'प्रचण्ड पनि चुनावमा आउँछन्, ओली पछि हटे नेपालमा बस्‍न सक्दैनन्'
अदालतलाई अनावश्यक दबाब नदिन आग्रह

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हुने अवस्थामा आफ्नो पार्टी सदैव तयार रहेको बताएका छन्। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्रमा गरेको कार्यक्रमलाई बूढानीलकण्ठमा शनिबार सम्बोधन गर्दै देउवाले यसो भनेका हुन्। 

‘प्रतिनिधिसभा विघटनको मुद्दाबारे हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतलाई यसो गर उसो गर भन्‍नु हुँदैन', उनले भने, 'अदालतको निर्णय कांग्रेसले मान्छ। वैशाखमा होस् कि दुई वर्षपछि होस् चुनावमै जाने हो। यदि हुन्छ भने चुनावको तयारी थाल्नुपर्छ।'

सभापति देउवाले आगामी वैशाखमा चुनाव नगराए प्रधानमन्त्री ओलीलाई देशमा बस्नै गाह्रो हुने पनि टिप्पणी गरे। 'यदि तोकिएको मिति वैशाखमै चुनाव गराएनन् भने प्रधानमन्त्री ओलीलाई नेपालीहरुले नेपालमा बस्‍न नदिने अवस्था बनाउँछन्', उनले भने, 'चुनावमा कसैले पनि कुनै किसिमको बहाना गरेर टार्न मिल्दैन।’

यदि चुनाव हुने अवस्था भएमा सबै दलहरु प्रतिस्पर्धामा आउने उनले दाबी गरे। 'सरकारले चुनाव गराउने वातावरण बनाएपछि सबै दल सहभागी हुन्छन्', उनले अगाडि थपे, 'तर चुनाव नगराएमा प्रधानमन्त्री ओली प्रजातन्त्रविरोधी तत्वका रुपमा परिणत हुनेछन्।'

ओलीले धनगढीको सभामा पनि चुनाव गराउँछु भनेर वाचा गरेको उनले स्मरण गरे। 'धनगढीमा पनि ओली चुनाव गराउने नै भनेका छन्। यदि अदालतले पनि चुनावको वातावरण बनाइदिएमा प्रचण्डहरू पनि आउँछन्', उनले भने, 'त्यसैले कांग्रेस पनि चुनावको तयारीमा लाग्नुपर्छ। प्रधानमन्त्री आफैं सबैभन्दा पहिले चुनावमा गइसकेकाले अब चुनाव हुन्छ। केही शंका बाँकी रहे पनि अब चुनावमा जानुपर्छ।'





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १६:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया