गत वर्षको चैतबाट बन्द भएका नाटकघर माघे संक्रान्तिबाट सञ्चालनमा आउने भएका छन् । नाटकघरहरुको साझा संगठन ‘थिएटर हब’ले एक विज्ञप्ति जारी गर्दै नाटकघर सञ्चालनमा आउन लागेको बताएको हो ।
१० महिनादेखि बन्द नाटकघर खोल्दा सबै थिएटरले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने बताएका छन् । नाटकघर सञ्चालन गर्दा दर्शकहरुबीच भौतिक दूरी राखिने, माक्स अनिवार्य र स्यानिटाइजर उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ । मञ्चन हुने हरेक नाटक १ घण्टाका हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मञ्चनको पहिलो दिन माघ १ गते शिल्पी थिएटरमा ‘६ पात्रको एकालाप’ मञ्चन हुनेछ । नाटक दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
यस्तै माघ २ गते कौसी थिएटरमा ‘हराउँदै भेटाउँदै’ शीर्षकको नाटक मञ्चन हुनेछ ।
माघ ४ मा भने विराटनगरको झोराहट थिएटरमा ‘कोरोना टाइम्स’ मञ्चन हुनेछ । सोही दिन विराटनगरकै आरोहण गुरुकुलमा नयाँ नाटकको नमुना मञ्चन र छलफल हुनेछ ।
माघ ६ गते पोखरा थिएटरले नाटक महोत्सव घोषणा गर्नेछ भने माघ ७ गते दिउँसो ३ बजे मण्डला थिएटरमा ‘कोरोना अघि र पछिको रङ्गमञ्च र अबको बाटो’ शीर्षकमा संवाद हुनेछ । सोही दिन शैली थिएटरले ‘शैली संवाद’मा अर्को छलफल चलाउनेछ ।
माघ ९ गते भने थिएटर मल कीर्तिपुरमा ‘पोयट्री पटरी’ शीर्षकको कार्यक्रममा रंगकर्मीहरुले कविता सुनाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।