ओलीले दाहाल-नेपाललाई भनेका थिए : दोस्रो पुस्ता आउँदैछ, तपाईंहरु काशी जाने कि पशुपतिमा बस्‍ने?
मणि थापाको टिप्पणी : प्रधानमन्त्रीको हातखुट्टा बाँधेर काम गर्नै दिइएन

काठमाडौं : खानेपानी मन्त्री मणिचन्द्र थापाले अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली बराबरको राष्ट्रवादी नेता कोही नभएको बताएका छन्। स्याङ्जामा आयोजित नेकपा ओली समूहको कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा थापाले यस्तो बताएका हुन्।

नेकपा विभाजनपछि प्रचण्ड समूहलाई छाडेर ओली समूहमा आएका उनले प्रधानमन्त्रीलाई घेराबन्दी गरेर कामै गर्न नदिएको दाबी गरे। प्रचण्ड यहाँसम्म आइपुग्दा कयौँ नेताहरुले छाडेर हिँडेको र छाड्न बाध्य बनाइएको टिप्पणी पनि उनले गरे।

'प्रचण्ड कमरेडलाई किन किन मोहन वैद्य किरणले छाड्नु भयो? किन विप्लवले छाड्नु भयो? अहिले किन बादलले छाड्नु भएको छ? यसबारे मैले धेरै बोलिरहनै पर्दैन', उनले भने, 'अहिले पनि उहाँ (प्रचण्ड) कपालमा जेल नै लगाएर हिँड्नुहुन्छ,  स्मार्ट भएर हिँड्नु हुन्छ तर उहाँ जहाँ जानुहुन्छ भत्काउनुहुन्छ।'

अनेकन पार्टी भत्काउँदै आएका प्रचण्डले पछिल्लो पटक राम्रो अवस्थामा रहेको एमालेमा घुसेर विभाजन ल्याइदिएको आरोप उनले लगाए। 'पूर्व एमाले राम्रो पार्टी भएको थियो, तर प्रचण्डजीले त्यहाँ पसेर पनि फुटाइदिनु भयो', थापाले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्छु भन्नु भएको थियो उहाँ तर बिरामी हुनु भयो। यो बेला झलनाथ, प्रचण्ड, माधवले सहयोग गर्नुपर्ने हो। तर उहाँहरुले घेराबन्दी गर्नुभयो, त्यो पनि अमानवीय हिसाबले।'

थापाले ओली बिरामी भएका बेला पार्टीबाट गलहत्याएर निकाल्ने योजनामा प्रचण्ड र माधव नेपाल लागेको दाबी गरे। 'बुवा बिरामी हुनुहुन्छ, तर एकै चोटी घरबाट निकालिदिने? घरको चाबी कहाँ छ? धन कहाँ छ? ऋण कहाँ छ? सोध्‍नुपर्दैन?', उनले अगाडि भने, 'माधव नेपाल त ओलीसँग नवौँ महाधिवेशनमा हारेकै त हो। माधव नेपाल अध्यक्ष हुँदा एमालेको हविगत कस्तो भयो भन्ने सबैलाई थाहा नै छ त। तीनजना बुढाबुढा मिलेर घरको सबैभन्दा बुढो (ओली) लाई न्याक्ने काम गरे। कामै गर्न दिएनन्।'

थापाले ओलीसँग कुरा मिलेर निस्किने बित्तिकै प्रचण्डले कुरा फेरेर गडबड गरेको आरोप लगाए। 'प्रधानमन्त्रीलाई भेटेपछि बाहिर निस्किएर प्रचण्ड एउटा कुरालाई अर्को बनाएर व्याख्या गर्ने, माधवलाई उधारो होइन नगद नै चाहिने तर महाधिवेशन कुर्न नसक्ने', उनले भने, 'जनताको प्रतिनिधि हो नि आफूले केही गर्न नसक्ने उहाँहरुले कुर्सी मात्रै हल्लाउने? उहाँहरु (प्रचण्ड-माधव-झलनाथ) ले मात्रै ओगट्ने कि हामीलाई पनि पालो दिने?'



तीन नेताले प्रधानमन्त्रीलाई कामै गर्न नदिएको उनले गुनासो गरे। 'प्रधानमन्त्रीलाई काम गर्ने वातावरण दिनुपर्यो नि! सुन फल्ने घरमा पनि रातो दिन झगडा भयो भने के हुन्छ? दिमागमा शान्ति नभए व्यवहारमा शान्ति आउँदैन', थापाले अगाडि भने, 'प्रधानमन्त्री भइसकेका चारजनामध्ये तीनजनाले ओलीको खुट्टा र दिमाग समातेको समात्यै गरेपछि के गर्न सकिन्छ र? काम गर्न त दिनुपर्यो नि!'

ओलीले आफूमाथि घेराबन्दी भएपछि किचकिच गरिरहने नेताहरुलाई दिनुभन्दा दोस्रो पुस्तालाई छाड्न तयार हुँदा पनि नदिइएको उनले बताए। 'म पनि बुढो भएँ यस्तै किचकिचेलाई छाड्नु भन्दा, नगद उधारोलाई छाड्नु भन्दा, झलनाथलाई छाड्नु भन्दा दोस्रो पुस्तालाई छाड्छु प्रधानमन्त्रीले भनेकै हो', थापाले भने, 'उहाँले दोस्रो पुस्तालाई पार्टी जिम्मा लगाउने बताएर दाहाल-नेपाल-खनाललाई काशी जाने कि पशुपति बस्ने भनेर सोध्नु पनि भएको हो। तर तीनै नेताहरुको ध्यान कुर्सी हल्लाउनेमै थियो।'



जनताले ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाएर पठाएको अवस्थामा तीन नेताले जनभावनाविपरीत हटाउन लागेपछि संसद नै विघटन गर्नुपरेको स्पष्टीकरण दिए। 'संसद विघटन नगरेको भए अहिले प्रचण्ड र नगद नारायणको राज हुन्थ्यो', उनले भने, 'चुच्चे नक्सा पनि समाप्त हुन्थ्यो। ओलीले भारतीय मिडियालाई यहीँ बोलाएर राष्ट्रियता के हो बताउनुभयो। प्रचण्डले दिल्लीमा गएर पनि त्यति  गर्न सक्दैनन्।'

प्रधानमन्त्री ओलीको भूमिकालाई लिएर भारत र चीन दुवै रिसाएको पनि उनले उल्लेख गरे। 'प्रधानमन्त्री ओलीबारेमा भारत र चीनलाई पनि चित्त बुझेको छैन', उनले थपे, 'सानो देशले फुर्ती लाउने भनेका छन्। जति मोदीको हैसियत छ मेरो त्यतिकै हो अझ मैले पहिले राजनीति थालेको हुँ भनेर उहाँले कडा सन्देश दिनु भएको छ।'

  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १४:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया