दाहाल-नेपालको प्रस्ताव : संयुक्त आन्दोलन गरौँ, देउवाको जवाफ : अहिले मिलेर जान सकिँदैन
नेता लेखक भन्छन् : कांग्रेस अहिले एक्लै आन्दोलनमा छ

काठमाडौं : पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बढेको राजनीतिक ध्रुवीकरणबीच बुधबार साँझ नेकपाको एउटा समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड र माधवकुमार नेपाल नेपाली  कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन्। 

आफूहरुले अविश्वास प्रस्ताव दर्ता गर्नै लाग्दा ओलीले संसद विघटन गरिदिएपछि त्यसलाई प्रतिगमन भन्दै आएका दाहाल-नेपाल संयुक्त आन्दोलनको प्रस्ताव लिएर बुधबार साँझ ६ बजे देउवा निवास पुगेका हुन्। 

नेपाली कांग्रेसका एकजना नेता रमेश लेखकका अनुसार पहिले नै समय मागेर साँझ ६ बजे बूढानीलकण्ठ पुगेका उनीहरुले देउवासँग करिब डेढ घण्टासम्म संवाद गरेका थिए। बुधबार दिउँसो प्रज्ञा भवनको कार्यकर्ता भेलामा आन्दोलनको आँधीबेहेरी ल्याउने बताएर देउवालाई भेट्न पुगेका दुई नेताले उनीसँग ओलीविरुद्धको कदमलाई प्रतिगामी भन्दै सहयोग मागेका थिए। 

'हिजो साँझ पहिले नै समय मागेर माधव नेपाल र प्रचण्डजी देउवा निवासमा आउनु भएको हो', नेता लेखकले फरकधारसँग भने, 'पहिलेदेखि नै उहाँहरुले सभापतिजीसँग भेट्न खोजिरहनु भएको थियो। उहाँहरुले सभापतिजीसँग संसद पुन:स्थापनाका लागि संयुक्त आन्दोलनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ।'

प्रतिनिधिसभा विघटनविरुद्ध एक्लै आन्दोलन गरिरहेका दाहाल-नेपाल समूह ओलीलाई घेराबन्दी गर्न देउवाको साथ खोजिरहेका छन्। तर देउवाले भने ओलीको कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भने पनि चुनावको पनि तयारीमा जुट्नुपर्ने अडान लिइरहेका छन्। 

यस्तोमा दाहाल-नेपालले देउवालाई 'कन्भिन्स' गर्न खोजेका हुन्। 'बूढानीलकण्ठ आएर उहाँहरुले पुन:स्थनापको पक्षमा जानु पर्यो भन्नुभएको छ। संयुक्त आन्दोलन गर्नुपर्यो भन्नु भएको छ', लेखकले अगाडि भने, 'राजनीतिक रुपले  एक भएर  जानुपर्छ भन्ने कुरा उहाँहरुले राख्नु भएको छ।'



देउवाले के भने ? 

भेटका क्रममा देउवाले आफ्नो पुरानै अडान दोहोर्‍याएका छन्। उनले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम हुँदा हुँदै पनि यो विषय अदालतमा गइसकेकाले अहिले तत्काल कुनै सहकार्य हुन नसक्ने जवाफ दिएका छन्। 



'प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक कदम हो भन्ने हाम्रो मान्यता छ। तर यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। हामी सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्छौ, त्यसपछि मात्रै यसबारेमा थप कुरा हुनेछ', देउवाको भनाइ उद्धृत गर्दै नेता लेखकले भने, 'सर्वोच्चले जे भन्छ त्यही अनुसार हामी अघि बढ्छौँ। आन्दोलनका नाममा सर्वोच्चलाई कुनै किसिमको दबाब र धम्कीको विपक्षमा मेरो अडान यथावत छ।'

दाहाल-नेपालले गरेको संयुक्त आन्दोलनको कुरालाई पनि देउवाले तत्काललाई नकारिदिएका छन्। 'तपाईंहरुसँग या अन्य कुनै दलसँग पनि हामी तत्कालै संयुक्त आन्दोलनमा जान सक्दैनौँ। प्रतिनिधिसभा विघटनविरुद्ध हाम्रो आफ्नै विरोध र आन्दोलनको कार्यक्रम चलिरहेका छन्', देउवाले दाहाल-नेपाललाई भनेका छन्, 'अहिलेलाई हामी एक्लै आन्दोलनमा जान्छौं। तपाईंहरुसँग तत्कालै सहकार्य हुने कुराको सम्भावना छैन।'

त्यसैगरी दाहाल-नेपालले आन्दोलनमा मात्रै नभइ राजनीतिक रुपमा पनि सहकार्य गरेर अघि बढ्न गरेको प्रस्तावलाई पनि देउवाले अस्वीकार गरेका छन्। 'राजनीतिक रुपमा एक अर्कालाई सहयोग गर्ने कुरामा हामी निर्णयमा पुगेकै छैनौँ। तपाईंहरुको नेकपा नै दुई समूहमा विभाजित भइसकेको छ। यस्तो अवस्थामा तपाईंहरुसँग सहकार्य गर्ने वा ओली समूहसँग सहकार्य गर्नेबारे  निर्णय गरेका छैनौँ। अहिलेलाई दुवै समूहसँग सहकार्यको सम्भावना छैन। सहयोग गर्न अवस्था आइसकेकै छैन।'

देउवाले कांग्रेसले कसलाई सघाउने, सहकार्य गर्ने विषयमा आफूले अन्य नेता र पार्टी बैठकमा पनि कुरा गरिनसकेको बताएपछि दाहाल-नेपाल बूढानीलकण्ठबाट फर्किएका थिए। नेता लेखकका अनुसार तीन नेताबीच साँझ ६ बजेदेखि साढे सात बजेसम्म संवाद भएको थियो। 

  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १३:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया