प्रचण्डले माधवको काँधमा बन्दुक राखेर केपीतिर पड्काउन खोजे : मन्त्री भट्ट

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको सत्ता स्वार्थका कारण नेकपा फुटेको दाबी गरेका छन्। 

कैलालीको अत्तरियामा नेकपा ओली पक्षको नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै मन्त्री भट्टले दुवैको स्वार्थ मिलेपछि अहिलेको गुटको समीकरण बनेको बताए। एकतालाई भाड्ने काम वैशाखबाट नै सुरु भएको उनले दाबी गरे। त्यस्तै उनले प्रचण्डले माधव नेपालको काँधमा बन्दुक राखेर केपीलाई पड्काउने योजना बनाएको पनि बताएका छन् ।

‘प्रचण्डलाई के लाग्यो भने माधव नेपालजीको काधमा बन्दुक राखेर केपी तिर पड्काउने केपी ढालेपछि मै भए भन्‍ने सोच आयो। माधवजीलाई प्रचण्डको काधमा बन्दुक राखेर केपीलाई ढालिन्छ र प्रचण्डलाई खाइहालिन्छ भन्‍ने लाग्यो’, भट्टले अगाडि भने, ‘पार्टीको स्वार्थमाथि उठेर राष्ट्रको स्वार्थमा केन्द्रित भइयो भने यो खालका समस्या आउँदैनन् । जब नेतृत्व आत्मकेन्द्रित हुन्छ, परिवारवादमा जान्छ, नातावादमा जान्छ, तब पार्टीमा समस्या आउँछ ।’

मन्त्री भट्टले पार्टीका रुपमा सचिवालका ५ जनाले आफूलाई मात्रै सम्झेको बताए । ‘पार्टीको विधान, विधि, पद्धति सबै भुलेर ५ जना नेताले आफूलाई पार्टी सम्झिए’ मन्त्री भट्टले भने ‘सबै निर्णय उहाँहरुको खल्तीबाट आउन थाल्यो, भैँसेपाटीमा बसेर निर्णय हुन थाले, खुमलटारमा निर्णय हुन थाले । अनि त्यो सबैले मानैपर्ने ?’

अझै पनि एकै ठाउँमा बस्न सकिने उनले बताए । ‘हिजो जनयुद्ध लडेको माओवादी र एमाले एउटै हुन्छन् भनेर कसैले कल्पना गरेका थिएनन्’ उनले भने ‘आज लिगेसीका कुरा गरिँदैछ, एमाले-एमाले एक ठाउँ, माओवादी-माओवादी एक ठाउँ हुनुपर्ने कुरा गरिँदैछ। अब पछाडी फर्किन सम्भव छैन।’





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १४:४०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया