उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा ओली समूहका नेता लेखराज भट्टले तत्कालीन राजा ज्ञानेन्द्रले ‘स्वच्छ छविको प्रधानमन्त्री’को आह्वान गर्दा तत्कालीन विद्रोही माओवादीका अध्यक्ष प्रचण्डले पनि निवेदन दिएको दाबी गरेका छन् ।
पूर्वमाओवादी नेता भट्टले संसदवादी दलबाट माधव नेपालले निवेदन दिएको र विद्रोही माओवादीका तर्फबाट प्रचण्डले निवेदन दिएको दाबी गरेका हुन् । नेकपा डडेल्धुराको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।
जनयुद्धको समयमा प्रचण्डले ज्ञानेन्द्रसँग सहकार्यको लागि प्रस्ताव ल्याएको बताउँदै उनले भने, ‘जब ज्ञानेन्द्र सत्तामा पुगे । उनले प्रधानमन्त्रीको लागि विज्ञापन खोले । एमालेबाट माधव र माओवादीबाट प्रचण्डले आवेदन दिए, हामीले प्रचण्डलाई जान दिएनौँ । तपाईंहरूले माधवलाई जान दिनुभएन ।’
उनले भने, ‘दुवैजना ज्ञानेन्द्रको नजिक जाने भएकोले समीकरण मिलेको रहेछ। चिन्तन त त्यहाँ मिल्दो रहेछ ।’ बकुल्लालाई हाँसको जस्तै रंगरोगन गरेर हाँससँगै छाडेपनि अन्त्यमा बकुल्ला एकातिर र हाँस एकातिर जाने गरेको उनको टिप्पणी थियो ।
उनले आफूलाई केपी ओलीको सिद्धान्त मन परेर ओलीको पक्षमा लागेको बताए । मुलक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको र चुनाव हुन्न भन्ने भ्रममा नरहन सबैलाई उनको आग्रह थियो ।
‘म्याद नाघेको औषधि खाएमा कि त बिरामी भइन्छ । कि त मृत्यु हुन्छ,’ उनले भने, ‘त्यही भएर प्रधानमन्त्री संसद विघटन गर्न बाध्य भए ।’ मन्त्री भट्टले संसदको आयु सकिएकाले अब निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।