अन्योलमा कांग्रेस : देउवा भन्छन् : चुनावमा जाऊँ, पौडेल भन्छन् : आन्दोलन चर्काऊँ
ओलीले संविधानलाई रछ्यानमा फालेको पौडेलको आरोप

काठमाडौं : नेपाली कांग्रेसमा देखिको अन्योल आइतवार बूढानीलकण्ठमा छरपस्ट भएको छ। आइतबार सभापति शेरबहादुर देउवा निवासमा ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’का क्रममा निर्वाचनमा जाने या आन्दोलनमा भन्‍ने कुराले विवाद भएको हो। 

पुस्तक विमोचन कार्यक्रममा उपस्थित भएका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका थिए। उनले  प्रतिनिधिसभा विघटनले देशलाई अफगानिस्तानको बाटोमा लैजाने जिकिर गर्दै कडारुपमा पुन:स्थापनको आन्दोलन चलाउनुपर्ने बताएका थिए। 

'कुनै किसिमको द्विविधापूर्ण कुरा नराखी देशलाई अघि लाने कि नलाने?', उनले सम्बोधनका क्रममा भने, 'नेपाल अफगानिस्तानतिर जान सक्छ। बिपीले भनेको भुमरीतिर देश जाँदैछ। नेपाललाई आउन लागेको भुमरीबाट जोगाउने आँट पो गर्ने हो त।'

पौडेलले कांग्रेसले सदैव अदालतको सम्मान गर्ने बताउँदै तर अब चुनाव भइजान्छ भनेर चुप लाग्न नसकिने बताए। 'कांग्रेसले अदालतको सम्मान गर्ने नै हो, मैले कहिल्यै अपमान गरेको छैन', उनले भने, 'अदालतको निर्णय पनि कुरौँला। तर अहिले चुनाव गरिहाल्छन् र जाउँला भनेर बसिएको छ, यसरी हुँदैन हामीले पुन:स्थापनको आन्दोलन चर्काउनुपर्छ।'

नेता पौडेलले सर्वोच्चले आफूविरुद्ध फैसला गर्दा कहिल्यै नबोलेको दाबी गरे। 'मैले मेरोविरुद्ध फैसला गर्दा औँला उठाएको छैन। केपी ओलीहरुले विश्‍वनाथ उपाध्यायलाई फासी दिन्छौँ भनेका थिए', उनले भने, 'अदालतले हामीलाई न्याय दिनुपर्छ। कहीँ पनि संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई छैन।'

संविधानको धारा ७६ को उपाधारा ५ अनुसार मात्रै विघटनको सिफारिस गर्न सक्ने भए पनि अविश्वासको प्रस्तावको पहिले सामना गर्नुपर्ने उनले मत राखे। 'हामीले प्रचण्डले भनेको राष्ट्रपतीय व्यवस्थाले अस्थिरता ल्याउँछ भनेका थियौँ। केपी ओलीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्दा पनि त्यसलाई पनि नामानेर संसदीय व्यवस्था गएका हौँ। तर प्रधानमन्त्रीले संविधानविपरीत संसद भंग गरिदिएका छन्।'



संविधान निर्माण गर्ने आफूसहित कांग्रेसका नेताहरु जीवित रहेको बताउँदै पौडेलले यसरी सहेर बस्न नहुने मत राखे। 'संविधान निर्माण गर्ने म जिउँदैछु, हामी सात जना जिउँदैछौं (पौडेललाई रोक्दै देउवा : म पनि ज्यँदैछु) हामीले सहेर बस्नु हुँदैन', पौडेलले अगाडि भने, 'संविधान बनाउने हामी जिउँदै छौं। संविधानलाई रछ्यानमा फाल्न खोजेको कुरालाई कांग्रेसले प्रतिकार गर्छ। कांग्रेस प्रतिनिधिसभा पुन:स्थापनाको आन्दोलनमा जान्छ जान्छ।'

देउवाको आपत्ति



वरिष्ठ नेता पौडेलले संसद पुन:स्थापनका लागि आन्दोलनमा जानै पर्ने बताइरहँदा आपत्ति जनाएका देउवाले आफूले बोल्दा पनि त्यही कुरालाई जोड दिए। उनले पौडेलले संविधान जोगाउन संसद पुनःस्थापनाको मागसहित आन्दोलनमा जाने कुरा गरेपछि त्यसमा आपत्ति व्यक्त गरेका थिए। 

देउवाले कांग्रेसले अदालतमा विचाराधीन मुद्दालाई लिएर आन्दोलनमा जानु अनुचित हुने बताएका थिए। उनले ओलीको असंवैधानिक कदमलाई लिएर कांग्रेसले आन्दोलन गरिरहेको बताउँदै तर अदालतलाई प्रभावित पार्ने गरी कुनै गतिविधि नगर्ने अडान राखेका थिए। 

'हामीले चुनावमा जान्नौँ भन्न मिल्दैन, हामीले जनतामा जाने कुरामा डराउनु हुँदैन', उनले भने, 'सबैभन्दा ठूलो अदालत भनेको जनता हो, जनतामा जान हामीले डरायौँ भने कुरो बिग्रिन्छ।' देउवाले अदालतबाट संसद पुन:स्थापना भएमा पनि कांग्रेस बलियो नै हुने बताउँदै तर चुनावका लागि तयारी पनि गर्नुपर्ने वकालत गरे।

'अदालतको कुरा हो, यदि संसद पुन:स्थापना भइगएछ भने पनि हामी हाबी हुन्छौँ। तर हामीले त्यसका लागि अदालतलाई आन्दोलन गरेर डराउने वातावरण बनाउनु हुँदैन', उनले भने, 'चुनाव भइहाल्यो भने हामी भाग्न मिल्दैन। स‌ंसद् पुन:स्थापना भए पनि हामीलाई तनाव छैन।'

उनले आन्दोलनमा जाने पौडेलको कुरामा असहमति जनाउँदै अब चुनावकै तयारी गर्नुपर्ने बताए। 'सरकारले यदि चुनाव नै गरायो भने पनि हामी जाने हो', उनले अन्त्यमा भने, 'बरु हामीले चुनावको तयारीमा जानुपर्छ।'

  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १६:३६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया