र काम सोचेर जानुपर्छ।'
नेपालमा पटक पटकको राजनीतिक अस्थिरता जनताले देखेको भन्दै उनले अब त्यसो हुन नदिनेतर्फ सचेत हुनुपर्ने बताइन्। 'राजनीतिक अस्थिरता हामीले देखेका छौं। यसले देशलाई असर गर्नु भएन, देशको मायाका खातिर हामी एकै ठाउँ आउनुपर्छ', मनीषाले पत्रकार सम्मेलनमा थपिन्, 'हामीले देशको माया गरेर एकै ठाउँमा उभिनुपर्दछ।'
नेपालले भारतले हडपेको भूमि समेटेर नक्सा निकालेको बारेमा आफूले बोल्दा भारतीयले गरेको गालीबारे पनि उनले टिप्पणी गरिन्। 'भारतीयले हाम्रो खाएर चीनको गाना गाइन् भनेर लगाएको आरोपबारे उनले भनिन्, 'हामीलाई उनीहरुले जे भने उनीहरुको ठाउँमा त्यो ठीकै होला। भारतीयले भारतको माया गर्न पाउँछन्, हामीले हाम्रो नेपालको माया गर्नुपर्छ।'
राष्ट्र निर्माता पृथ्वीनारायणलाई सम्झिँदै उनले उनको स्मरणमा एकता दिवस मनाउनै पर्ने चर्चा गरिन्। 'हाम्रा राष्ट्र निर्माता पृथ्वीनारायण शाह नै हुनुहुन्छ। उहाँकै कारण हामी नेपाली भनेर चिनिएका हौँ', मनीषाले भनिन्, 'राष्ट्र निर्माताको सम्झनामा हामीले एकता दिवस मनाउँदैछौँ। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हामी एक ठाउँमा आउनुपर्छ।'
उनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस राज्यस्तरबाटै मनाउन पनि कन्जुस्याइँ गर्न नहुने मत राखेकी छन्। पत्रकार सम्मेलानमा मनीषासँगै पूर्वडीआइजी रमेश खरेलसहितले पनि बोलेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।