दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईसहित आठजनालाई गर्यो निलम्बन
फरकधार / २७ पुस, २०७७

नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित आठजनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । 

दाहाल–नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा उनीहरु पार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ । 

सो समूहले मुख्यमन्त्री राईसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको हो । 

उनीहरुलाई प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको जनाइएको छ । नेकपाको संसदीय दलको विधान ०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको पत्रमा उल्लेख छ । 

दाहाल–नेपाल समूहले उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । निलम्बन गरिएका आठैजनालाई हुलाक र कुरियरबाट निलम्बनको पत्र पठाइएको सो समूहले जानकारी दिएको छ । 

यसअघि दाहाल–नेपाल समूहले पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेको थियो । त्यसपछिका बैठकमा उपस्थित नभएको र स्पष्टीकरण माग गर्दा नदिएकाले उनीहरुलाई निलम्बन गरिएको सो समूहले बताएको छ । 

दाहाल–नेपाल समूहले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । नेकपाका ६७ प्रदेशसभा सदस्यमध्ये ३७ जनाको हस्ताक्षरसहित राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो । 

  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १९:२१:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया