प्रदेश १ र २ अवैध हतियारको ‘ट्रान्जिट प्वाइन्ट’
खुला सिमानाले ओसारपसार रोक्न समस्या

काठमाडौं : पछिल्लो समय नेपालमा अवैध हतियार भित्रिने क्रम बढ्दो छ। भरुवा बन्दुक, पेस्तोलदेखि रिभल्वरसम्मका अवैध हतियार ल्याउनेको संख्या दिनदिनै बढेको तथ्यांकले देखाएको छ। 

केही उदाहरण 

सशस्त्र प्रहरी बल प्रदेश–२ ले एक साता अगाडि महोत्तरीबाट लोडेड सेमी अटोमेटिक पेस्तोल बरामद ग¥यो। महोत्तरीको मनरा सिसवा नगरपालिकाबाट २५ पुसमा २ राउन्ड गोली र एक थान हतियारसहित दुईजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख डिआइजी चन्द्रप्रकाश गौतम बताउँछन्।

सशस्त्र प्रहरीका डिआइजी गौतमका अनुसार यो मात्र नभइ बितेको एक महिनामा सशस्त्र प्रहरीले मात्रै प्रदेश–२ बाट विभिन्न चार थान हतियार बरामद गरेको छ। खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट अवैध हतियार ओसारपसार भइरहेको उनी बताउँछन्।

सशस्त्रसँगै नेपाल प्रहरीले पर्साबाट डेढ महिनाअघि पेस्तोलसहित एकजनालाई पक्राउ गरेको थियो। पर्साका तत्कालीन एसपी गंगा पन्तको टोलीले वीरगन्जबाट एकथान पिस्टनसहित ती व्यक्तिलाई पक्राउ गरेको थियो।

भारतसँग सीमा जोडिएका महोत्तरी र पर्साबाट अवैध हतियार बरामद हुनु अनौठो मानिँदैन। प्रहरी प्रधान कार्यालयको  तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा ९ सयभन्दा बढी अवैध हतियार बरामद भएका छन्। चालु आर्थिक वर्षयता मंसिर मसान्तसम्मका आँकडा हेर्ने हो भने ८९ थान हतियार नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद भएका छन्। 



एक दिनको फरकमा बरामद 

पाँच महिनामा बरामद भएका ८९ थानको हिसाब गर्ने हो भने नेपालमा हरेक दिनको फरकमा अवैध हतियार बरामद हुने गरेका छन्। प्रत्येक महिना सरदर करिब १८ वटा हतियार नेपाल भित्रिने गरेको आँकडाले देखाएको छ। यो भनेको हरेक दुई दिनमा एउटा हतियार बरामद भइरहेको अवस्था हो। 



नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा ९२८ वटा हतियार बरामद भएका छन्। आर्थिक वर्ष २०७३/०७४ देखि चालू आर्थिक वर्ष मंसिरमसम्म प्रहरीले देशभरबाट बिभिन्न खाले अवैध हतियार बरामद गरेको छ। प्रहरीले आर्थिक वर्ष ०७३/०७४ मा २२२, ०७४/०७५ मा २५४, ०७५/०७६ मा १३०, ०७६/०७७ मा २३३ र चालु आर्थिक वर्ष ०७७/०७८ को मंसिर मसान्तसम्म ८९ वटा हतियार बरामद गरेको आँकडा छ। 

पाँच वर्षको तथ्यांकलाई केलाउँदा प्रत्येक वर्षमा १८५ र प्रत्येक महिनामा १५ वटा हतियार बरामद भएको देखिन्छ। अर्थात एक दिन छाडेर हतियार बरामद भइरहेका छन्। 

प्रदेश–१ मा सबैभन्दा बढी

यो तथ्यांक अनुसार मुलुकमा सबैभन्दा बढी प्रदेश १ र प्रदेश २ बाट हतियार बरामद भएको देखिन्छ। पछिल्लो पाँच वर्षमा अन्य प्रदेशहरूबाट बरामद कुल हतियारमध्ये यी दुई प्रदेशबाट मात्रै करिब आधा रहेको छ। बरामद ९२८ हतियारमध्ये ४०५ वटा हतियार बरामद भएको तथ्यांक छ। तथ्यांकमा हेर्दा पछिल्लो पाँच वर्षमा प्रदेश–१ मा २१५ र प्रदेश–२ मा १९० वटा हतियार बरामद भएको छ। यसैगरी उपत्यकामा मात्रै पाँच वर्षमा ५९ वटा हतियार फेला परेको प्रहरी तथ्यांक छ। 

प्रहरी प्रधान कार्यालयले खुल्ला सिमानाका कारण नेपालमा अवैध हतियार आउने गरेको जनाएको छ। ‘भारतबाट हतियार खरिद गर्छन्, सिमाना पनि खुल्ला छ। जसले गर्दा अपराधीहरू सजिलै भित्र्याउने कोशिश गर्छन्’, नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर भन्छन्, ‘किनकी प्रहरी आँकडाले पनि भारतसँग सीमा जोडिएका जिल्लाहरूबाट बढी हतियार बरामद भएको देखाउँछ।’ 

प्रदेश १ र २ जसको ज्वलन्त उदाहरण रहेको उनले बताए। अर्थात् यी प्रदेशहरू भारतसँग जोडिएकाले यहाँबाट बढी हतियार बरामद भएको उनको तर्क छ। 

तर प्रहरीका पूर्व प्रहरी अधिकारीले भने सरकारको उदासीनताले हतियार भित्रिने गरेको टिप्पणी गरेका छन्। नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्, ‘हतियारसम्बन्धी कुरामा पहिला सरकार गम्भीर हुनुपर्छ, अहिले भएका कारवाहीको पनि ‘रिभ्यू’ गर्नुपर्छ।’

  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १६:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया