प्रहरीको न्यानो कपडामा झेल : ठेकेदारले यसरी गरेका थिए बदमासी
मिलेमतोमा संलग्‍न प्रहरी कर्मचारीको खोजी गरिँदै

काठमाडौं : नेपाल प्रहरीलाई ठेक्कामार्फत कपडा उपलब्ध गराउने ठेकेदार नै अहिले हिरासतमा पुगेका छन्। चार वर्ष अगाडि कम मूल्यमा कपडा दिने भनेर नेपाल प्रहरीको उलन पाइन्टको ठेक्का लिएका ठेकेदार अहिले प्रहरी हिरासतमा परेका हुन्।

प्रहरीलाई उलनको कपडा उपलब्ध गराउने ठेक्का लिएका वीरगन्जस्थित क्राउन टेक्सटाइल्स इन्डष्ट्रिज प्रालिका सञ्चालक पिताम्बर मुन्का १७ दिनदेखि प्रहरी हिरासतमा छन्। कमसल गुणस्तरको कपडा दिएर महँगो मूल्य असुल्ने जालसाजी गरेपछि मुन्का प्रहरी फन्दामा परेका हुन्।

उनलाई प्रहरीले वीरगन्जबाट गत पुस १२ गते नियन्त्रणमा लिएको थियो। प्रहरीलाई नै झुक्याएर ठगी गर्न लागेको सूचना गएपछि उनलाई पक्राउ गरिएको थियो। यसका साथै केन्द्रीय अनुसन्धान ब्यूरोले उद्योगका काठमाडौंस्थित प्रतिनिधि चितवन घर भएका नरेन्द्रनाथ पौडेललाई पनि पक्राउ गरिसकेको छ।

मुन्का करिब १० वर्षदेखि प्रहरीलाई लत्ता कपडा उपलब्ध गराउने ठेकेदार हुन्। प्रहरी संगठनका उच्च अधिकारीसँग उनको राम्रै हिमचिम रहेको चर्चा अहिले नक्सालमा छ। तर उनले प्रहरीका कुन उच्च अधिकारीको योजनामा यो बदमासी गरे भन्ने खुलिसकेको छैन।

मुन्काको बदमासी

सम्झौता अनुसार सुरुमा प्रहरीले क्राउन टेक्सटाइल्सकै प्रतिनिधि राखेर परीक्षणका लागि नमुना पठाएको थियो। सम्झौताअनुसार आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्न प्रहरी हेड्क्वार्टरले ३० साउनमा भारतको चेन्नई पठाएको थियो।



एनएनसी बैंकबाट चेन्नइको एसजीएस ल्याबको नाममा १० हजार ६९१ भारतीय रुपैयाँ परीक्षण शुल्क पनि पठाइयो। प्रहरी प्रधान कार्यालयका अनुसार उक्त परीक्षणबाट त्यो कपडा ठेक्काका क्रममा भएको सम्झौता अनुसारको गुणस्तरीय पाइएन।

तर पहिलो परीक्षणपछि ८ सेप्टेम्बर २०२० मा चेन्नईको एसजीएस ल्याबले प्रहरी प्रधान कार्यालयसँग दोस्रो परीक्षण शुल्क माग गर्‍यो। उक्त ल्याबले शुल्क मागेपछि प्रहरी प्रधान कार्यालयका अधिकारीहरु चकित परे। सोधियो, 'अब के को पैसा?' जवाफमा ल्याबले भन्यो, तपाईंको कार्यालयबाट १६ अगस्टमा गुणस्तर परीक्षणका लागि दोस्रो पटक प्रहरी संगठनको नाम राखी तत्कालीन जिम्मेवार अधिकृत (भण्डार शाखा प्रमुख) मदन केसीको नाम, मोबाइल नम्बर  र ईमेल राखेर पठाउनु भएको थियो, त्यही परीक्षणको शुल्क चाहियो।'



त्यसपछि प्रहरी प्रधान कार्यालयबाट आफूले गर्दै नगरेको कामको रकम मागिएको बारे अनुसन्धान थाल्यो। उक्त अनुसन्धानबाट यो काम प्रहरीभित्रबाट नभएर ठेकेदारले नै गरेको खुल्यो। क्राउन टेक्सटाइल्सले नै आफूखसी प्रहरी संगठन र जिम्मेवार अधिकृतको नाम, मोबाइल नम्बर तथा ईमेल राखेर ३२ साउनमा कुरियर सर्भिस डिएचएलबाट पठाएको प्रमाण भेटियो।

लामो अनुसन्धानपछि सबै जुटाएर ठेकेदारविरुद्ध ठगीको  मुद्दा दर्ता गर्न पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले जनाए। यो जालसाजीमा संलग्नबारे पत्ता लगाउन मुन्कासँग सोधखोज र थप अनुसन्धान भइरहेको पाण्डेले बताए।

प्रवक्ता पाण्डेले यो बदमासीमा प्रहरी संगठनकै कर्मचारीको संलग्नता रहेको भनिए पनि अनुसन्धानबाट अहिलेसम्म त्यसको पुष्टि हुन नसकेको बताए। 'यसबारे अहिले पनि अनुसन्धान जारी छ', उनले भने, 'प्रहरी संगठनकै अधिकारी जोडिएको भए, त्यो पनि पत्ता लाग्नेछ।'

‘प्रहरी हेडक्वार्टरलाई नै झुक्याएर ठगेको कुरा अनुसन्धानबाट खुलेको छ,’ केन्द्रीय अनुसन्धान व्यूरोका डिआईजी सहकुल थापा भन्छन्,‘त्यसैले यसमा ठगी उद्योगमा म्याद लिएर अनुसन्धान गरिरहेका छौं।’

तर हिरासतमा रहेका मुन्काले भने आफूले केही नगरेको इन्कारी बयान दिएको अनुसन्धानमा संलग्‍न एक अधिकृतले बताएका छन्। क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रालिले प्रतिमिटर १०८२ का दरले २० हजार मिटर उलन पाइन्टको कपडा खरिदको ठेक्का पाएको थियो। २ करोड १६ लाख ४० हजारमा प्रहरी प्रधान कार्यालय र कम्पनीबीच सम्झौता भएको थियो।

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १२:४४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया