काठमाडौं : सरकारको छानबिनबाट बच्नका लागि व्यापारीले कामदार तथा मजदुरका नाममा समेत मूल्य अभिवृद्धि कर (भ्याट) नम्बर तथा बैंक खाता खोलेर ठगी गर्ने पाइएको छ।
राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा त्यस्तो बदमासी देखिएको हो। विभागले आइतवार उच्च अदालत पाटनमा एक व्यवसायीविरुद्ध दायर गरेको मुद्दामा जोडिएका केही व्यक्ति कामदार र श्रमिक रहेको खुलेको छ।
नक्कली भ्याट बिल बनाई राजश्व छली गरेको अभियोगमा विभागले न्यू सयपत्री इन्टरप्राइजेजका सञ्चालक मनीषुकमारसहित १५ जनाविरुद्ध एक अर्ब २२ करोड २० लाख १९ हजार १९ बराबरको बिगोसहित मुद्दा चलाएको हो।
न्यू सयपत्री इन्टरप्राइजेजलगायत विभिन्न १३ वटा फर्महरु कमजोर आर्थिक अवस्थाका मजदुरको नाममा दर्ता गरिएको भेटिएको हो। आर्थिक हैसियत नै नभएका मजदुर र गरिब व्यक्तिको नाममा नक्कली फर्म दर्ता गरी राजश्व चुहावट एवं भ्याट छली गरेको भेटिएपछि मुद्दा चलाइएको हो।
यस्तै विभागले संकित जनरल सप्लायर्सका सञ्चालक सुबोध साहविरुद्ध पनि १२ करोड ७५ लाख ५१ हजार ६१४ बराबरको भ्याट छली गरेको आरोपमा मुद्दा दायर गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।