जितको उत्सव हो ‘भुवा पर्व’
हातमा ढाल, तरबार लिएर भुवा खेलिँदै ।

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने साँस्कृतिक पर्व ‘भुवा’ सुरु भएको छ । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन् ।

यो भुवा कैको
पाँच पौण्डु देउको
का बाट उब्जी
मन्त लोक उब्जी
त्याँ बाट इन्द्रका बार
इन्द्रका बार भुवा खेलायो....। 

जस्ता लय र भाकामा यो खेलिन्छ । दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन् । खासमा त्यो भुवा पर्वको उल्लास हो ।

बाजुरेली सेवा समाजका अध्यक्ष चेतबहादुर थापा भन्छन्, ‘भुवा प्राचीन संस्कृति हो । प्राचीन युद्धको भाका हो । कौशलताको प्रदर्शनी हो । जसको आफ्नै मौलिक विशेषता छ । यो हाम्रो पहिचान हो ।’

भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ । जसको आफ्नै ऐतिहासिक पक्ष रहेको छ ।

महाभारतमा पाण्डप र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो । समाजका निवर्तमान अध्यक्ष कुलबहादुर हमालले भने, ‘यो पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ ।’ उनले पर्वको मुख्य आकर्षक पक्ष नै ‘भुवा नाच’ रहेको र यसको सुरुदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको बताए ।



उनका अनुसार पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ । स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाना बनाइ खाइन्छ । सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले रङ पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ ।

द्वितीया तिथिको दिनमा विशेष ढंगले प्रदर्शन गरिन्छ । भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो च्यादर जस्तो पहिरनुपर्छ । टाउकोमा पघरी बाँध्नुपर्छ ।



दिउँसोको समयमा भुवाखाडोमा गएपछि त्यसको रौनक सुरु हुन्छ । बाजा–गाजा, लस्कर हुँदै औंसी र प्रतिपदाका दिन चम्काएका ढाल तरवार बाजागाजा भुवाको लयमा चम्कन सुरु हुन्छ ।

बायाँ हातमा ढाल दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशन अनुसार सुस्त गतिबाट भुवा खेल्ने गरिन्छ । खेलमा २० वटाभन्दा बढी चाल वा लय र ६३ कवच हुन्छन् ।

यो पर्वमा छरछिमेकहरूले आ–आफनो घरमा मिष्ठान्न परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन् । दसैंपछिको ठूलो पर्वका रूपमा लिइने यस पर्वमा वर्षदिनसम्म भेटघाट नै नभएका इष्टमित्र, दाजुभाइबीचको सम्बन्ध प्रगाढ हुने जनविश्वास छ । 

हातमा तरबार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घर–घरमा गई भोस्को खेलिने हुँदा जसबाट घरमा सम्पत्ति भित्रिने र खेलको माध्यमबाट समाजका विकृति–विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने जनविश्वास रहँदै आएको बताइन्छ ।

प्राचीन युद्ध कलालाई राजा रजौटाहरूले अनुशरण गर्दै आएको र हालसम्म चल्दै आएको बताइन्छ । राजा रजौटाहरूले आफ्ना भाइ भारदार लगायत प्रजाहरूलाई आत्मरक्षाका लागि खेतीपातीको काम सकिएपछि फुर्सदको समयमा ढाल तरबारसँग खेल्न सिकाएको समाजका निवर्तमान अध्यक्ष हमालको भनाइ छ ।

यस वर्ष कोरोना संक्रमण कारण विगत वर्षको जस्तो उत्साह भने खेलमा छैन । बाजुरेली सेवा समाजले धनगढीको खुला मञ्चमा ‘भुवा’ पर्वलाई मुडा बालेर मनाएका छन् । समाजका कोषाध्यक्ष ध्रुवबहादुर सिंहले कोरोनाका कारणले यस वर्ष भुवा पर्व विविध कार्यक्रम गरी मनाउन नसकिएको बताए ।

उनले आफ्नो कला संस्कृतिलाई जर्गेन गर्नकै लागि भए पनि धनगढी खुला मञ्चमा मुडा बालेर भुवा पर्व मनाएको बताए । बाजुरा स्थायी घर भई धनगढी बसोबास गर्दै आएकाहरूले हरेक वर्ष ‘भुवा’ पर्व धुमधामका साथ मनाउँदै आइरहेका थिए ।

बाजुराको काँडा, बह्मतोला, मार्तडी, आटीचौर, बाह्विस, जुगाडा, कुल्देवमाण्डौ, कैलाशमाण्डौं सहितका क्षेत्रमा भुवा मनाउने गर्छन् । 

लोक सँस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने ‘भुवा’ पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ ।

जिल्ला बासीको पहिचानसँग जोडिएको पर्व अवधिभर अधिकांश विद्यालय आधा दिन बन्द हुने गरेका छन् । पञ्चेबाजाका साथ खेलिने ‘भुवा’ पर्व बाजुरा लगायत सुदूरपश्चिमका अछाम, डोटी, बझाङ्ग लगायतका जिल्लामा पनि मनाउने प्रचलन छ । ‘भुवा’ पर्वकै अवसर पारी सुदूरपश्चिम प्रदेश सरकारले पनि सार्वजनिक बिदा दिएको छ ।

धनगढीमा मुडा बालेर ‘भुवा’ पर्व सुरुवात गरिँदै ।
 

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १८:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया