ओलीको दाबी : वामदेवलाई प्रधानमन्त्री बनाउन माधव-प्रचण्ड मानेनन्
प्रचण्डको 'अभियोग पत्र'ले नेकपा फुटेको जिकिर

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको अवरोधका कारण वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन नसकेको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। आफ्नो नेतृत्वको नेकपाका कार्यकर्ताहरूलाई पठाइएको १६ पृष्ठ लामो अन्तरपार्टी निर्देशनमा ओलीले उक्त कुरा दाबी गरेका हुन्। 

आफुविरुद्ध कात्तिक २८ मा प्रचण्डले दर्ता गरेको अभियोग पत्रकै कारण पार्टी फुटेको दाबी ओलीले गरेका छन्। उनले त्यही अभियोगपत्रले पार्टीमा विभाजनको बिउ रोपेको पनि जिकिर गरेका छन्। 

'पार्टीमा विभाजनको आधार तयार गर्ने उद्देश्यका साथ प्रस्तुत गरिएको उक्त विद्वेषकारी, प्रतिशोधी र दुराशायुक्त प्रस्तावलाई फिर्ता लिएर पार्टीलाई सहज वातावरणमा फर्काउन र पार्टी एकतालाई जोगाउन अध्यक्ष कमरेड केपी शर्मा ओली र अन्य कमरेडहरूले पटक–पटक अनेकौं प्रयास गर्नुभयो', उक्त निर्देशनमा भनिएको छ, 'अध्यक्षले आगामी महाधिवेशनबाट पार्टी नेतृत्व हस्तान्तरण गर्ने र निर्वाचनपछि सरकारको नेतृत्व नगर्ने गरी नेतृत्व हस्तान्तरणको मार्गचित्र अगाडि सारि सक्नुभएको थियो। यसका
लागि सीमित प्रतिनिधित्व र नेतृत्व परिवर्तनको म्यान्डेटसहितको ‘एकताको विशेष महाधिवेशन’ यथाशीघ्र आयोजना गर्न ‘प्रचण्ड’ लाई आग्रह गर्नुभएको थियो।;

ओलीले आफूसहित दाहाल, नेपाल र झलनाथ खनालले सरकारको नेतृत्व गरिसकेकाले वामदेवलाई मौका दिनुपर्ने कुरा पटक पटक पार्टीमा राखेको पनि दाबी गरेका छन्।

'आफू (प्रचण्ड, ओली, नेपाल र खनाल) हरुले पटक–पटक सरकारको नेतृत्व गरिसकेकाले पार्टी उपाध्यक्ष कमरेड वामदेव गौतमलाई यो जिम्मेवारी दिनु न्यायोचित हुने विश्लेषणका साथ यसका लागि अनुकूल वातावरण बनाउन स्थायी कमिटीको बैठकमा औपचारिक प्रस्ताव राखेको थिएँ', उनले भने, 'तर छद्म संझौता गरेर जसरी पनि पार्टी र सरकारको नेतृत्व हत्याउन उद्यत कमरेडहरूलाई पार्टी एकता कायम रहने, सबैको आत्मसम्मान हुने र पार्टीको सङ्कट समाधान हुने यी प्रस्तावमा कुनै रुचि भएन। उहाँहरू अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट बर्खास्त गर्ने भित्री अभियानमा लागिरहनु भयो।'

मिलेर अघि बढ्ने आफ्नो प्रस्ताव लत्याउँदै पार्टी फुटतर्फ अघि लैजान दाहाल-नेपालले राष्ट्रपतिसमक्ष विशेष अधिवेशन माग गरेको पनि उनले बताएका छन्। 'यसैको पूर्वाभ्यास थियो, पार्टी या संसदीय दलको कुनै संस्थागत निर्णयबिनै, पार्टीका अध्यक्ष एवं दलका नेता र उपनेता कसैलाई थाहै नदिई, स्थायी कमिटी बैठक बसिरहेकै बेला, संसद अधिवेशन बोलाउन अधिकांश सांसदहरूको फर्जी हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको समावेदन', ओलीले भनेका छन्,'वस्तुतः पार्टी विभाजनको औपचारिक प्रयास उहाँहरूका यस्तै क्रियाकलापबाट भएको थियो। उहाँहरु यो प्रयासमा सफल पनि हुनुभएको छ।'





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १४:५०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया