केपी ओलीले निर्वाचन गर्छन् भनेर पत्याउन सकिँदैन : नेता सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्।  

संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोध सभा अन्र्तगत काठमाडौं १ (क) मा आयोजित विरोध सभामा बोल्दै सिंहले ओलीले निर्वाचन नगराउने बताएका हुन्। उनले ओलीको असंवैधानिक कदम सच्चाउनुको विकल्प नभएको समेत बताए।  

‘दुईतिहाइ मत पाएको प्रधानमन्त्री भन्‍ने। तर संसदमा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ,’ सिंहले भने, ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ। त्यसैले संसद विघटनको असंवैधानिक कदम सच्याउनुको विकल्प छैन।’ 

उनले कांग्रेस नेतृत्वमा जारी भएको संविधान माथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताए। ‘करिब दुई तिहाइ मत प्राप्त गरेको नेकपाको सरकार। संविधान अनुसार नै हिँडेको भए राम्रो हुन्थ्यो। संविधानको बाटो छोडेर संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिएको छ,’ सिंहले भने, ‘०४७ सालको संविधान अनुसार बनेका सरकार अस्थिर बनेपछि प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार नदिइएको हो। प्रधानमन्त्रीले संविधानको बाटो हिँडेको भए अस्थिरताको भुमरीमा देशको राजनीति फस्दैन थियो।’

ओलीले पार्टी भित्रको व्यवस्थापन गर्न नसक्दा रिस हुँदै नभएको अधिकार प्रयोग गरी संसद् भंग गरेको भन्दै  असंवैधानिक कदम चालेर आफुले गरेको काम सही हो भन्न ओली देश दौडाहामा निस्किएको उनको भनाइ छ।

‘उहाँ (ओली) आफ्नो कदम सही हो भन्दै जिल्ला तिर गइरहनुभएको छ। जनता त्यति मूर्ख छैनन्,’ उनले भने, ‘संविधानको धारा १०० अनुसार विश्वासको मत लिएको भए त उहाँकै नेतृत्वको सरकारले निरन्तरता पाउने थियो नी। किन संविधानभन्दा बाहिर गएर कदम चाल्नुभयो त।’



उनले संसद् विघटनको विषय सर्वोच्च अदालतले हेरिरहेको र अदालतले अदालतले व्याख्या गर्दा संविधानको भावना र मर्म अनुसार गर्नेमा आफु विश्वस्त रहेको बताए। असंवैधानिक कदम नसच्याए मुलुकको राजनीति अँध्यारो सुरुङमा फस्ने सिंहको भनाइ थियो। 

उनले स्वास्थ्य सामाग्री खरिद, ओम्‍नी  काण्ड, यती काण्ड लगायतका दर्जनौं काण्डमा फसेको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए। ‘सरकार सुशासन दिनेमा होइन कु-शासनमा सफल भएको छ। त्यसको पुष्टि ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले गरेको छ,’ सिंहले भने।



  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १४:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया