‘स्क्रिप्ट’ लेखनबाटै महिला कलाकारलाई विभेद
पर्दामा मात्र क्रान्तिका कुरा : हामी बाँच्ने समाजमा आफ्नै लागि बाँच्न सकेका छैनौं
फरकधार / २४ पुस, २०७७

योगी परिवारमा जन्मिएर ध्यान गर्दै हुर्किएकी एउटी साइलेन्स केटी । परिवारको रुची र अनुमतिबिनै हल्लै हल्लाको रंगीन दुनियाँमा होमिएलिन्, यो कसैले सोचेकै थिएनन् । त्यसैले पनि अभिनेत्री सोविता सिम्खडालाई चलचित्र क्षेत्रमा प्रवेश गर्न निक्कै गाह्रो भयो । त्यतिबेलाको समाजले चलचित्र क्षेत्रलाई राम्रो मान्दैनथ्यो । त्यसमाथि पनि छोरीहरुका लागि रंगीन दुनियाँको यो बाटो निक्कै कहालि लाग्दो छ भन्ने एक खालको धारणा नै निर्माण भएको थियो ।

सोविता सानामा निकै कम बोल्थिन् । मनका असन्तुष्टि, आक्रोश हत्तपत्त पोखिहाल्ने उनको स्वभाव थिएन । उनीसँगै हुर्किएका साथीमा जस्तो उनमा न चञ्चलता थियो न चलाखिपन नै । सबैले लाटी भन्ने आफ्नी छोरी चलचित्र क्षेत्रमा लागेको उनका परिवारलाई पटक्कै मन परेन। कलाकारितामा आफ्नो परिचय बनाउन सोविताले सबैभन्दा पहिला आफ्नै घरसँग संघर्ष गर्नु पर्‍यो । अहिले आएर सम्झँदा उनलाई लाग्छ, ‘यो संघर्ष त मैले छोरी भएकाले गर्नु परेको रहेछ ।’

करिअरको सुरुवाती चरणमा नेपाली टेलिभिजनमा फिल्मी कार्यक्रम चलाउने सोविता त्यसबेला आफ्ना परिवारका सदस्यको व्यवहार देखेर भित्रभित्रै कुडिन्थिन् । त्यसबेला जब उनको कार्यक्रमको समय हुन्थ्यो उनका परिवारका सदस्यले टेलिभिजनमा च्यानल बन्द गरिदिन्थे । सोविताको मन भक्कानिन्थ्यो । उनलाई रहर थियो आफूले चलाएको कार्यक्रम हेरेर आफ्ना परिवारका सदस्यले सुझाव दिऊन् । तर, त्यो टेलिभिजन कार्यक्रम सोविताको फिल्मी करिअरको पहिलो खुड्किलो थियो ।

त्यही खुड्किलो मन परेको थिएन उनको परिवारलाई । कार्यक्रमकै सिलसिलामा छोरीले फिल्मी दुनियाँका मान्छेहरूसँग गरेको उठबसले उनका परिवारको मन जल्ने गर्थ्यो । बारम्बार छोरीहरुका लागि होइन यो क्षेत्र भनेर सम्झाइरहन्थे । उनलाई त्यसबेलै लाग्थ्यो ‘मेरो ठाउँमा मेरो दाइ अथवा भाइ भैदिएको भए यो घरमा कति सम्मान र प्रशंसा पाउँदो हो ?’ उनी आफैंसँग प्रश्न गर्थिन्, ‘के छोरीहरुलाई चाहिँ आफ्नो रहरको बाटो अंगाल्ने छुट छैन ?’

घरसँग संघर्ष गरेर नथाककेकी सोविता त्यतिबेला झसंग भइन्, जतिबेला पहिलो चलचित्रमा साइन गरेर घर पुगिन् । फिल्मी कार्यक्रम चलाउँदा चलाउँदै फिल्मकै सपना देख्न थालेकी सोविता फिल्ममा साइन गरेर फर्कदा निक्कै खुसी थिइन् । तर, उनको त्यो खुसी लामो समय टिक्न पाएन । उनी घर पुग्दा नपुग्दै साइन गरेकै फिल्मका निर्माताको प्रस्ताव आयो, ‘तिमीसँग घुम्न जानुपर्छ ।’ उनी एका छाङ्गाबाट खसेझैं भइन् ।

भोलिपल्ट त्यसबेलाका संगठित फिल्मी संघ–संस्थामा उजुरी दिइन् । निर्देशकलाई फोन गरेर भनिन्, ‘तपाईको प्रोडुसरको यस्तो प्रस्ताव आयो म यो फिल्ममा काम गर्दिन ।’ फिल्म छोडिन, संघ संस्थाले छोरीकै बेइजत हुने भन्दै उजुरी फिर्ता लिन लगाए । उनी सम्झिन्छिन्, ‘त्यो बेला समय अहिलेजस्तो थिएन । मिडिया पनि सीमित मात्रै । म बोलिरहेकै भए पनि कसले सुन्थे र ? अहिले पनि कयौं घटना यसैगरी भित्रै लुकाइन्छ ।’

अभिनेत्री सोविताले यो रंगीन दुनियाँका महिला पात्रले भोगेका विभेदका बारेमा यसरी बताएकी छन् : 

पुरुष ‘क्यारेक्टर’कै केन्द्रमा कथा

हाम्रा चलचित्रहरूका स्क्रिप्टदेखि नै महिलालाई विभेद सुरु गरिन्छ । चलचित्रको कथा लेख्दा पुरुष ‘क्यारेक्टर’लाई केन्द्रमा राखेर स्क्रिप्ट लेखिन्छ । महिलालाई एक निरीह पात्रका रुपमा उभ्याइन्छ । हिरोका वरिपरि महिला पात्रलाई सीमित पारिन्छ । सधैं हिरोले हिरोइनलाई बचाएको कथा निर्माण गरिन्छ । त्यही अनुसार पर्दामा देखाइन्छ ।

यसले समाजमा के मान्यता स्थापित गर्‍यो भने, ‘पुरुष पात्र समाजका हिरो हुन् । उनीहरुले समाजका छोरी चेलीलाई संरक्षण गर्छन् । उनीहरुको इज्जत जोगाउँछन् ।’

हाम्रो समाजको कथा नै चलचित्र आउने भएर पनि यो कथाले, अवस्थाले आज पनि निरन्तरता पाइरहेको छ । महिला प्रधान भनिएका चलचित्रमा पनि महिलालाई उसै गरी प्रस्तुत गरिएको छ । उनीहरुलाई सहनशील, पतिब्रता महिलाका रुपमा नै प्रस्तुत गरिन्छ ।

पुरुष कलाकारले जति दुःख दिए पनि महिला कलाकारले सहेको देखाइन्छ । जसले हाम्रो समाजमा महिलाले सधैं सहेरै बाँच्नु पर्छ भन्ने मान्यतालाई अझैं बढावा दिन मद्दत गरेको छ । मलाई व्यक्तिगत रुपमा लागेको कुरा यो पनि हामी महिला कलाकारले महिला भएर भोगेको विभेद हो ।

प्रवेशमै समस्या

महिला कलाकारले प्रवेशमै अर्को समस्या भोग्नु पर्ने हुन्छ । चलचित्रका लगानीकर्ताले एउटी नायिकालाई फिल्ममा लिँदै गर्दा उनीसँगको सामिप्यता दिमागमा राखेर लिएको हुन्छ । चलचित्रमा प्रवेश गरेदेखि नै पुरुष प्रधान समाजको गिद्धे नगरमा परेकी एउटी महिला कलाकारले कहाँ–कहाँ कस्तो खालको हिंसाको सिकार हुनु पर्छ त्यसको कुनै ठेगान हुँदैन ।

हिरोइनलाई सबैभन्दा बढी खतरा वा असुरक्षा चलचित्रका लगानीकर्ताबाटै छ । एउटी महिला कलाकारले करिअरको सुरुवातमै कास्टिङ काउच (निर्माता–निर्देशकको शोषण) मा पर्नु परेका खबर अहिले पनि चर्चामा आइनै रहेका छन् । तर, महिला कलाकारका ती समस्या सुन्नु र न्याय दिनु पर्ने कुनै पनि संघ संस्थाको नेतृत्वमा महिला छैनन् । त्यसैले महिला कलाकारका समस्यालाई समस्याका रुपमा नै लिने गरेको पाइँदैन ।

अर्को समस्या भनेको महिला कलाकार आफूले भोगेका विभेदका बारेमा बोल्नै सक्दैनन् । हामी चलचित्रका पर्दामा क्रान्ति र परिवर्तनका कुरा गर्छौं । तर, हामी बाँच्ने समाजमा हामी आफैं आफ्ना लागि बाँच्न सक्दैनौं । समाजका लागि, परिवारका लागि, आफन्तको इज्जतका लागि बाँच्छौँ । कारण हामी हाम्रा समस्या भन्न सक्दैनौं । यहाँ महिला कलाकारले सुटिङ स्पटदेखि हरेक ठाउँमा विभेद भोग्ने गरेका छन् ।

नेपाली सिनेमाले हिरोइन हुनुको अर्थलाई जोवन र सौन्दर्यसँग जोड्यो र, उनीहरूका लागि खास मापदण्ड तोकिदियो। यही मापदण्डका कारण हिरोइन सबैतिरबाट असुरक्षित र प्रताडित हुने अभ्यास सुरु भयो । जुन क्रम अहिले पनि चलिरहेकै छ ।

हिरोइनप्रति बनाइएको यो अवधारणा र हेराइमै हिंसा छ जस्तो लाग्छ । सुटिङका क्रममा पनि महिला कलाकारले सुन्नै नसक्ने खालका अपाच्य जोक्सहरु गरिन्छ । नराम्रो नियतले महिला कलाकारलाई टच गरिन्छ । महिला कलाकारले असहज महसुस गरे पनि कतिपय अवस्थामा प्रतिकार गर्न सक्दैनन् ।

सुटिङ स्पटमा महिला कलाकारले भोग्नु पर्ने अप्ठ्याराहरू अझै धेरै छन् । ‘आउटडोर सुटिङ’मा सबैभन्दा ठूलो समस्या ट्वाइलेटको हुन्छ । काठमाडौं बाहिर, ग्रामीण क्षेत्रमा सुटिङ गर्न जाँदा महिलाको लागि जटिल हुन्छ । फेरि त्यही बेला महिनावारी भइदियो भने अर्को समस्या । यस्ता समस्या धेरै छन् ।

हाम्रो समाजमा हिरोइनको आयु छोटो हुन्छ भन्ने एकखालको अवधारणा निर्माण गरिएको छ । जसले गर्दा हाम्रा महिला कलाकारले उमेरको एउटा दायराभित्र आफूले मन लागेको जति काम गर्ने मानसिक दबाब बोकेर बाँच्नु पर्छ । महिला पात्रले आफू असुरक्षित भएर पनि सहजरुपमा काम गर्न सक्ने वातावरण आज पनि छैन ।

यहाँ त छोरीहरुको इज्जत बोले मात्रै सकिन्छ । त्यसैको एउटा पाटो हो महिला कलाकारले भोगेर पनि बोल्न नसकेका विभेदका कयौं शृङखलाहरु । महिला कलाकारले कथमकदाचित बोलिहाले पनि न्याय पाउने वातावरण छैन । यहाँ त महिला कलाकारका पक्षमा बोल्ने महिला कलाकार नै छैनन् ।

  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १४:५:४२,   अन्तिम अपडेट : पुस २४, २०७७ शुक्रबार २०:११:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया